गृह मन्त्रालयमा साइबर सुरक्षाबारे सरोकारवाला निकायबीच छलफल – Janadesh Daily | ePaper

गृह मन्त्रालयमा साइबर सुरक्षाबारे सरोकारवाला निकायबीच छलफल


जनादेश, काठमाण्डौं । गृह मन्त्रालयमाले साइबर सुरक्षाबारे सरोकारवाला निकायबीच छलफल गरेको छ। डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौति तथा जोखिम न्युनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्रवृत्ति, साइबर सुरक्षाका विद्यमान समस्या, समस्याको विश्लेषण र समाधानका उपायबारे छलफल भएको हो।

छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले साइवर सुरक्षा क्षेत्रमा भए गरेका कार्यहरूको वर्तमान अवस्था सम्बन्धमा प्रस्तुति दिएका थिए । सोही क्रममा सम्बन्धित विद्यमान कानुनी व्यवस्था, मन्त्रालयबाट भएका साइवर सुरक्षासँग सम्बन्धित मुख्य मुख्य कार्यहरु, चालू आर्थिक वर्षमा सञ्चालन हुने साइवर सुरक्षासँग सम्बन्धित प्रमुख कार्यक्रम, भावी कार्यक्रमहरु तथा समस्या/चुनौतीहरू सम्बन्धमा प्रकाश पारेका थिए।

साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्याल, त्यस्तै नेपाल प्रहरी, सूचना प्रविधि निर्देशनालय र सशस्त्र प्रहरी बलबाट नेपालमा घटेका साइबर आक्रमण घटनाहरु, तिनको पहिचान तथा रेस्पोन्स प्रक्रिया, घटनाक्रमका प्रवृत्ति, कमीकमजोरी सम्बन्धमा जानकारी गराएका थिए।

गृह सचिव टेकनारायण पाण्डेले अपराधका विषय, अनलाइन माध्यमको नियमनका लागि नियामक निकाय पहिचान, भूमिका परिभाषित गरी बाधा अड्चन फुकाउँदै जानुपर्ने र प्रभावकारी साइबर सुरक्षाका लागि घनिभूत छलफल गरेर अन्तरनिकाय समन्वय गरी आआफ्नो क्षेत्रबाट प्रभाकारी भूमिका निर्वाह गर्न आवश्यक कार्यान्वयन कार्यढाँचासहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए।

उक्त प्रयोजनका लागि नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालको संयोजकत्वमा १० सदस्यीय कमिटीसमेत गठन गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्