निर्माण सामग्रीमा लुम्बिनी प्रदेश आत्मनिर्भर हुँदै: मुख्यमन्त्री कुलप्रसाद केसी – Janadesh Daily | ePaper

निर्माण सामग्रीमा लुम्बिनी प्रदेश आत्मनिर्भर हुँदै: मुख्यमन्त्री कुलप्रसाद केसी


लुम्बिनी प्रदेशमा उद्योगको प्रचुर सम्भावना

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा उद्योगको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । उहाँले यो प्रदेशमा उद्योग स्थापनाका लागि पर्याप्त जमिन रहेको बताउनुभयो ।

नेपाल इँटा उद्योग महासङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १३औँ वार्षिक साधारण सभाको बुधबार भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री केसीले उद्योग क्षेत्रको विकास गरेर रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा १८ वटा सिमेन्ट उद्योग मात्र रहेको भन्दै निर्माण सामग्रीमा लुम्बिनी प्रदेश आत्मनिर्भर हुँदै गएको बताउनुभयो ।

मुख्यमन्त्री केसीले सरकार दुई वर्ष कोभिड महामारीका कारण सामाजिक, आर्थिक, व्यक्तिगत जीवनका साथै स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको बताउनुभयो । “अब सबैको ध्यान उद्योग स्थापनातर्फ केन्द्रित हुनुपर्छ, उद्योग फस्टाउन नसके प्रदेश र स्थानीय तह बलियो हुन सक्दैनन्,” उहाँले भन्नुभयो ।

उहाँले सानादेखि ठूला उद्योग व्यवस्थित गर्दै जाने र लगानी सम्मेलनको तयारी भएको जानकारी दिनुभयो ।कार्यक्रममा नेपाल इँटा उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष शङ्करबहादुर चन्दले प्रत्यक्ष परोक्ष रूपमा रोजगार दिइरहेको इँटा उद्योग धराशायी हुँदै गएको बताउनुभयो । प्रदेश सरकारले केही न केही उपलब्धिपूर्ण काम गर्नेछ भन्ने आशा रहेको उहाँले बताउनुभयो । यसअघि भन्सारमा कोइलाको गुणस्तर जाँच गर्ने मेसिन उपलब्ध गराउने वाचा पाए पनि त्यो कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा नेपाल इँटा उद्योग महासङ्घका सल्लाहकार हरिप्रसाद अधिकारीले काँचो इँटाको बीमा गर्ने व्यवस्था नभएको भन्दै गुनासो गर्नुभयो ।लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष तथा इँटा उद्योग सङ्घ लुम्बिनी प्रदेश संयोजक थानेश्वर घिमिरेले इँटा उद्योग अभावै अभावमा सञ्चालन भइरहेको बताउनुभयो ।

इँटा उद्योगको विकासमा स्थापना कालदेखि नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल इँटा उद्योग महासङ्घले महासङ्घका वरिष्ठ सल्लाहकार रतनकुमार गुप्तालाई सम्मान गरेको छ । महासङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १३औँ वार्षिक साधारण सभाको अवसर पारेर गुप्तालाई सम्मान गरिएको हो । त्यस्तै उद्योगी बलराम आश्वासी, लालबहादुर गौचनलगायतलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासङ्घ रुपन्देहीका सल्लाहकार माधव ढुङ्गाना र खिमानन्द भट्टराई पनि सम्मानित हुनुभएको थियो । पत्रकारिता क्षेत्रमार्फत योगदान पु-याएको भन्दै उहाँहरूलाई नेपाल इँटा उद्योग महासङ्घले सम्मान गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्