ओलीकै प्रिय पात्रले अनुमोदन गरे ‘बा’ माओवादीको केन्द्रीय कमिटिप्रति गोकुल बाँस्कोटाको व्यङ्ग्य – Janadesh Daily | ePaper

ओलीकै प्रिय पात्रले अनुमोदन गरे ‘बा’ माओवादीको केन्द्रीय कमिटिप्रति गोकुल बाँस्कोटाको व्यङ्ग्य


जनादेश सोसल मिडिया वाच।

सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री पदबाट बर्खास्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार (प्रधानमन्त्रीको सरकारी निवास) बाट बालकोट (निजी निवास) फर्किन पर्यो। तर त्यसबेला उनी निराश भएर होइन, अघिपछि युवा (युवा संघका नेता/कार्यकर्ता) को हुल लगाएर तामझामका साथ गएका थिए। सम्भवतः त्यही बेलादेखि उनलाई एमाले कार्यकर्ताले ‘बा’ भनेर सम्बोधन गर्ने गरेको कुरा आम रूपमा थाहा भएको हो।

त्यसपछि गत मंसिरमा एमालेको आठौं महाधिवेशनका बेला आलोचकहरूले ‘बा’ शब्दको प्रयोगलाई अझ व्यापक बनाए। अहिले पनि ओलीविरुद्ध टिप्पणी गर्नेले यो शब्द प्रयोग गर्न छाडेका छैनन्। अन्य नेताको हैकमको आलोचना गर्दा पनि बिस्तारै ‘बा’ शब्दकै प्रयोग गर्न थालिएको छ।

हुँदाहुँदा एमालेकै नेताहरूले पनि अन्य पार्टीका नेताको आलोचना गर्नुपर्दा यही शब्दको प्रयोग गर्न थालेका छन्। यसै क्रममा ओलीका अति प्रिय पात्र भनेर चर्चित एमाले पोलिटब्युरो सदस्यले काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट ‘सर्वसम्मत’ रूपमा आइतबार नवनिर्वाचित २३७ सदस्यीय माओवादी केन्द्रको केन्द्रीय समितिविरुद्ध बा शब्दसहित कटाक्ष गरेका छन्।

बाँस्कोटाले आइतबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘दाइ+भाइ+बा+छोरी+ससुरा+बुहारी+मनोनीत हुन बाँकी ज्वाइँ =​ परिवार पार्टी पनि देखियो नेपालाँ।’

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्