आजबाट चिसो बढ्ने, यी प्रदेशमा हिमपातको सम्भावना – Janadesh Daily | ePaper

आजबाट चिसो बढ्ने, यी प्रदेशमा हिमपातको सम्भावना


जनादेश वेदर वाच ।

आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । यी प्रदेशहरुका पहाडी तथा तराइका केही भू–भागहरुमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना पनि रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण हिजो साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ ।


यो प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो बढ्ने विभागले जनाएको छ । शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ ।

यो मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत प्रभाव पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच आज विहान ६ बजको काठमाडौंको तापक्रम ६.८ डिग्री सेल्सियस रहेको छ । मंगलबार काठमाडौंको न्यनूनतम तापक्रम ६.३ डिग्री सेल्सियस थियो ।

आज काठमाडौंमा भने वर्षाको सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

आउँदो आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न सक्ने सम्भावना देखिएको विभागले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्