एमाले बन्दसत्रमा रमिताः सहमति भन्दै ओली गुटले पेल्न खोज्दा भीम रावल र घनश्यामको प्रतिवाद – Janadesh Daily | ePaper

एमाले बन्दसत्रमा रमिताः सहमति भन्दै ओली गुटले पेल्न खोज्दा भीम रावल र घनश्यामको प्रतिवाद


जनादेश वाच ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबिच शनिवारको बन्द सत्रमा भनाभन र घोचपेच भएको छ। शुक्रवार रातिको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटी र पदाधिकारी संख्या थप्ने निर्णय गरेको थियो। उक्त निर्णय शनिवारको बन्द सत्रमा प्रस्तुत गरिएको थियो ।

त्यसबारेमा भने नेताहरुले असहमति जनाएनन्। तर, उपमहासचिव विष्णु पौडेलले बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्य चयनको जिम्मा अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेपछि भने अध्यक्ष पदका प्रत्यासी रावलले त्यसको तत्काल प्रतिबाद गरेका थिए। विषेश प्रस्तावको रुपमा पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको सूचि ओलीले तयार पार्ने बताएपछि रावलले विरोध जनाएका थिए।

अध्यक्ष मण्डलका तर्फबाट मञ्चमा रहेका रावलले हात ठड्याएर विरोधको जानकारी दिएपछि पौडेलले बोल्ने समय दिएका थिए।

राति आठ बज्न लाग्दा मात्रै संगठन विभाग प्रमुख रहेका उपमहासचिव विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटीले गरेको निर्णय निर्णयार्थ प्रस्तुत गरे । तर पौडेलले बैठकको निर्णय मात्रै प्रस्तुत गरेनन्,। नयाँ नेतृत्वको नामावली हलमा प्रस्तुत गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव पनि गरे । पौडेलले संशोधित विधानको विवरण प्रस्तुत गर्नु अगाडि ओलीलाई प्राधिकार दिएको बताउँदै गर्दा उपमहासचिव घनश्याम भूसालले हात उठाए । उपाध्यक्ष भीम रावलले असन्तुष्टि जनाउँदै सँगै (दायाँतिर) बसेका महासचिव ईश्वर पोखरेलसँग कुरा गरिरहेका थिए । तर पौडेल रोकिएनन् ।

‘पहिले मलाई सक्न त दिनुहोस्’ भन्दै पौडेल अगाडि बढे र, अन्त्यमा प्रस्ताव अनुमोदनका निम्ति ताली बजाउन आग्रह गरे । हलमा सहभागी अधिकांशले ताली बजाए । त्यसपछि बल्ल कार्यक्रम सञ्चालक रहेका महासचिव पोखरेलले रावललाई बोल्ने समय दिए । रावलले पार्टी विधानअनुसार, बन्दसत्र चल्नुपर्ने अडान लिए । सँगै, पार्टी एकता बचाउन गरिएको १० बुँदे सहमतिको सम्झना गराए । रावलले बोल्न थाले लगत्तै हलमा हो–हल्ला चल्न थाल्यो । स्वयमसेवकहरुले शान्त रहन आग्रह गरे भने रावलले चर्को स्वरमा एमालेले अलोकतान्त्रिक पार्टी बनेर विपक्षीलाई स्पेस दिन नहुने तर्क गरे ।

हल शान्त बन्यो । रावलले ‘त्यतातिर आवाज आएको सुनेर हो ?’ भन्दै अध्यक्षमा आफ्नो उम्मेद्वारी कायमै रहेको बताए । रावललाई समर्थन जनाउनेहरु सानो स्वरमा सुनिए । रावलले आफ्नो कुरा आठ मिनेटमै टुंग्याएपछि महासचिव पोखरेलले सहमतिबाट नेतृत्व चयन गर्ने कुरामा भाँजो नहाल्न रावलसँग आग्रह गरे । पोखरेल बोलिरहँदा हलमा फेरि हुटिङसहित ताली बज्यो ।

नौ बजेतिर बन्दसत्र अन्त्य गर्दै अध्यक्ष ओलीले पनि भीम रावलको अडानलाई हाँसोमा उठाए । ‘कसैलाई कुनै पदमा लड्न मन छ भने ढुक्क हुनु भए हुन्छ । के का लागि लड्ने हो त्यो चाहिँ अलिकति विचार गर्नुपर्छ’, ओलीले यति भनिरहँदा हल हाँसोले गुञ्जियो । ओली पनि हाँसे, हलमा ताली बज्यो ।

हलले अनुमोदन गरेअनुसार, आइतबार बिहान दश बजे नयाँ नेतृत्वको नामावली ओलीले हलमा प्रस्तुत गर्नेछन् र त्यसमा कसैलाई चित्त नबुझे उम्मेद्वारी दर्ता गर्न सक्नेछन् । बन्द सत्र सकिएको घोषणा गरेका ओलीले केहीबेरपछि फेरि भने, ‘भोलि बिहान १० बजे नै अतिथि आसन ग्रहण गरिसक्नु होला ।’

त्यतिबेला रावलको प्रतिवाद गर्दै केही प्रतिनिधिहरुले होहल्ला गरेका थिए। उक्त होहल्लापछि रावलले ओलीले गरेको भाषण कार्यकर्तालाई सम्झाएका थिए। ओलीले भाषणका क्रममा अराजकता हुन नहुने बताएका थिए। रावलले बैठकमा भनेका थिए, ‘जनताको बहुदलीय जनवाद मान्नेले यस्तो मान्न सक्दैन।’

निर्वाचन नगर्ने भए आम निर्वाचनमा पनि भाग लिन नहुने भन्दै रावलले ओलीलाई कटाक्ष गरेका थिए। सर्वसम्मति मात्रै मान्य हुदैन भन्दै रावलले सर्वसम्मत आफूलाई मान्य नभएको बताएका थिए ।

रावलले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा कुनै छलफल नगरी प्रस्ताव ल्याएको भन्दै प्रतिरोध गरे। उनले विधान विपरित जान नसिकिने बताए। रावलले उठाएका प्रश्नको जवाफ दिदैँ ओलीले व्यंग्य गरेका थिए।

महाधिवेशनका सहभागीहरुको साहरा लिएर निर्विरोध नेतृत्व चयनको नामावली हलमा घोषणा गर्ने ओलीको तयारी छ भने शनिबार साँझसम्मको परिस्थिति हेर्दा रावल पनि अध्यक्षमा उम्मेद्वारी दर्ता गर्नेमा अडिग छन् ।

‘केही टुंगो छैन । स्प्रिट सर्वसहमति गर्ने भनिएको हो । यो बेला पार्टीको एकताका लागि सर्वसहमति राम्रो उपाय हो भनिएको हो’, नेता सुवास नेम्वाङ भन्छन् । विधान संशोधन हलबाट अनुमोदन भएको र नेतृत्व चयन राजनीतिक कुरा भएको बताउने उनी भन्छन्, ‘सर्वसहमतिको कोसिस गर्नुपर्छ । सर्वसहमतिलाई मेरो पुरा समर्थन रहन्छ । तर, चुनाव हुने भयो भने म त्यतिबेला नै बोल्छु ।’

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्