कोरोनाको सुनामीः दैनिक २० हजार संक्रमित थपिने प्रक्षेपण, अस्पतालको अवस्था के छ ! – Janadesh Daily | ePaper

कोरोनाको सुनामीः दैनिक २० हजार संक्रमित थपिने प्रक्षेपण, अस्पतालको अवस्था के छ !


जनादेश वाच।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरिएको छ । माघ दोस्रो साताबाट अहिलेको तुलनामा दैनिक संक्रमित हुनेको संख्या अझै थपिने स्वास्थ्यविदहरूले बताएका छन् ।

संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ । अर्को साताभित्र संक्रमणदर उच्च पुगेर विस्तारै ओरालो लाग्न सक्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए । उनले भने, अर्को साता या माघको १५ पछि विस्तारै संक्रमण ओरालो लाग्ने देखिन्छ ।

संक्रमणदर तीन दिनमै दोब्बरले वृद्धि हुँदै गएकाले सबै सतर्क हुन आवश्यक रहेको डा. पौडेलले बताए । पौडेलका अनुसार अहिलेको संक्रमणमा ओमिक्रोन भेरियन्टको वर्चश्व बढी रहेकाले संक्रमितको तुलनामा अस्पताल भर्नादर कम छ । यो भेरियन्टले श्वासप्रश्वास नलीको माथिल्लो भागमा संक्रमण बढी गर्ने भएकाले संक्रमितमा गम्भीर लक्षण कम भएको तर खोप लिएकामा समेत संक्रमण भएको पाइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

टेकु अस्पतालकी निर्देशक डाक्टर मनिषा रावलले पनि यो प्रक्षेपण नै सहि हुनसक्ने बताइन् ।

‘विश्व स्वास्थ्य संगठनले पहिले नै भनिसकेको कुरा हो, अबको केही हप्ता दैनिक १५ हजारभन्दा बढी कोरोना संक्रमित थपिन सक्छन्,’ डा. रावलले भनिन् । उनका अनुसार ओमिक्रोन भेरियन्ट पहिलेको ‘डेल्टा भेरियन्ट’ भन्दा कम घातक छ । यसबाट आत्तिनुपर्ने अवस्था छैन ।

‘हालसम्म अस्पतालमा भर्ना भएका कोभिड बिरामीको अवस्था हेर्दा पनि यो भेरियन्ट पहिलेको तुलनामा कम घातक छ,’ उनले भनिन् । उनका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित बनेको अवस्थामा कोरोनाको उपचारसँगै अन्य रोगको उपचारमा पनि खासै प्रभाव पर्दैन । कोरोनाको बढ्दो संक्रमणले उपचारमा असर नपरोस् भनेर कर्मचारीलाई ‘बुस्टर डोज’ दिएर तयारी अवस्थामा राखिएको पनि उनले बताइन्। टेकु अस्पतालमा मंगलबारसम्म सात जना कोरोना संक्रमित बिरामी आइसोलेसनमा भर्ना भएका छन् भने पाँच जना आईसीयूमा उपचार गराइरहेका छन् ।

यस्तै पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले पनि माघको दोस्रो साता संक्रमण दर उच्च हुन सक्ने बताए । चिसो बढेसँगै कोरोना संक्रमण दर बढ्ने उनको ठहर छ । दैनिक १० हजारदेखि १५ हजारसम्म संक्रमित थपिन सक्छन्,’ उनले भने ।

‘अहिले पाटन अस्पतालमा कार्यरत ८० जना डाक्टर नै कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन्, यो दर अझै बढ्न सक्छ तर हामीले उपचारमा समस्या नहोस् भनेर डाक्टर पढेका विद्यार्थीलाई तयारी अवस्थामा राखेका छौं,’ डा. शाक्यले भने ।

स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेकाले अस्पतालमा स्वास्थ्यकर्मीकै अभाव हुन्छ कि भन्ने आँकलन पनि गरिएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मात्रै ३ सयभन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ । एकैपटक धेरै स्वास्थ्यकर्मी कोरोना पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । जनशक्ति अभावले मेडिकल आईसीयूबाट सेवा दिन नसकिएको अस्पतालका कोरोना फोकल पर्सन डा. निरज बमले जानकारी दिए । भएका बेड पनि सञ्चालन गर्न नसकेर सिरियस बिरामी समेत लिन नसकेको उनले बताए ।

यता, कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा मंगलबारसम्म १ सय ३३ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् । अस्पतालका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा पनि उपचारमा भने प्रभाव परेको छैन ।

उपचारमा कुनै कमी नहोस् भनेर स्वास्थ तथा जनसंख्या मन्त्रालयको समन्वयनमा करार अवधि तीन महिना थपिएको उनले बताए । जसले गर्दा उपचारमा कमी नआउने उनको दाबी छ ।

अस्पतालमा सबैभन्दा बढी कोरोना संक्रमितको चाप माघ तेस्रो साता हुने बताइएको छ । त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आँकलन गरिएको इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख पौडेलको भनाई छ ।

संक्रमितमध्ये ८५ प्रतिशतलाई सामान्य असर देखिने र १० प्रतिशत अस्पताल पुग्नुपर्छ भने पाँच प्रतिशतभन्दा कमलाई आईसीयू तथा भेन्टिलेटर सपोर्ट चाहिन सक्ने मन्त्रालयको विश्लेषण छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले संक्रमण दर बढेर एकैदिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताएका छन् । संक्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने पनि उनको अनुमान छ ।

कुन अस्पतालमा कति कोरोना संक्रमित छन्
वीर अस्पतालको जनरल बेडमा ५९ जना, एचडीयूमा २४ जना, आइसीयुमा १३ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एचडीयूमा ७, आइसीयुमा ३ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ भने त्रिवि शिक्षण अस्पतालमा जनरल बेडमा २१ जना, एचडीयूमा १५ आईसीयूमा ८ जना र भेन्टिलेटरमा थप १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा जनरल बेडमा ४३ जना, एचडीयूमा ३४ जना, आईसीयूमा १२ जना र भेन्टिलेटरमा ७ जना उपचाररत छन् ।

त्यस्तै, नेपाल प्रहरी अस्पतालमा एचडीयू १ सय बेड, आईसीयू ३० बेड र भेन्टिलेटर ३० बेड रहेका छन् । त्यसमध्ये एचडीयूमा १३ जना उपचाररत छन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा जनरल बेडमा २० जना, एचडीयूमा ८६ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

यसैगरी, छाउनीस्थित श्री वीरेन्द्र अस्पतालको जनरल बेडमा २३ जना , एचडीयूमा ५४ जना र आइसीयुमा ११ जना उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल देशभरमा ८ हजार २०२ वटा आइसोलेसन बेड, ३ हजार ८४६ एचडीयू, २७९७ आईसीयू र १००८ वटा भेन्टिलेटर सहितका बेड छन् ।

यो निजी तथा सरकारी अस्पतालको बेड संख्या हो, जहाँ कोभिडसँगै कोभिड नलागेका बिरामीहरूको पनि उपचार भइरहेको छ ।

उपत्यकाका ठूला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुने संख्या दिनदिनै बढ्दै जाँदा जनशक्ति अभाव हुने अवस्था सिर्जना हुनसक्नेमा स्वास्थ्यविदहरू चिन्तिन छन् ।

यो अवस्थामा स्वास्थ्यकर्मीको अभाव हुन नदिन करारमा राखिएका स्वास्थ्यकर्मीको सेवा अवधि तीन महिना थप गरिएको छ । आवश्यक परे छात्रवृत्तिमा पढेका चिकित्सक तथा एमबीबीएस पढ्दै गरेका विद्यार्थीलाई पनि काममा लगाउने मन्त्रालयको योजना छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्