एसइई परीक्षाको सबै तयारी पूरा – Janadesh Daily | ePaper

एसइई परीक्षाको सबै तयारी पूरा


वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६/२०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उहाँले जानकारी दिनुभयो ।

एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी हुँदैछन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ । यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उहाँले बताउनुभयो । अध्यक्ष शर्माले भन्नुभयो, “यस वर्ष एक महिना ढिलो गरी परीक्षा सुरु हुँदैछ , बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, त्यसले नतिजाका केही दिन तलमाथि हुनसक्ला, यद्यपि बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसइईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौँ ।”

कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिकसत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्