सूर्य अनुसन्धानमा महत्वपूर्ण सफलताः नजिकै पुग्यो मानव निर्मित यान – Janadesh Daily | ePaper

सूर्य अनुसन्धानमा महत्वपूर्ण सफलताः नजिकै पुग्यो मानव निर्मित यान


जनादेश टेक वाच ।

सूर्यको बाहिरी सतहमा पहिलोपटक मानव निर्मित प्रोभ (यान) पुगेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘पार्कर सोलार प्रोभ’ सूर्यको कोरोना (बाहिरी भाग) मा प्रवेश गरेको हो । मानव निर्मित यान सूर्यको यति नजिक पुगेको यो पहिलो घटना हो ।

सूर्यको बाहिरी सतहमा पहिलोपटक पुगेको मानव निर्मित यान ‘पार्कर सोलार प्रोभ’ को नासाले तयार पारेको प्रतिनिधिमूलक तस्बिर ।

सूर्यको ४ तहमध्ये कोरोना बाहिरी तह हो । सूर्यमा कोरोना, क्रोमोस्फेयर, फोटोस्फेयर र कोर गरेर मुख्य चार तह छन् । नासाका अनुसार सूर्यको कोरोना यति धेरै तातो हुन्छ कि यसको तापक्रम १७ लाख डिग्री सेल्सियस हुन्छ ।

सन् २०१८ को अगस्ट १५ मा नासाले उक्त यानलाई सूर्यको अनुसन्धान गर्न त्यसतर्फ पठाएको थियो । पार्कर प्रोभ एल्फेन भागभित्र प्रवेश गरेको नासाले मंगलबार पुष्टि गरेको हो । एल्फेन सूर्यको सौर्य आँधी र सूर्यको वायुमण्डलबीचको भाग हो । यानले यही भाग छिचोल्दै सूर्यको कोरोनामा प्रवेश गरेको हो । सूर्य र पृथ्वीबीचको दूरी ९३ मिलियन माइल छ ।

सूर्यको आयतन यति ठूलो छ कि १३ लाख वटा पृथ्वी त्यहाँ अट्न सक्छन् । सौर्यमा पृथ्वीको जस्तो सतह नभएकाले यहाँ प्लाज्मा (विद्युत् शक्ति रहने ग्यासको तह) मात्रै हुन्छ ।

सन् २०२४ सम्म कोरोनामा रहने यान सूर्यको सतह नजिक २१ पटक पुग्ने नासाका वैज्ञानिकको विश्वास छ । बाँकी ३ वर्षमा प्रार्कर प्रोभ सूर्य केन्द्र भागदेखि ३.८३ मिलियन माइल नजिक पुग्ने नासाले जनाएको छ । अन्तरिक्षमा यो दूरी धेरै नजिक हो । ६० वर्ष अघिदेखि नासाले सूर्य मिसन सञ्चालन गर्ने सोचे पनि त्यति तातो थेग्न सक्ने यान बनाउन सकिएको थिएन । थर्मल इन्जिनियरिङका कारण धेरै उच्च तापक्रम थेग्न सक्ने शिल्डहरू निर्माण भएपछि यो परियोजनाले सार्थकता पाएको हो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्