प्रचण्डलाई थप आश्चयर्यमा पार्दै बाबुरामः गोरखा सोधिएको प्रश्नमा एमसिसीबारे दिए यस्तो जवाफ – Janadesh Daily | ePaper

प्रचण्डलाई थप आश्चयर्यमा पार्दै बाबुरामः गोरखा सोधिएको प्रश्नमा एमसिसीबारे दिए यस्तो जवाफ


जनादेश वाच।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई यतिखेर गृहजिल्ला गोरखामा छन् । उनी गोरखामा मंगलबार दिनभर र राति अबेरसम्म चलेको पार्टीकाे संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) को दोस्रो अभियानमा नै केन्द्रित रहे ।

डा.भट्टराईले गोरखाका जनता, बुद्धिजीवी, विभिन्न दलका कार्यकर्तामाझ मुलुकको विकास र समृद्धिबारे निरन्तर छलफल गरे । सो छलफलमा जनताले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे चासो राखेको डा.भट्टराईको भनाइ छ ।

मंगलबार बेलुकी ट्वीटरमा डा.भट्टराईले लेखेका थिए, ‘गोरखामा दिनभर र राति अवेरसम्म चलेको सुज अभियानको दोस्रो शृंखला ! स्थानीय विकास निर्माण र राष्ट्रिय राजनीति, एमसीसी नै प्रमुख जनसरोकारका विषय ।’

डा.भट्टराईले भने एमसीसीलाई २०औं शताब्दीको ‘जमेको’ दिमागले होइन, २१औं शताब्दीको ‘खुला’ दिमागले सोच्न आग्रह गरेका छन् । ८ पुसमा ट्वीटरमा उनले एमसीसी अपनाउँदा विदेशी सेना नआउने तथा चित्त नबुझे ३० दिनको सूचना दिएर खारेज गर्न सकिने बताएका थिए ।

थप स्पष्ट पार्दै उनले लेखेका छन्-

१.यो प्रोजेक्ट इम्प्लिमेन्टेसन एग्रिमेन्ट (परियोजना कार्यान्वयन सम्झौता) होस् शान्तिरसुरक्षारसीमा सम्झौता हैन ।

२. अनुदान रकम होस् ऋण हैन, तिर्न पर्दैन ।

३.नेपालको कानुनभन्दा माथि यो हुन्न, कुनै विवाद भए अन्तर्राष्ट्रिय कानुनअनुसार हुन्छ ।

४. विदेशी सेना आउन्न, चित्त नबुझे ३०दिनको सूचना दिएर यो खारेज हुन्छ ।

एमसीसीको विषयमा सत्ता गठबन्धनले ठोस निर्णय गर्न सकेको छैन । माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको भन्दै अगाडि बढाउनुपर्ने विचार राखेका थिए । उनले भनेका थिए, ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ । राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् के !,’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा एमसीसीलाई परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिने उल्लेख गरेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेताहरू एमसीसीको पक्ष र विपक्षमा अभिव्यक्ति दिइरहेका छन् । सो पार्टीले पनि ठोस धारणा सार्वजनिक गरेको छैन ।

आश्चर्यमा प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताइसकेका छन्।

महाधिवेशन सुरु हुनुअघि आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्भर्दमा डा. भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका थिए।

“उहाँ (बाबुराम भट्टराई) ले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ । बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन्”, प्रचण्डले भनेका थिए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्