गौरकाण्ड पुनरावृत्तिको प्रसंगः कहाँबाट सुरु भयो सीके राउत र उपेन्द्र यादवको लडाईं, कारण के ! – Janadesh Daily | ePaper

गौरकाण्ड पुनरावृत्तिको प्रसंगः कहाँबाट सुरु भयो सीके राउत र उपेन्द्र यादवको लडाईं, कारण के !


जनादेश वाच।

मधेशमा किसानका विभिन्न माग अघि सारेर आन्दोलन गरिरहेको जनमत पार्टीको प्रमुख निशानामा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ ।

स्थानीय तहदेखि प्रदेश हुँदै संघीय सरकारमा समेत सहभागी जसपामाथि निशाना साँधेर जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा आन्दोलन चर्काइरहेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत त्यसलाई स्वाभाविक बताउँछन् । ‘हामीले जानाजान जसपाका नेता वा उक्त पार्टीको विरोध गरेको होइन, माग सम्बोधन गर्नुपर्ने सरकारमा जसपा नै भएका कारण त्यसो देखिएको हो,’ राउतले भने, ‘मधेश प्रदेशको सरकारको नेतृत्व गर्नेदेखि किसानसँग सम्बन्धित कृषि मन्त्रालय मधेश प्रदेशमा पनि र संघमा पनि जसपाको नै भएका कारण सरकारविरुद्धको आन्दोलनमा जसपा निसानामा परेको हो।’

सत्तामा बस्नेसँग नै जनताले आफ्नो माग राख्ने भन्दै उनले माग सम्बोधन गर्नुको साटो उल्टै राजनीतिक षड्यन्त्र गर्ने काम जसपाले गर्दै आएको आरोप लगाए । मधेश प्रदेश सरकारको नेतृत्व जसपाका लालबाबु राउतले गरिरहेका छन् भने उक्त प्रदेशको कृषि मन्त्री पनि जसपाकै विजय यादव र राज्य मन्त्री योगेन्द्र राय यादव छन् ।

त्यसैगरी संघ सरकारको कृषि मन्त्री जसपाका महिन्द्र राय यादव छन्। त्यसबाहेक कतिपय स्थानीय तहमा पनि जसपाकै प्रमुख तथा उपप्रमुख भएको हुनाले पनि किसानको माग ती सरकारविरुद्ध हुँदा जसपाविरुद्ध देखिन गएको जनमत पार्टीका अध्यक्ष राउतको तर्क छ ।

जसपा नै निशानामा किन !
जसपा मधेस आन्दोलनबाट जन्मेको पार्टी हो । आन्दोलनबाट नै जसपा शक्तिशाली पार्टी बनेको छ । त्यही भएर मधेसमा जसपालाई कमजोर नगरेसम्म आफूहरुले स्पेस पाउने सम्भावना हुँदैन भनेर जनमत पार्टी सारा शक्ति जसपाको विरोधमा लगाएको विश्लेषकहरु बताउँछन् । ‘तराई मधेसमा उपेन्द्र यादवले जुन स्पेस लिएका छन्, त्यो स्पेस सिके राउतले लिन चाहेका छन्,’ मधेस मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्ण भन्छन्, ‘सिके राउतको अहिलेको आन्दोलन मधेसमा स्पेस लिनका लागि नै हो । जबसम्म जसपा कमजोर हुँदैन तबसम्म सिके राउतले स्पेस पाउनु हुन्न ।’

२०७५ भदौ ७ गते उपेन्द्र यादव बर्दिया जाँदा सिके राउतका कार्यकर्ताले कालो झण्डा देखाएका थिए । त्यतिबेला पक्राउ परेका राममनोहर यादवको थुनामै निधन भएको थियो । सो घटनाले दुई जनाको सम्बन्ध चिसिएको थियो । त्यो बेलादेखि नै दुई जनाको बीचमा कहिले पनि राम्रो सम्बन्ध भएन । जनमत पार्टीले जहिले पनि उपेन्द्र यादव नेतृत्वको पार्टीलाई निशाना बनाइ रह्यो । जनमत पार्टीका अध्यक्ष सिके राउतले जहाँ आफ्नो मन्तव्य दिन्छन्, त्यहाँ जसपा र सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ‘टार्गेट’ गरेर बोलेकै हुन्छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसहित सो दलका अन्य नेताप्रति उनको कडा टिप्पणी हुने गर्छन् ।

उपेन्द्र यादवको साथमा रहेर लामो समय काम गरेका जेपी गुप्ता भन्छन्, ‘स्थानीय, प्रदेश र केन्द्रमा जसपाको सरकार छ, र कुनै पनि प्रतिपक्षले टार्गेट बनाउने भनेको सत्ता पक्षलाई नै हो, जसपा सरकारमा भएको कारण जनमत पार्टीले उसको आलोचना धेरै गर्छ र त्यो स्वाभाविक पनि हो ।’

झगडाको विऊ
किसान आन्दोलनको शुरुआत सिरहाको औरही गाउँपालिकाबाट भएको थियो । किसानलाई गहुँको बिउ वितरण गर्न ढिलाइ भएको भन्दै जनमत पार्टीले गत पुस ९ गते उक्त पालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो ।

पालिका अध्यक्ष सिद्धार्थ यादव नेकपा माओवादी केन्द्रबाट र उपाध्यक्ष सीता कुमारी जसपाबाट निर्वाचित भएका हुन् । तर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैले किसानलाई वितरण गर्नु पर्ने सरकारी अनुदानबापतको गहुँको बिउ वितरण गर्न ढिलाइ गरिरहेको भन्दै जनमत पार्टीले पालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो ।

सोही दिन जनमत पार्टीकै अगुवाइमा स्थानीय स्वास्थ्य चौकीमा राखिएको बिउ किसानहरूले लुटेर लगेका थिए । त्यसपछि प्रशासनले जनमत पार्टीका कार्यकर्तासहित आन्दोलनकारी किसान माथि मुद्दा चलाएको थियो । त्यसको विरोधमा सीके राउतले चक्काजाम गरे ।

आफ्ना कार्यकर्ता पक्राउ परेपछि रिहाइको माग गर्दै जनमत पार्टीले त्यसको भोलिपल्ट पुस १० गते सिरहा जिल्लामा चक्काजाम आयोजन गरेको थियो ।

‘सो दिन पनि प्रहरीले आन्दोलनकारी किसानमाथि दमन गरेपछि भोलिपल्ट पुस ११ गते फेरि चक्काजामको कार्यक्रम तय गरिएको थियो,’ राउतले भने, ‘फेरि उक्त कार्यक्रममा जसपाका नेताहरूले प्रहरीलाई लगाएर थप दमन गराउने काम गरेका थिए।’

बन्द अवज्ञा गरेको भन्दै केही ट्रकमा आगजनी समेत गरिएको थियो भने दर्जनौं सवारीसाधन तोडफोड गरिएको थियो । जनमत पार्टीका कार्यकर्ताले सडकमा तोडफोड आतंक नै चलाएका थिए ।

सिरहाबाट शुरू गरिएको किसान आन्दोलनलाई सीके राउतले झापादेखि बर्दियासम्म पुर्‍याइसकेका छन् । आफूहरूले आन्दोलन गर्दा जसपा प्रतिकारमा उत्रिन खोजेको राउतको आरोप छ ।

‘किसान र्‍याली निकालेको दुई दिनमै त्यसको प्रतिकार स्वरूप जसपाले सप्तरीको हनुमाननगरमा ‘भाटा’ जुलुस निकालेको थियो,’ राउतले भने, ‘त्यो भाटा जुलुसमा मेरो नाम लिएर नै मविरुद्ध र मेरो पार्टीविरुद्ध जसपाले मुर्दावादको नारा लगाएको थियो ।’

जसपाले स्थानीय प्रशासन लगाएर आफूहरूलाई धरपक्कड गर्ने र दु:ख दिने काम गरेको राउतको आरोप छ । यो सारा कुरा तब उत्कर्षमा पुग्यो जब भौतिक पूर्वाधार तथा यातायत मन्त्री रेणु यादवले गौर हत्याकाण्ड दोहोर्‍याउने आशयको अभिव्यक्ति दिइन् ।

माघ ५ गते जसपाले मनाएको बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन पुगेकी मन्त्री यादवलाई जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै अवरोधको प्रयास गरेका थिए । अवरोध खेप्दै कार्यक्रममा पुगेपछि मन्त्री यादवले भड्किलो भाषण गर्दै गौर नरसंहार (जहाँ तत्कालीन फोरमका कार्यकर्ताले माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए) दोहोर्‍याउने आशय व्यक्त गरिन् ।

मन्त्री जस्तो पदमा बसेको व्यक्तिको उक्त अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ । सीके राउत स्वयंले पनि मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका छन् । उनलाई पदमुक्त गर्नुपर्ने माग देशव्यापी रूपमा उठिसकेको छ ।

वहाना पुरानो घाउ तर मधेश जित्ने दाउ
जेजस्ता घटनाहरू अग्रपंक्तिमा देखिए पनि सीके राउतले जसपालाई निशाना बनाउनुको खास कारण राजनीतिक स्पेसको खोजी नै हो । मधेशमा अहिले पनि जसपाको राम्रो प्रभाव छ । उसैलाई निशाना बनाएर राउतले राजनीतिक स्पेस खोजिरहेका छन् । मधेश प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल तथा शक्तिको रूपमा स्थापित जसपालाई पछिल्लो केही महिनादेखि जनमत पार्टीले निरन्तर निशाना बनाउँदै आएको छ । आफ्नो राजनीतिक भोट बैंक जोगाउन जसपालाई चुनौती दिँदै जनमतले गतिविधि गर्न थालेपछि दुवै एक अर्काप्रति आक्रामक भइरहेका छन् । त्यसो त अहिलेसम्म पनि मधेशमा सीके राउतको त्यति ठूलो जनमत रहेको देखिँदैन । बरु यादव र मुस्लिम समुदायमा जसपाको बलियो पकड छ । जनमतले दलित समुदाय र पचकुनिया समुदायमा पक्कड बनाएको छ । किसानका एजेन्डा उठाएर आफ्नो राजनीतिक स्पेस बढाउने दाउमा राउत देखिन्छन् । गैरआवासीय मधेशी युवामा भने सीके राउतप्रतिको आकर्षण छ । राउत आफैं पनि विदेश पढेर आएका हुन् ।

 

 

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्