पोखरामा हुने प्रदेश स्तरीय महोत्सवका लागि १६ नाटक छनोट – Janadesh Daily | ePaper

पोखरामा हुने प्रदेश स्तरीय महोत्सवका लागि १६ नाटक छनोट


गण्डकी । पोखरा थियटरले आगामी माघ ११ देखि १५ गतेसम्म पोखरामा हुने दोश्रो संस्करणको गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि १६ वटा नाटक छनोट गरेको छ । नाटकको विषयवस्तु, भाषाशैली, संवाद, प्रस्तुति आदिलाई मुख्य आधार मानेर ती नाटक छनोट गरिएको हो ।

महोत्सवको लागि प्राप्त २४ मध्ये १६ नाटक पहिलो चरणमा छनोट गरिएको पोखरा थिएटरका अध्यक्ष एवम् महोत्सव संयोजक परिवर्तनले जानकारी दिनुभयो । वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहनु भएको छ ।

छनोटमा परेका नाटकलाई १५ दिनको अभ्यास अवधि उपलव्ध गराइने छ । त्यस पछि छनोट कमिटिले नाटकको अवलोकन गर्ने छ । अवलोकन पश्चात अन्तिम चरणमा छनोट गरिएका १० वटा नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिने छ ।

पहिलो चरणमा कास्कीबाट तीन वटा नाटक छनोटमा परेका छन् । जसमा मनो अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवासीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति, आर्या मिश्रको लेखन तथा निर्देशनमा गण्डकी बोर्डिङ स्कूलको विडा र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह शिर्षकको नाटक रहेका छन् ।

त्यस्तै तनहुँबाट दुई, लमजुङबाट तीन, गोरखाबाट एक, नवलपुर चार, म्याग्दीबाट एक, वागलुङ र पर्वतका एक÷एक रहेका छन् । विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार भन्ने मूल मन्त्रका साथ आयोजना गरिने महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रमुख सहकार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँ र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रमको आयोजना गरिने बताइएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्