क्यान महासंघ दाङ र राप्ती इञ्जिनियरिङको सहकार्यमा “आइसिटी स्कलरसीप २०७८ को घोषणा” – Janadesh Daily | ePaper

क्यान महासंघ दाङ र राप्ती इञ्जिनियरिङको सहकार्यमा “आइसिटी स्कलरसीप २०७८ को घोषणा”


जनादेश, दाङ। कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघ दाङ र राप्ती इञ्जिनियरिङको सहकार्यमा “आइसिटी स्कलरसीप २०७८”को घोषणा  गरीएको छ । मंगलबार पत्रकार सम्मेलन गरी बिसिए कार्यक्रमको लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरीएको हो ।

राष्ट्रभित्र सूचना तथा प्रविधिको अध्ययन अध्यापन गराउने कलेजहरुको सहकार्यमा गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गरिएको क्यान महासंघ दाङले जनाएको छ ।

जसअन्तर्गत यो बर्ष ११ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिने क्यान महासंघ दाङका अध्यक्ष कर्णबहादुर पुनले जानकारी दिए । जसअनुसार एक जनाले पूर्ण छात्रवृत्ति पाउने छन् भने बाँकी दश जनाले आंशिक छात्रवृत्ति पाउने छन् ।

बिसिए कार्यक्रममा चार बर्षको कूल चार लाख शुल्कमध्ये पूर्ण छात्रवृत्ति पाउने एक जनाले सबै छूट पाउने छन् भने ७५ प्रतिशत छात्रवृत्ति पाउने दुई जनाले तीन तीन लाख र ५० प्रतिशत छूट पाउने ८ जनाले दुइ दुइ लाख छूट पाउने छन् ।

यसरी एघार जना विद्यार्थीका लागि कूल २६ लाख शुल्क छूट हुने अध्यक्ष पुनले बताए । नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ४५ प्रतिशत वा सी ग्रेडसहित विज्ञानमा कक्षा १२ वा सो सरह उत्तीर्ण, सिटिइभिटीतर्फ डिप्लोमा उत्तीर्ण र अन्य संकायबाट १०० पूर्णांकको कम्प्युटर वा गणित बिषय अध्ययन गरेका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिनसक्ने जनाइएको छ ।

छात्रवृत्तिका लागि क्यान महासंघको फेसबुक पेज र राप्ती इञ्जिनियरिङ कलेजको वेवसाइट मार्फत यही पुस ३० गतेभित्र आवेदन दिनुपर्ने छ । छावृत्तिका लागि दलित, जनजाति, दुर्गम क्षेत्रका विद्यार्थी, स्थानीय तहबाट आर्थिक अवस्था कमजोर भएको सिफारिसपत्र लिएकाहरुले प्राथमिकता पाउने छन् । आवेदन दिँदा कक्षा १२ उत्तीर्ण गरिसकेका विद्यार्थीहरुले कक्षा ११ र १२ को मार्कसिटको प्रतिलिपि, दुई प्रति फोटो, नागरिकताको प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघ दाङका अध्यक्ष कर्ण बहादुर पुनको संयोजकत्वमा उपाध्यक्ष माधव अधिकारी र कोषाध्यक्ष मदन खनाल रहेको छात्रवृत्ति छनौट समिति गठन गरिएको छ ।

क्यान महासंंघ दाङका अध्यक्ष पुनको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष रेशम गिरीको प्रमुख आतिथ्य र राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक भीमसेन गिरीको बिशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा कलेजका निर्देशक मधुसूदन गिरी, क्यान महासंघका लुम्बिनी प्रदेश सदस्य, सदस्य शिशिर पौडेललगायतले आफ्ना कुरा राखेका थिए । त्यसैगरी कार्यक्रम सञ्चालन क्यान महासंघ दाङका उपाध्यक्ष माधव अधिकारीले गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्