मौसम सफा हुन अझै केही दिन लाग्ने, हिमपातको सम्भावना – Janadesh Daily | ePaper

मौसम सफा हुन अझै केही दिन लाग्ने, हिमपातको सम्भावना


काठमाडौँ  ।

पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ ।

स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । “अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन”, मौसमविद् बासीले भन्नुभयो ।

मौसम सफा हुनका लागि वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ । सो अवस्था नदेखिएकाले मौसममा सुधार हुने सम्भावना नदेखिएको बताइएको छ । हाल प्रदेश नं १, वाग्मती, गण्डकी र पहाडी भूभागमा आंशिदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्