ओलीलाई देउवाको व्यङ्ग्यः हामी आएपछि जनतामा भरोसा बढ्यो – Janadesh Daily | ePaper

ओलीलाई देउवाको व्यङ्ग्यः हामी आएपछि जनतामा भरोसा बढ्यो


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार आएपछि जनतामा त्रास र भयको वातावरण अन्त्य भएको दाबी गरेका छन्। देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित भनाई राखेका हुन्।

‘संयुक्त सरकारले अङ्गीकार गरेका नीतिहरूप्रति जनसमर्थन र सहयोग प्राप्त भएको छ। संविधान र संवैधानिक प्रणालीको रक्षा भएको छ र विधिको शासन सुदृढ बनेको छ,’ देउवाले भने, ‘जनतामा त्रास र भय एवम् राजनीतिक स्थायित्व प्रतिको संशयको अन्त्य भएको छ।’ कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ओली नेतृत्वको सरकारले जनतालाई भय र त्रासमा राखेको आरोप लगाउँदै आएका थिए। सरकारले कार्यभार सम्हालेको ६ महिनाको अवधिमा भएका मुख्य-मुख्य उपलब्धिले सरकार सही दिशामा अघि बढिरहेको देउवाको दाबी रह्यो।

‘छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिहरूले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको छ,’ उनले भने। असार २९ गते सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। आफ्नो सरकार आएपछि जनतामा आशा र भरोसा बढेको उनको भनाई रह्यो। यद्यपि यतिमा सन्तोष मान्ने अवस्था सरकारको नभएको उनले बताए। ‘जनतामा आशा र भरोसा बढेको छ। तर, हामीलाई यसमै सन्तोष गर्ने अवस्था छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘एक्काइसौँ शताब्दीको द्रुत गतिमा अघि बढिरहेको प्रतिस्पर्धी युगमा विकास र समृद्धिको यात्रालाई हामीले थप गतिका साथ चाँडै पूरा गर्नुपर्ने खाँचो छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्