बुटबलबाट कृष्ण वहादुर महराको सन्देश, प्रचण्डले चितवनबाट दिएकै चेतावनीसँग मिल्दो जुल्दो – Janadesh Daily | ePaper

बुटबलबाट कृष्ण वहादुर महराको सन्देश, प्रचण्डले चितवनबाट दिएकै चेतावनीसँग मिल्दो जुल्दो


जनादेश, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विदेशी शक्तिहरू अहिलेको सरकारमा रहेका दलहरूको गठबन्धनलाई फुटाउन लागिपरेको दाबी गरेका छन्। उनले संविधानलाई कुल्चिएर जानेहरूले विदेशी शक्तिको प्रयोग गरेर संविधान निमोठ्न र सत्ता गठबन्धन फुटाउन खोजेको आरोप लगाए।

माओवादी केन्द्र सिद्धार्थनगरको दोस्रो नगर अधिवेशनलाई भैरहवामा उद्घाटन गर्दै महराले विदेशी शक्तिले गठबन्धन फुटाउन खोजे पनि सफल नहुने बताए। उनले सत्ता गठबन्धनबाट धेरै कुरा प्राप्त हुन्छ भन्ने अपेक्षा गर्न नसकिए पनि संविधानलाई सही ट्रयाकमा ल्याउन बनेको गठबन्धनलाई टिकाइ राख्नुपर्ने बताए।

‘एउटा समूह संविधानले प्रदान गरेका उपलब्धिहरू जोगाउने पक्षमा लागेको छ भने अर्को ध्रुव राजतन्त्र ल्याउने र संविधानले प्रदान गरेका उपलब्धिलाई उल्टाउने अभियानमा लागेको छ,’ उनले भने।

महराले अहिले देशलाई नयाँ ऊर्जा र सन्देश दिने समय आएको भन्दै माओवादी विभाजित नभई पूर्वमाओवादीबाट छुट्टिएका दलहरूलाई पनि एकजुट बनाउने प्रयास भइरहेको बताए। शनिबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन भत्काउने प्रयास सुरु भएको बताएका थिए ।

पार्टी निकटको पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको शनिबारदेखि भरतपुरमा सुरु भएको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै दाहालले भने, ‘मान्छेहरु यो गठबन्धन टुटाउनलाई अनेक खालका कसरत गरेका छन् । मलाई धेरै कुरा बडो डिटेलमा थाहा छ ।’ ती कुरा अहिल्यै नभन्ने पनि उनले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्