किन मिसाइल हानिरहेको छ प्योङयाङः के किम जोङ उन युद्धकै मनस्थितिमा पुगेका हुन् ! – Janadesh Daily | ePaper

किन मिसाइल हानिरहेको छ प्योङयाङः के किम जोङ उन युद्धकै मनस्थितिमा पुगेका हुन् !


जनादेश अन्तर्राष्ट्रिय अपडेट

उत्तर कोरियाले निरन्तर ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ । गत सोमबार पनि प्योङयाङ नजिकैको एउटा विमानस्थलबाट क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कारियाली सेनाले बताएको छ । जापानले पनि यो परीक्षणको पुष्टि गरेको छ । दुई हप्तामा उत्तर कोरियाले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । उसले पछिल्लो पटक प्रक्षेपण गरेको तीन दिनपछि यो प्रक्षेपण गरेको हो ।

शुक्रबार रेल कारहरूबाट छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको थियो । जबकि केही दिनअघि उसले पहिचान गर्न गाह्रो हुने हाइपरसोनिक क्षेप्यास्त्रहरू परीक्षण गरको दावी गरेको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र परमाणु हतियार परीक्षण गर्न निषेध गरेको छ र कडा प्रतिबन्धहरू लगाएको छ । तर पूर्वी एसियाली राष्ट्र उत्तर कोरियाले प्रतिबन्धलाई नियमित रूपमा अस्वीकार गर्दै आएको छ । बरु उत्तर कोरियाली नेता किम जोन उनले आफ्नो देशको रक्षालाई बलियो बनाउने वाचा गरेका छन् ।

किन मिसाइल प्रक्षेपण गरिरहेको छ प्योङयाङ ?
आर्थिक र खाद्य संकटबाट गुज्रिरहेको उत्तर कोरियामा त्यहाँका शासक किम जोङ उनले नयाँ वर्षको सुरुवातमा देशको आर्थिक अवस्था सुधारमा केन्द्रीत हुने बताएका थिए। किमको बोली र व्यवहारमा फरक देखिएको छ। त्यसको कारण के हुन सक्छ? उत्तर कोरियाले पछिल्लो समय किन असामान्य तरिकाले क्षेप्यास्त्र प्रहार गरिरहेको छ?

के युद्धकै तयारीमा छन् उन ?
सामान्यतः उत्तर कोरियाले विगतमा देशभित्र हुने गरेका महत्वपूर्ण राजनीतिक कार्यक्रमहरुलाई संकेत गरी क्षेप्यास्त्र प्रहार गर्ने गर्थ्यो। देशभित्र भएका क्षेप्यास्त्रको क्षमता परीक्षण गर्न र कार्यक्रमको तयारीका लागि सो गतिविधि गर्ने गर्थ्यो। अमेरिका र दक्षिण कोरियाले गर्ने क्षेप्यास्त्र अभ्यासप्रति असन्तुष्टि जनाउन पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्ने गर्थ्यो।

‘तर पछिल्लो समय उत्तर कोरियाले असमान्य तरिकाले गरिरहेको क्षेप्यास्त्र परीक्षणको पछाडि कुनै न कुनै कारण लुकोको छ,’ इन्टरनेसनल पिसका विज्ञ अंकित पान्डाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग भनेका छन्, ‘पछिल्लो समय उत्तर कोरियाले युद्धको तयारी स्वरुप आफ्ना क्षेप्यास्त्र कार्यात्मक छन् या छैनन् भन्ने परीक्षण गर्न क्षेप्यास्त्र परीक्षण गरिरहेको जस्तो देखिन्छ। हैन भने यस वर्ष आर्थिक संकट, गरिबी र भोकमरीजस्ता आन्तरिक समस्यालाई प्राथमिकतामा राख्ने उद्देश्य बोकेका किमले क्षेप्यास्त्र प्रहार किन गर्नुपर्थ्यो?’

यसअघि अमेरिकाले उत्तर कोरियाले आणविक हातहतियार त्याग्ने इच्छा जनाएको बताएको थियो। तर अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार गरेसँगै उत्तर कोरियाको सो इच्छा अघि नबढेको बताइएको छ। गत हप्तामात्र बाइडेन प्रशासनले उत्तर कोरियालाई आणविक हतियारमा सघाउ पुर्‍याउने रुस र चीनका विभिन्न कार्यक्रममा पहिलो पटक प्रतिबन्ध लगाएको छ। सो प्रतिबन्धको प्रतिसोधमा उत्तर कोरियाले पछिल्लो समय असामान्य तरिकाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्ने अनुमान विश्लेषकहरुले लगाएका छन्।

‘अमेरिकाको प्रतिबन्धविरुद्धको प्रतिक्रिया स्वरुप उत्तर कोरियाले सोमबार दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्छ। आणविक हतियारबाट उत्तर कोरिया बाहिर नचाहने जनाउन पनि पछिल्लो समय क्षेप्यास्त्र प्रक्षेपण गरेको हुन सक्छ,’ नर्थ कोरियन स्टडिजका प्रोफेसर पार्क वोन गनले भनेका छन्।

कतिपयले भने चीनका कारण पनि उत्तर कोरियाले पछिल्लो समय क्षेप्यास्त्र प्रक्षेपण गरिरहेको हुनसक्ने अनुमान गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्