प्रचण्डलाई बाबुरामले दिएको शुभकामनाको निहितार्थः ध्रुवीकरण भनेको फेरि एक ठाउँमा हुने हो ! – Janadesh Daily | ePaper

प्रचण्डलाई बाबुरामले दिएको शुभकामनाको निहितार्थः ध्रुवीकरण भनेको फेरि एक ठाउँमा हुने हो !


जनादेश वाच।

माओवादी केन्द्रले ८ औं महाधिवेशनबाट पुष्पकमल दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसहकर्मी प्रचण्डलाई शुभकामना दिए।

भट्टराईले ट्वीट मार्फत् मंगलवार शुभकामना दिएका हुन्। भट्टराईले शुभकामना दिँदै सहकार्यका लागि आह्वान गरेका छन्। उनले भनेका छन्, ‘नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुन: निर्वाचित हुनु भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाइ तथा शुभकामना! प्रतिगमन र यथास्थितिवाद विरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुविकरणमा बल पुगोस् थप शुभेच्छा!’

 

सहकार्यको विगत
२०७२ सालमा माओवादी पार्टीबाट अलग भएर नयाँ शक्ति गठन गरेका थिए। माओवादीमा प्रचण्डको आलोचकका रुपमा रहेका बाबुराम भट्टराई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनपछि प्रचण्डसँगै सहकार्य गरेर आन्दोलनमा उत्रिएका थिए।

प्रचण्डले पनि पूर्व माओवादी एक हुनुपर्ने भन्दै नेताहरुसँग संवाद गरिरहेको बताइन्छ। माओवादीको महाधिवेशन उद्घाटनमा पुस ११ गते नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पार्टी एकताका लागि शर्तहरु राख्दै एकता सम्भव भएको बताएका थिए।

किन हुनुपर्छ प्रचण्ड र डा.भट्टराई एक ठाउँ ?
जनयुद्ध लडेर देशमा राजा फालेर संघीय गणतन्त्र घोषणा गर्न प्रचण्ड र डा.भट्टराईको युगलबन्दीको ठूलो योगदान रहेको छ । यी दुवै एक ठाउँमा हुँदा देखिने जनमत धेरै नराम्रो हुँदा पनि अहिलेको माओवादी केन्द्रभन्दा अवश्य राम्रो र सम्मानजनक हुन्छ भन्ने पूर्वमाओवादीका सबै घटकलाई थाहा छ।

अहिले माओवादी केन्द्र आफ्नो पुरानो एजेन्डा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’मा फर्किएर डा. भट्टराईलाई फेरि पुरानो पार्टीमा आउने माहोल भने बनाइदिएको विश्लेषण गरिएको छ । बाबुरामले नयाँ शक्तिमा हुँदा देखि नै ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’ नै हुनुपर्छ भन्ने मुद्दालाई प्रमुख रुपमा उठाउँदै आएका छन् । डा. भट्टराई र प्रचण्ड फेरि एक ठाउँ हुनसक्ने अनेकन आधारहरु छन् ।

जनयुद्धका घाउहरु अहिले पनि ओभाएका छैनन् । अहिले पनि सयौ कार्यकर्ता घरबारविहीनको अवस्थामा छन् भने कैयौँ रोजगार नभएर विदेशिएका छन् । डा. भट्टराईलाई माओवादी छोड्नासाथ उठेको सबैभन्दा ठूलो प्रश्न हो जनयुद्धले उठाएका प्रश्नहरुबाट तपाईं भागेको हो ? सायद, उनी यो प्रश्नको जवाफ दिँदा थाकिसकेका छन् । उनले आफू नभाग्ने भने पनि आम जनताले भागेको बुझेका छन् । सो प्रश्नको अन्त्यका लागि पनि डा. भट्टराईले माओवादी केन्द्रसँग एकता गर्नु सही बाटो हुन जान्छ ।

अर्को कारण माओवादी केन्द्रभन्दा बाबुरामलाई आफ्ना कार्यकर्ता बचाउने चुनौती अहिले देखिएको छ । समग्रमा भन्दा अहिले प्रचण्ड र डा. भट्टराई एक अर्काका आवश्यकता बनेका छन् । उनीहरु एक भएमा माओवादीहरुको अस्तित्व बच्ने देखिन्छ अन्यथा कि एमालेको राष्ट्रवादी धारले उनीहरुलाई खाइदिनेछ, कि त कांग्रेसको परम्परावादी राजनीति नै उनीहरुको पतनको बाटो बन्ने देखिन्छ ।

तत्कालीन माओवादीका नेताहरु छरिँदा मुलुक अस्थिरतामा पुगेको निष्कर्ष निकाल्दै प्रचण्ड र डा. भट्टराई अब माओवादी नेताहरु एकै स्थानमा उभिने गरी अघि बढ्नु पर्नेमा सबै माओवादी घटकका नेता कार्यकर्ता सहमत छन् ।

समाजवादी केन्द्र विकल्प

हाल जसपा संघीय परिषद्का अध्यक्ष रहेका बाबुराम भट्टराईले लामो समयदेखि समाजवादी केन्द्र बनाउने विषयमा बहस गरिरहेका छन् । बाबुरामले जसपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जस्ता तीन शक्तिलाई कम्युनिष्ट केन्द्रभन्दा सामजवादी केन्द्र बनाउने विषयमा जोड दिने गरेका छन् । कालान्तरमा माओवादी केन्द्र र जसपा रुपमा एकठाउँमा हुने देखिएकाले समाजवादी केन्द्र बनाउनेमा भट्टराईले जोड दिने गरेका हुन्।

यसअघि नै बाबुराम निकट जसपा नेता डम्बर खतिवडाले प्रचण्डको एकता प्रस्ताव स्वीकार गरेका छन् तर त्यसका लागि उनले समाजवाददेखि राज्यको पुनर्संरचनासम्ममा पुनर्विचार गरिनुपर्ने शर्त राखेका छन् । प्रचण्डले आफ्नो दस्तावेजमा माओवादी केन्द्र आउने चुनावबाट पहिलो दल बनाउने दावी गरेका छन् । पार्टी केन्द्रीय कमिटीमा प्रस्तुत प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा माओवादी फेरि पहिलो शक्ति भएर फर्किने प्रक्षेपण गरिएको छ । तर उनको दाबी माओवादी एक्लै एक नम्बर बन्ने भन्दा पनि माधव नेपाल, बाबुराम भट्टराई तथा अन्य घटकसँगको एकता र प्रचण्डकै नेतृत्वमा समाजवादी केन्द्र बन्ने जानकारहरुको अनुमान छ ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्