कोरोनाविरुद्ध खाने औषधि: अस्ट्रेलियामा पनि स्वीकृति – Janadesh Daily | ePaper

कोरोनाविरुद्ध खाने औषधि: अस्ट्रेलियामा पनि स्वीकृति


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

अस्ट्रेलियाले पहिलो पटक कोभिड-१९ को लागि सेवन गर्न मिल्ने औषधिलाई स्वीकृति प्रदान गरेको छ। जसले अन्य उपचारहरूको अभावलाई सम्बोधन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

अस्ट्रेलियाको औषधि नियामक निकायले कोभिड-१९ को उपचारका लागि ‘प्याक्स्लोभड’ र ‘लेगेभ्रियो’ औषधिलाई स्वीकृति दिएको हो। यी औषधिहरूलाई ‘अस्थायी रूपमा’ स्वीकृति दिइएको हो, जसको अर्थ यी औषधिहरू सीमित परिस्थितिमा स्वास्थ्य अधिकारीहरुले प्रयोगमा ल्याउन सक्छन्। तर, औषधि अधिक रूपमा प्रयोग हुने भएकाले उत्पादकहरूले यसबारे थप तथ्याङ्क पेश गर्नुपर्ने बताइएको छ।

मेटर हेल्थ सर्भिसका संक्रामक रोग निर्देशक सहायक प्राध्यापक पल ग्रिफिनले बिहीवार भने, ‘हामीसँग सुरक्षित र प्रभावकारी खोपहरू छन्। हामीसँग एन्टिभाइरल र मोनोक्लोनल एन्टिबडीहरु पनि छन् जसले हामीलाई निश्चित रूपमा मद्दत गरेको छ। तर, हामीसँग अहिले अभाव रहेको भनेको ओरल ट्रिटमेन्ट हो, जसले कोभिडको कोर्स नै परिवर्तन गर्नसक्छ।’

यी औषधिले कसरी काम गर्छ?
यी दुबै औषधिले भाइरसलाई शरीरका कोषहरूमा सजिलैसँग पुन: उत्पादन हुनबाट रोक्छन् र तिनीहरूले त्यो काम अलि फरक तरिकाले गर्छन्।

‘लेगेभ्रियोले भाइरल रेप्लिकेसन प्रोसेसमा इरर ल्याउँछ। यतिसम्म कि भाइरस त्यो प्रक्रियामा बाँच्न सक्दैन,’ ग्रिफिनले भनेका छन्। प्याक्स्लोभडले ‘प्रोटीज’ भन्ने एउटा महत्वपूर्ण इन्जाइमलाई रोक्छ, जुन भाइरसले आफैँलाई ‘कपी’ गर्न आवश्यक हुन्छ।

यी औषधि कोरोना संक्रमण पुष्टि हुनासाथ या लक्षणहरू सुरु भएको पाँच दिनभित्र सकेसम्म चाँडो सेवन गर्नुपर्छ। औषधि पाँच दिनको लागि दिनमा दुई पटक लिनुपर्नेछ। क्लिनिकल परीक्षणहरूमा दुवै औषधि मृत्युको दर कम गर्न धेरै प्रभावकारी देखिएका थिए।

यसले कसलाई फाइदा हुन्छ?
यी औषधि कोभिड-१९ भएका वयस्कलाई मात्र दिन सकिन्छ जसलाई तत्काल कृत्रिम अक्सिजनको आवश्यक छैन। यो प्रावधान हाल उपलब्ध अन्य उपचार विधिहरुमा पनि लागू हुन्छ। तर, अहिलेसम्म ती उपचारहरू अस्पताल वा अन्य मेडिकलमा ‘इन्ट्राभेनस इन्फ्युजन’ वा ‘इन्ट्रामस्कुलर इन्जेक्सन’मार्फत प्रदान गर्नुपर्थ्यो। यीमध्ये केही उपचारको आपूर्ति अभाव पनि भएको छ।

‘खाने औषधिहरूको प्रयोगले उपचारमा सहज पनि बनाउने छ’, ग्रिफिनले भने, ‘यी औषधिहरु मानिसहरूमाझ पुग्न सजिलो पनि हुनेछ। जुन सबै प्रकारका अवरोध बिच निकै महत्त्वपूर्ण हुनेछ। यो औषधि जति चाँडो दियो त्यति नै चाँडो यसको प्रभावकारिताबारे थाहा पाउन सकिनेछ।’

उनले थपे, ‘यसले स्वास्थ्य सेवा प्रणालीमा बोझ पनि कम गर्नेछ किनकि यो उपचार विधि धेरै समुदायमा केन्द्रित हुन्छ र यसको लागि अस्पतालको बेड तथा व्यवस्थापन गर्न स्रोतहरू पनि चाहिँदैन।’

भाइरस म्युटेसन प्रतिरोधी
फ्लिन्डर्स युनिभर्सिटीको क्लिनिकल फार्माकोलजीका अनुसन्धानकर्ता सहायक प्राध्यापक एन्ड्रयू रोल्याण्डका अनुसार हाल उपलब्ध अधिकांश कोभिड-१९ उपचार र खोपहरूले भाइरसको ‘स्पाइक प्रोटिन’लाई लक्षित गरेको हुन्छ।

‘प्याक्स्लोभड कोभिड संक्रमितहरूको लागि महत्वपूर्ण नयाँ उपचार हो किनकि यसले भाइरस रेप्लिकेसको एक महत्वपूर्ण प्रक्रियालाई लक्षित गर्दछ जुन स्पाइक प्रोटिनसँग सम्बन्धित छैन,’ उनले भने, ‘यसको अर्थ भाइरसको स्पाइक प्रोटिनमा म्युटेसन भएपनि प्याक्स्लोभिडको प्रभावकारितामा कमी आउने सम्भावना कम छ।’

यी औषधि कहिले प्रयोगमा आउनेछन्?
अस्ट्रेलिया सरकारले २०२२ मा आपूर्तिको लागि प्याक्स्लोभडको पाँच लाख र लेगेभ्रियोको तीन लाख कोर्स सुरक्षित गरेको छ। जुन आउने हप्ताहरूमा पहिलो डेलिभरीको लागि तयारी गरिएको बताइएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्