आफू सर्वसम्मत बन्न ओलीले भीम रावललाई दिए यस्तो अफर, घनश्यामको यस्तो निष्कर्ष – Janadesh Daily | ePaper

आफू सर्वसम्मत बन्न ओलीले भीम रावललाई दिए यस्तो अफर, घनश्यामको यस्तो निष्कर्ष


जनादेश, काठमाडौँ । नेकपा एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसालले पदाधिकारी थप्ने अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव केवल आफूलाई सर्वसम्मत अध्यक्षका रूपमा उभ्याउने रणनीति भएको निष्कर्ष निकालेका छन्।

विधान महाधिवेशनमा आफूहरूले गरेको पदाधिकारी थप्ने प्रस्ताव अस्वीकार गरिएको तर अहिले महाधिवेशनको सुरू भएपछि पदाधिकारी थप्ने निर्णय गरेर ओलीले सर्वसम्मत अध्यक्षको रूपमा उभिन खोजेको दुई नेताले ठहर गरेका हुन्।

‘पदाधिकारी संख्या बढाएरमात्रै सहमति हुँदैन’, रावल र घनश्याम भुसाल निकट रहेका एक नेताले भने, ‘आफू सर्वसम्मत हुन उहाँले पदाधिकारी थप्नु भएको हो। एक जनाको सनकको भरमा ७६ जना केन्द्रीय कमिटी सदस्य थप्न मिल्छ भन्ने उहाँहरूको प्रश्न छ।’ रावल र भुसालले उम्मेदवारी घोषणा गरेका बाहेकका पदमा आफूहरू सर्वसम्मत हुन नसक्ने बताएका छन्।

भीम रावललाई उपाध्यको ललिपप
नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।

ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले जानकारी दिए । ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

एमालेको गएराति बसेको केन्द्रीय समिति बैठकले २ उपाध्यक्ष थपेर ७ पुर्‍याउने र २ उपमहासचिव पद थप गरेर ३ पुर्‍याउने निर्णय गरेको थियो। यो सँगै एमालेमा पदाधिकारी संख्या १९ पुगेको छ। त्यस्तै केन्द्रीय सदस्यको संख्या २२५ बाट बढाएर ३०१ पुर्‍याउने निर्णय गरेको थियो। त्यस्तै ९९ सय सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको थियो। आकांक्षी व्यवस्थापन गर्न अध्यक्ष ओलीले पदाधिकारी बढाउन प्रस्ताव गरेका थिए। आज बिहानैबाटै ओलीले सर्वसम्मतिमा नेतृत्व चयनका लागि नेताहरूसँग कुराकानी अघि बढाएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्