सकियो क्रिकेटको किचलोः प्रचण्डको देउवालाई फोनदेखि ज्ञानेन्द्र मल्लको अडानसम्मको कहानी – Janadesh Daily | ePaper

सकियो क्रिकेटको किचलोः प्रचण्डको देउवालाई फोनदेखि ज्ञानेन्द्र मल्लको अडानसम्मको कहानी


जनादेश स्पोर्ट्स वाच।

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडी विवादले नेपाली क्रिकेट नै ठूलो दुर्घटनामा पर्ने संकेत देखिएकोमा हालका लागि दुर्घटना टरेको छ। क्यान र खेलाडीबीच चार महिनादेखिको विवादमा सोमबार बल्ल सहमति जुटेको छ । आइतबार र सोमबार भएका ‘म्याराथन बैठक’पछि खेलाडीहरू सन्दीप लामिछानेको कप्तानीमा खेल्न राजी भएका छन् भने क्यान खेलाडीको कारबाही फिर्ता लिन सहमत भएको छ ।

आइतबार साँझ क्यान र खेलाडीबीच एक खालको सहमति बनेको थियो । जसअनुसार क्यानले खेलाडीलाई गरिएको कारबाही फिर्ता गर्नुपर्ने, खेलाडीले सन्दीपको कप्तानीमा खेल्ने समझदारी भएको थियो । त्यसमा कप्तान ज्ञानेन्द्रले साथीहरूसँग छलफल गर्न सोमबार बिहान ९ बजेसम्मका लागि समय मागेका थिए ।

सोमबार बिहान ज्ञानेन्द्रले क्यानसमक्ष थप एक माग तेर्स्याए । क्यानले ‘सेन्ट्रल कन्ट्रयाक्ट’ का लागि गरिएको खेलाडी वर्गीकरणमा नपरेका रोहितकुमार पौडेल, गुल्शन झा र विक्रम सोबलाई पनि समावेश गर्नुपर्ने माग उनले गरेका थिए । क्यानले खेलाडी वर्गीकरणमा परिवर्तन गर्न नसकिने तर प्रदर्शनका आधरमा ‘इन्सेन्टिभ’ दिन सकिने जनाएको थियो ।

त्यसमा दुवै पक्ष राजी भएका थिए । क्यानले रोहितकुमार पौडेलसहित तीन खेलाडीलाई जनही एक लाख रूपैयाँ ‘इनसेन्टिभ’ दिने भएको छ । सोमबार ज्ञानेन्द्रसहित सबै खेलाडी होटल पुगिसकेका छन् ।

विभागीय टिम फ्याक्टर
‘नेपाली खेलुकद विभागीय टोलीको धानेको छ‘ भन्ने भनाई खेलकुदमा चासो राख्ने सबैले सुनेका छन् । क्रिकेट टिममा त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब छन् । त्यसमा आवद्ध खेलाडीले नियमित तलब बुझ्छन् । सरकारी निकायका यी क्लबले क्यान र खेलाडीबीचको विचको विवाद मिलाउन पनि अप्रत्यक्ष रूपमा भूमिका खेले ।

क्यानले मुख्य प्रशिक्षकसँगको परामर्शमा ओमानमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि पुस १५ गते ३० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो । क्यानले खेलाडीलाई पुस १७ गते मुख्य प्रशिक्षकलाई रिपोर्टिङ गर्न र १८ गतेबाट प्रशिक्षण सुरु गर्ने भनेको थियो । तर, ज्ञानेन्द्र पक्षका १४ खेलाडीले शनिबार रिपोर्टिङ गरेनन् । जसका कारण क्यानले १८ गते गर्ने भनेको प्रशिक्षण प्रभावित बनेको थियो ।

१८ गते दिनभर खेलाडी र क्यान पदाधिकारीबीच निरन्तर बैठक चलिरहँदा विभागीय टोलीका खेलाडीलाई भने सम्बन्धित विभागका उच्च पदाधिकारीले खेल्नका लागि दबाव दिएका थिए । त्यसलाई खेलाडीले अस्विकार गर्न सकेनन् । सोमपाल (जसकै कारण विवाद सिर्जना भएको थियो) समेत खेल्न राजी भएपछि खेलाडीहरू गलेका थिए ।

विवादको चुरो
क्यानले २०२१ को अप्रिलदेखि डिसेम्बरसम्मको सेन्ट्रल कन्ट्रयाक्टका लागि गरेको वर्गीकरणमा खेलाडीहरूले असन्तुष्टि जनाए । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले असन्तुष्टि जनाउँदै सञ्चारमाध्यममा बोले । त्यसपछि क्यानले २५ कात्तिकमा स्पष्टीकरण सोध्यो । खेलाडीहरूले ३० कात्तिकमा उल्टै क्यानलाई दोषी देखाएर जवाफ दिए । ५ मंसिरमा खेलाडीले ११ बुँदे (पहिले १९ बुँदे भनिएको थियो) आफ्ना मागहरू राखेर ७ दिनभित्र जवाफ दिन क्यानलाई ‘अल्टिमेटम’ दिए ।

क्यानले १२ मंसीरमा दोस्रो स्पष्टीकरण सोध्यो । खेलाडीहरू दोस्रोपटक दिएको जवाफ पनि चित्त बुझ्दो नभएको कारण देखाउँदै क्यानले मंसिर २९ गते अनुशासनको कारबाही गर्‍यो । क्यान बोर्ड बैठकले ज्ञानेन्द्रलाई कप्तान, दीपेन्द्रसिंहलाई उपकप्तानबाट हटाउने निर्णय गर्‍यो । साथै ज्ञानेन्द्र र दीपेन्द्रसिंह, सोमपाल र कमलसिंहलाई २०२२ मा ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गर्‍यो । सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दियो ।

प्रचण्डको फोन देउवालाई
क्यानले निर्णय सार्वजनिक गर्नेवित्तिकै राष्ट्रिय टोलीमा अन्य खेलाडीले ‘आई एम डन टू’ भनेर विरोध जनाए । २ पुसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले खेलाडीमाथि क्यानले गरेको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराए । प्रधानमन्त्री देउवाले सिधै क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर ‘खेलाडी कारबाहीको विषय के हो ? यसलाई छिट्टै सामाधान गर्नुहोस्’ भनेर निर्देशन दिए ।

२ पुसमै साँझ ५ बजे खेलाडीले पत्रकार सम्मेलन गर्दै क्यानले कारबाही फिर्ता नलिए नखेल्ने घुमाउरो चेतावनी दिए । क्यानको बोर्ड बैठकमा फरक मत राखेका ६ केन्द्रीय सदस्य पुस ७ गते खेलाडीलाई कारबाही गर्ने निर्णय फिर्ता लिन माग गरे ।

१३ पुसमा मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगे । उनी आएको भोलिपल्ट बाटै विवाद मिलाउन सक्रिय रहे । १५ पुसमा पुबुदुलाई क्यानले औपचारिक सार्वजनिक गर्‍यो । त्यही कार्यक्रममा पुबुदुले कप्तानको निर्णय फिर्ता नहुने अन्य विषयमा लचकता हुन सकिने बताएका थिए । १५ पुसमै साँझ क्यानले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो ।

क्यानले खेलाडीलाई पुस १७ गते मुख्य प्रशिक्षकलाई रिपोर्टिङ गर्न र १८ गतेबाट प्रशिक्षण सुरु गर्ने भनेको थियो । तर, ज्ञानेन्द्र पक्षका १४ खेलाडीले शनिबार रिपोर्टिङ गरेनन् । जसका कारण क्यानले १८ गते गर्ने भनेको प्रशिक्षण प्रभावित बन्यो । १८ र १९ पुसमा निरन्तरको छलफलपछि खेलाडी क्यान बीच सहमति भयो ।

तर ज्ञानेन्द्र मल्ललाई हालको लागि पुनः कप्तानको जिम्मेवारीमा फिर्ता बोलाउनुपर्ने खेलाडीको माग भने पूरा नहुने भएको छ। अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकपको लागि नेपालले डेढ महिनापछि छनोट प्रतियोगिता खेल्दैछ। नयाँ प्रशिक्षकको नियुक्ति समयमा नहुनु र क्यान खेलाडी विवादका कारण नेपालको तयारी समयमा हुन सकेको थिएन।

नेपाल आउँदो फेब्रुअरी १५ देखि ओमानमा हुने विश्व कप छनोट समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै बलिया राष्ट्र आयरल्याण्ड, ओमान र यूएईसँगै फिलिपिन्स्, जर्मनी, क्यानडा र बहराइन गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।

राउण्ड रोबिन लिगका आधारमा हुने छनोट खेलमा शीर्ष दुईभित्र पर्न सके नेपालले दोस्रो पटक विश्वकप खेल्न पाउनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्