एमालेले चितवनमा महाधिवेशन गरेको होइन, पञ्च भेला गरेको हो- प्रचण्ड – Janadesh Daily | ePaper

एमालेले चितवनमा महाधिवेशन गरेको होइन, पञ्च भेला गरेको हो- प्रचण्ड


जनादेश, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा नेकपा एमालेले जुटाएको कार्यकर्तालाई पञ्चर्‍यालीको संज्ञा दिएका छन्। दसौं महाधिवेशनको उद्घाटनमा एमालेले नारायणगढमा लाखौं कार्यकर्ता उतारेको थियो।

शनिबार भरतपुरमा प्रेस सेन्टरको चौंथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले एमालेका कार्यकर्ता भेला पञ्चायतकालको अन्त्यतिर निकालिएका पञ्चर्‍यालीजस्तो भएको बताए।

‘२०४५ सालतिर ठूला-ठूला पञ्चर्‍यालीहरू निस्कन्थे, पञ्चायतबाहेक अन्त त जनता लागेकै छैनन् झैं देखाउन खोज्थे। चितवनमा भएको कुम्भमेलाले त्यसैको झल्को दिएको छ,’ प्रचण्डले भने, ‘२०४६ सालमा पञ्चायत गयो, पैसा दिएर, धाकधम्की देखाएर गरिएको अहिलेको कुम्भमेलाको पनि कुनै राजनीतिक अर्थ छैन।’

उनले विचार बिनाको ‘कुम्भमेला’ गरिएकाले कुनै राजनीतिक अर्थ नहुने दाबी गरे। अध्यक्ष प्रचण्डले महाधिवेशनपछि नेकपा एमालेमा सामन्ती, निरङ्कुश र मण्डलेकरण प्रवृत्ति थप हाबी भएको दाबी गरे। यसविरूद्ध कलम चलाउँदै प्रतिगमनलाई रोक्न भूमिका खेल्न प्रचण्डले पत्रकारहरूलाई आग्रह गरे।

उनले चितवनमा प्रचण्ड भएकै कारण मन पराउने, नपराउने सबै यहीँ केन्द्रित भइरहेको बताए। ‘देशकै केन्द्र भएका कारण र विकासको नयाँ मोडल हेर्न खोज्नेहरू चितवन आउने नै भए,’ उनले भने, ‘अर्को मुख्य कुरो प्रचण्ड चितवनमा छ। मनपर्नेले पनि चितवन रोज्छन्, नपर्नेले पनि रोज्छन्।’

यसअघि बिहान भरतपुरमै भएको एक कार्यक्रममा बोल्दै प्रचण्ले नेकपा एमालेका कार्यकर्ताहरू चितवनको विकास हेरेर फर्किएको बताएका थिए। ‘म यस अर्थमा खुसी छु कि उनीहरूले यहाँ हामीले गरेको विकास हेरे,’ प्रचण्डले भने, ‘चितवनमा जिल्लाको राजनीतिक महत्व के हो भन्ने पनि बुझेर गए।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्