अझै पनि चुनाव सर्न सक्छ? यस्तो छ निर्वाचन आयोगको सन्देश – Janadesh Daily | ePaper

अझै पनि चुनाव सर्न सक्छ? यस्तो छ निर्वाचन आयोगको सन्देश


जनादेश वाच।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ । निर्वाचन आयोगले निर्वाचनको प्रायः सबै तयारी पूरा भएको र सोहीअनुसार मतपत्रसमेत छापिसकेकाले अब निर्वाचन निर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । आयोगका अनुसार हालसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छापिइसकेको छ भने दैनिक सरदर ८ लाख थान मतपत्र छापिने क्रम जारी छ ।

पछिल्ला केही दिनदेखि निर्वाचन सर्न सक्ने भ्रम फैलाइँदै आइएको छ । सत्तारूढमध्येको एक दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा निर्वाचन सर्न सक्ने सम्भावना रहेको भन्दै भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै आयोग रुष्ट छ । नेपालले सो अभिव्यक्ति दिएलगत्तै गत मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका सबै तयारी पूरा भएर मतपत्रसमेत छाप्ने काम भइरहेको अवस्थामा निर्वाचन सारिए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताए । प्रमुख थपलियाको अभिव्यक्ति हेर्दा आयोग जुनसुकै हालतमा पनि तोकिएको समयमा निर्वाचन गराउनै पर्नेमा दृढ देखिन्छ । ‘निर्वाचनको रकेट उडिसक्यो त्यो अब निर्वाचन सम्पन्न नगर्दासम्म बीचैमा अवतरण हुने भन्ने प्रश्न नै हुँदैन,’ थपलियाले भने । उनले निर्वाचन सार्ने कुराको कल्पनै गर्न नसकिने बताएका थिए ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन सर्नै नसक्ने बताए । उनले निर्वाचन सार्ने भन्ने हल्ला प्रायोजित मात्रै हुन सक्ने बताए । ‘निर्वाचन आयोगको परामर्शबिना सरकारले निर्वाचन सार्न सक्दैन, हामी निर्वाचन सार्ने भन्ने विषयमा परामर्श दिन्नांै, आयोग समयमा नै निर्वाचन गराउन दृढ संकल्पित छ,’ आयुक्त पौडेलले भने ।

निर्वाचनको सम्बन्धमा भ्रम सिर्जना गरिएपछि आयोगले शुक्रबार निर्वाचन सर्ने भन्ने हल्ला भ्रम मात्रै भएकाले त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । निर्वाचन’bout अन्योल सिर्जना हुने अभिव्यक्ति नदिनसमेत आयोगले सबैलाई आग्रह गरेको छ ।

बिहीबार आयोगद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन निर्धारित समयमा नै हुने भएकाले यस सम्बन्धमा कसैले कुनै संशय व्यक्त नगर्न आग्रह गरेका हुन् ।

उनले स्थानीय तहको चुनाव निर्धारित समय अर्थात् वैशाख ३० मै हुने बताए । ‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारी तीव्रताका साथ अन्तिम चरणमा पुगेको छ । निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ,’ आयोग प्रवक्ता पौडेलले भने, ‘निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।’

राजधानी दैनिकबाट साभार।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्