एक वर्षमै अलोकप्रिय बनिसके अमेरिकी राष्ट्रपति बाइडेन, कारण कोरोनादेखि रुससम्म – Janadesh Daily | ePaper

एक वर्षमै अलोकप्रिय बनिसके अमेरिकी राष्ट्रपति बाइडेन, कारण कोरोनादेखि रुससम्म


जनादेश अन्तर्राष्ट्रिय वाच।
अमेरिकामा राष्ट्रपति जो बाइडनले बिहीवार (२० जनवरीमा) कार्यकालको एक वर्ष पूरा गरेका छन् । उनको एक वर्षे यात्रामा आशाभन्दा बढी निराशा देखिएको छ । कोरोनाको कहर चलिरहेको बेलामा राष्ट्रपति बाइडनले त्यसको व्यवस्थापन राम्रोसँग गर्न नसकेकाले बहुसंख्यक अमेरिकी जनता उनको पक्षमा देखिएका छैनन् ।

बाइडनको अलोकप्रियतालाई पछिल्ला सबै सर्वेक्षणहरूले पुष्टि गरेका छन् । सीएनएनले गरेको पोल अफ पोल्समा बाइडनको पक्षमा जम्मा ४१ प्रतिशत अमेरिकीहरू उभिएका छन् भने ५४ प्रतिशतले उनको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

त्यस्तै रोयटर्स समाचार संस्थाले जनवरी १२ र १३ मा गरेको सर्वेक्षणमा ४५ प्रतिशतले मात्र उनको सराहना गरेका छन् भने ५० प्रतिशतले उनको आलोचना गरेका छन् । बाँकी ५ प्रतिशत अनिर्णित छन् ।

अमेरिकी राजनीतिको बारेमा सटीक विश्लेषण पस्किने फाइभथर्टीएट डट्कमको सर्वेक्षणमा बाइडनलाई ५२.५ प्रतिशतले नकारेका छन् भने ४१.९ प्रतिशतले उनलाई सकारेका छन् । गत अगस्ट महिनादेखि नै बाइडनको समर्थन सूचकांक ५० प्रतिशतभन्दा कम छ ।

पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको बहुलट्ठीपूर्ण कार्यकालबाट मुक्ति दिलाउनका लागि अमेरिकी जनताले बाइडनलाई लोकप्रिय मत दिएर जिताएको भए पनि बाइडनले जनताको अपेक्षालाई पूरा गर्न सकेका छैनन् । बाइडनको बढ्दो अलोकप्रियताका विभिन्न कारण छन् जसको व्याख्या तल गरिनेछ ।

पहिलो कारण त कोरोना कुव्यवस्थापन नै हो । बाइडनले राष्ट्रपति बनेपछि कोरोना नियन्त्रणमा ल्याउनका लागि विभिन्न कदम चाल्ने बताएका थिए । उनले भाइरसलाई बन्द नै गराउने (शटडाउन) प्रतिज्ञा गरेका थिए । तर अहिले आएर उनले यसमा गर्नुपर्ने जति काम गर्न नसकिएको स्वीकार गरे ।

कार्यकालको एक वर्ष पुगेको पूर्वसन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा बाइडनले भाइरस परीक्षणलाई बढाउनका लागि आफ्नो प्रशासनले थप द्रुत गतिमा काम गर्नुपर्ने थियो भने । त्यसका साथै उनले महामारी अन्त्य नभए पनि विद्यालयहरू खुल्नुपर्ने जिकिर पनि गरे ।

त्यसो ते संघ सरकारले मात्र कोभिड नियन्त्रण गर्न नसक्ने भनी केही महिनाअघि बाइडनले निराशाजनक कुरा गरेका थिए । तर अहिले परीक्षणको गति बढाइएको जानकारी उनले दिएका छन् । अनि अमेरिकाले दुई वर्षसम्म महामारीको शारीरिक, भावनात्मक तथा मनोवैज्ञानिक भार वहन गर्नुपरेको भए पनि भविष्य उज्ज्वल रहेको धारणा उनले राखे ।

भाइरस नियन्त्रणमा ल्याउन नसक्नुमा बाइडन मात्र दोषी छैनन् । अत्यधिक स्वतन्त्रताका पक्षपाती अमेरिकी जनताले नै कोभिड अन्त्यका लागि आवश्यक खोप र मास्कलाई बेवास्ता गरिदिँदा मृत्यु तथा संक्रमण संख्या नघटेको हो । विश्वमै कोभिडका कारण सबभन्दा बढी ८ लाख ४६ हजार मृत्यु अमेरिकामा भएको छ ।

बाइडनलाई अलोकप्रिय बनाउने अर्को कारण महंगी हो । महंगी बेलगाम बढिरहेको र अर्थतन्त्र सुस्त बनिरहेको विषयमा चिन्ता व्यक्त गर्दै अमेरिकीहरूले बाइडनको ध्यान यसमा पर्याप्त नपुगेको बताएका छन् ।

लगभग १० दिनअघि ब्युरो अफ लेबर स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको आँकडाअनुसार, अमेरिकामा मूल्यवृद्धि ६.८ प्रतिशतले बढेको छ । यसलाई समाधान गर्ने उपाय निकाल्नुभन्दा पनि बाइडनले अमेरिकीहरूलाई यसबाट पुगेको दुःखका विषयमा आफू सहानुभूतिशील रहेको भनी सन्देश दिने गरेका छन् ।

खासमा कोरोना महामारीका कारण विश्वव्यापी माग र आपूर्तिको संरचनामा गडबडी आएकाले मूल्यवृद्धि भएको हो । महामारी अन्त्य नहुन्जेल यस संरचनालाई सामान्य बनाउन गाह्रो छ । गोल्डम्यान स्याक्सले मूल्यवृद्धि अझै बढ्ने र आम अमेरिकीले थप दुःख पाउने आकलन गरेको छ ।

बाइडनको एक वर्षे कार्यकालले धेरै अमेरिकीहरूलाई निराश गरेकाले डेमोक्रेटिक पार्टीले बढी नै सीट गुमाउन सक्ने आकलन कतिपय विश्लेषकहरूले गरेका छन् । त्यस्तो स्थिति आयो भने बाइडनलाई बाँकी कार्यकालमा काम गर्न झनै मुश्किल हुन्छ । यसरी राष्ट्रिय राजनीतिमा बाइडन बेअसरदार साबित हुँदा आफ्नो छवि उकास्न अमेरिकालाई विदेशको कुनै युद्धमा होम्न सक्ने जोखिम पनि उत्तिकै छ ।

विदेशबाट आएका सामानहरू बन्दरगाहहरूमा अड्केर बसेकाले पनि महंगी बढेको हो । बाइडनले बन्दरगाहबाट सुपरमार्केटसम्मको आपूर्तिलाई सहज बनाउन निर्देशन दिएका छन् तर सोचेअनुसार काम भइरहेको छैन ।

त्यसो त यस समस्याको समाधान आफूले ल्याएको पूर्वाधार विधेयक बिल्ड ब्याक बेटरले गर्ने बाइडनको विश्वास छ । लगभग ११ खर्ब डलरको उक्त विधेयक माथिल्लो सदन सिनेटमा अड्केर बसेको छ । बाइडनकै दलका सिनेटर जो मान्चिनले यसको विरोध गरेकाले यो पारित हुन सकेको छैन ।

उक्त विधेयक कानून बनेपछि सामानहरूको आवागमनलाई सुधार गर्ने अनि राम्रो तलब दिलाउने रोजगारी पनि सिर्जना हुने बाइडन बताउँछन् । अनि त्यसबाट मूल्यवृद्धिमा कमी आउने उनको भनाइ छ ।

तर उनले भने जस्तो सकारात्मक परिणाम आउन वर्षौं लाग्ने अर्थशास्त्रीहरू बताउँछन् । यसको कामै शुरू हुने कुनै ठेगान नरहेकाले यसको परिणाम आउने पनि अत्तोपत्तो छैन ।

बिल्ड ब्याक बेटर जस्तै अन्य सुधारात्मक विधेयकहरू पनि बाइडनले संसद्बाट पारित गराउन नसक्दा अलोकप्रियतामा योगदान पुगिरहेको छ ।

बाइडनले अमेरिकामा ठूलो समस्याका रूपमा रहेको बन्दूकबाट हुने हिंसा रोक्नका लागि कार्यकारी आदेश जारी गरेका छन् । तर बन्दूक किन्ने व्यक्तिको पृष्ठभूमि जाँचको दायरा बढाउने विधेयक सिनेटबाट पारित हुन सकेको छैन ।

त्यस्तै मतदानको अधिकारसम्बन्धी विधेयक पनि सिनेटबाट पारित हुन नसकेर अलपत्र परेको छ । अल्पसंख्यक मतदाताहरूलाई मतदानबाट वञ्चित गराउने षड्यन्त्र रच्दै रिपब्लिकनहरूले विभिन्न राज्यमा कानून ल्याइरहँदा डेमोक्रेटहरूले अल्पसंख्यकको मतदान अधिकार सुनिश्चित गर्ने कानूनलाई अघि बढाउन नसक्दा बाइडनको चुनावी प्रतिज्ञा पूरा हुन पाएको छैन ।

राष्ट्रिय मोर्चामा यस्ता किसिमका असफलता बेहोरिरहेका बाइडनले विदेशी मोर्चामा पनि कैयौं गलत कदम चालेका छन् । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता बोलाउने उनको निर्णय सही थियो ।

तर बहिर्गमन प्रक्रिया सुव्यवस्थित नगर्दा १३ जना अमेरिकी सैनिकहरूले आत्मघाती आक्रमणमा परी बित्थामा ज्यान गुमाउनुपर्‍यो । अनि ५०० जना अमेरिकी तथा अमेरिकाका बहुमूल्य हातहतियार अफगानिस्तानमा अलपत्र छोडिँदा तालिबानले त्यसको उपयोग गर्न पायो ।

अमेरिका इज ब्याकको नारा दिएर युरोपसँग ट्रम्पको पालामा बिग्रेको सम्बन्ध सुधार गर्ने बाइडनको वाचा पनि अकस सम्झौताले धुजाधुजा बनाइदियो ।

हिन्द प्रशान्त क्षेत्रमा चीनको सामना गर्नका लागि अमेरिकाले बेलायत र अस्ट्रेलियासँग गरेको अकस सम्झौताका कारण फ्रान्सको ढाडमा चक्कु हान्ने काम गरियो । फ्रान्सले अस्ट्रेलियालाई बेच्न खोजेको डीजेलबाट चल्ने पनडुब्बीको सम्झौतालाई ध्वस्त पार्दै अमेरिकाले अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने पनडुब्बीको सम्झौता गर्‍यो ।

युरोपलाई अपमानजनक व्यवहार गर्ने ट्रम्पकै शैली बाइडनले पनि अपनाएको कुरा रुससँगको वार्ताले पनि सिद्ध गरेको छ । युक्रेनलाई अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोको सदस्य बनाउन नहुने भनी रुसले दबाब दिन सैन्य तैनाथी गरेपछि अमेरिकाले युरोपेली साझेदारहरूलाई समेत बेवास्ता गर्दै रुससँग वार्ता गर्‍यो ।

तर रुसको मुख्य माग नै अमेरिकाले पूरा नगरेकाले वार्ता विफल भयो । अहिले बाइडन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको अर्को चाल के होला भनी अनुमान गरी बसेका छन् ।

बुधवारको पत्रकार सम्मेलनमा बाइडनले युक्रेनमाथि रुसको आक्रमण (इन्भेजन) भएमा रुसमाथि अभूतपूर्व कठोर प्रतिबन्ध लगाइने तर छापामारी आक्रमण (इन्कर्सन) भएमा केही नगर्ने संकेत दिए । युक्रेनीहरूले बाइडनको यो भनाइ रुसलाई आक्रमणका लागि निम्तो दिएको जस्तो भएको टिप्पणी गरेका छन् ।

रुससँगको तनाव चर्काएको बाइडन प्रशासनले चीनसँगको सम्बन्धमा पनि खासै सुधार ल्याएको छैन । पुटिन र चीनका राष्ट्रपति सी चिनपिङ दुवैसँग भिडियो (र, प्रत्यक्ष) वार्ता गरेको भए पनि बाइडनले महाशक्तिहरूबीचको सम्बन्ध सुधार्नका लागि ठोस प्रयास गर्न सकेका छैनन् । सम्बन्ध सुधारका कदम चाल्दा चीन वा रुससँग झुकेको भन्ने भाष्य विपक्षी रिपब्लिकनहरूले बनाउने र त्यसले चुनावमा घाटा लाग्ने आकलन बाइडनले गरेको हुनुपर्छ ।

बाइडन यसरी विभिन्न मोर्चामा विफल हुँदा उनको डेमोक्रेटिक पार्टीले आगामी मध्यावधि निर्वाचनमा हार बेहोर्न सक्ने पूर्वानुमान विश्लेषकहरूले गरेका छन् । अमेरिकाको इतिहासमा राष्ट्रपतिले गरेको प्रदर्शनका आधारमा उनको दलले हाउस अफ रिप्रेजेन्टेटिभ्स तथा सिनेटमा कति सीट बढाउँछ भन्ने कुरालाई निर्धारण गर्छ । त्यसो त बहालवाला राष्ट्रपतिको कार्यकालमा उनको दलले संसदीय सीट गुमाउने गरेको निकट इतिहास छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्