ओली समूहभित्रै घमासान, चार नेताले अडान नछाडेपछि नेतृत्व सर्वसम्मत गर्ने ओलीको प्रयास असफल – Janadesh Daily | ePaper

ओली समूहभित्रै घमासान, चार नेताले अडान नछाडेपछि नेतृत्व सर्वसम्मत गर्ने ओलीको प्रयास असफल


जनादेश, काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने भनिए पनि हालसम्म सुरु हुन सकेको छैन। पदाधिकारी चयनका विषयमा सहमति नहुँदा बन्दसत्र सुरु हुन नसकेको हो।

बन्दसत्र क्षेत्रमा पुग्नु अघि आफू बसकेको रिसोर्टमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति गरेर जाने बताउँदै आकांक्षी नेताहरुसँग छलफल गरेका थिए। तर बैठकमा कुनै सहमति हुन सकेन। आकांक्षी नेताहरुले अडान नछोडेपछि उक्त बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

ओलीसँगको बैठकपछि नेताहरु बन्दसत्र हुने सेभनस्टर होटल पुगेर फेरि आन्तरिक छलफलमा जुटेका छन्। आकांक्षी नेताहरुसँग ओली होटलमा छलफलमा जुटेका हुन्। ओली आफू निकट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल लगायतका नेताहरुसँग होटलमै ‘गोप्य’ छलफल गरिरहेका छन्।

केन्द्रीय कमिटीले सर्वसम्मतिमै नेतृत्व छान्ने सन्देश महाधिवेशन प्रतिनिधिहरुमाझ पुर्‍याए पनि अध्यक्ष ओलीनिकट चार नेताले अडान नछाड्दा समस्या भएको हो। पटक पटक छलफल गर्दा पनि नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल अडानबाट पछि नहटेका हुन्।

एमालेमा अध्यक्ष ओलीलाई उपाध्यक्ष भीम रावलले चुनौती दिएका छन्। अर्कातिर वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेल ढुक्क भएको अवस्था नेम्वाङले चुनौती दिएका छन्।

ओलीसँगको छलफलमा पोखरेल र नेम्वाङ दुवै वरिष्ठ उपाध्यक्ष छाडेर अन्य पदमा सम्झौता गर्न तयार नभएको स्रोतले बताएको छ। ओली बन्दसत्र हुने होटल पुग्नु अघि आकांक्षी नेताहरु पनि आन्तरिक छलफलमा जुटेका थिए।

ओलीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भिम रावलसँग पनि छलफल गर्ने तयारी गरेका छन्। ओलीले उनलाई सहमतिमा ल्याउने प्रयास गरेपनि रावलले आफू उम्मेदवारीबाट पछि नहट्ने अडान राख्दै आएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्