ओलीका फेबरेट पोखरेल दाजुभाइ, विष्णु र सुवासलाई साइड लगाइँदै – Janadesh Daily | ePaper

ओलीका फेबरेट पोखरेल दाजुभाइ, विष्णु र सुवासलाई साइड लगाइँदै


जनादेश वाच ।

चितवनको सौराहामा जारी एमालेको दशौँ महाधिवेशनको बन्दसत्रमा भावी नेतृत्व चयनको लागि रस्साकस्सी भइरहेको छ।

बन्दसत्र सुरु हुनुअघि देखि नै भावी नेतृत्वको चयनको विषयमा एमालेमा पेचिलो बन्दै आएको थियो। शनिबार बन्दसत्रबाट अध्यक्ष केपी शर्मा ओलीले सहमतिको आधारमा भावी नेतृत्वको नाम पेश गर्ने सर्वाधिकार पाएसँगै नेतृत्व चयनको विषयमा थप तानातान सुरु भएको छ।

लामो समयदेखि ओलीलाई साथ दिँदै आएका नेताहरु नै दुई समूहमा बाँडिएर नेतृत्वका लागि दाबी गरिरहेका छन्। महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरिरहेका छन्। शनिबार बन्दसत्र सुरु हुनुभन्दा अघि ओलीले पौडेल र पोखरेलसँग आफू बसेको होटल पार्क सफारीमा छलफल गरेका थिए। उनले सर्वसम्मत नेतृत्व चयनका लागि विष्णु पौडेललाई उपाध्यक्षमा बस्न र पोखरेलको लागि महासचिव छाडिदिन आग्रह गरेका थिए।

ओली निकट एक नेताले भने, ‘उहाँको रोजाइ महासचिवमा शंकर पोखरेल नै हो। त्यसमा सहमति जुटाउन कोसिस गरिरहनुभएको छ।’ तर पौडेलले त्यसलाई अस्वीकार गर्दै आफ्नो दाबी महासचिवमै रहने बताएका थिए। राति बन्दसत्रबाट फर्किएपछि ओलीले केहीबेर छलफल गरे पनि सहमति जुट्न सकेन। छलफल विफल भएपछि उनी राति १० बजे बन्दसत्र हलमा साँस्कृतिक कार्यक्रम हेर्न गएर राति १२ बजे फर्किए।

त्यस्तै ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहेका छन्। राति कार्यक्रम हेर्न जानुअघि ओलीले एउटै होटलमा बसेका वरिष्ठ उपाध्यक्षका आकांक्षी सुवास नेम्वाङसँग कुराकानी गरे पनि मिल्न नसकेको स्रोतले जानकारी दियो।

बिहान १० बजे सुरु हुने बन्दसत्रमा भावी नेतृत्वको नाम पेश गर्ने सर्वाधिकार पाएका ओलीले आइतबार बिहान सबेरैदेखि छलफल तीव्र पारेका छन्। ओली बसेको होटलमा आफ्नो पद सुरक्षित गर्न नेताहरुको ताँती लागेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्