मेलम्चीको पानी आजदेखि घर–घरमा – Janadesh Daily | ePaper

मेलम्चीको पानी आजदेखि घर–घरमा


जनादेश मिडिया वाच।

दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण शुरू हुँदै छ । गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पु-याएको थियो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घर–घरमा पानी वितरण हुनेछ । नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो । झन्डै तीन दशकअघि पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले उपत्यकावासीलाई मेलम्चीको पानी उपलब्ध गराउने भनी देख्नुभएको सपना अब पूरा हुनेछ ।

खानेपानीमन्त्री चौधरीले लामो प्रतीक्षापछि पानी वितरण गर्न पाउँदा आफू निकै खुसी भएको बताउँदै भने, “प्रधानमन्त्री शेरबहादुर देउवाको सङ्कल्प र पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरेको छु ।”

मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आएसँगै उपत्यकामा पानीको सङ्कट निकै कम हुनेछ । खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो । त्यसको एक हप्तापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो । प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर–घरमा वितरण गर्न लागिएको हो ।

खानेपानी मन्त्रालय र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच गत माघ ७ गते सम्झौता भई त्यसको एक हप्तापछि (माघ १४ गतेदेखि) क्षतिग्रस्त आयोजनाको मर्मत र सफाइको काम सुरु भएको थियो । मन्त्रालय र कम्पनीबीच ९० दिनमा पूरा गर्नेगरी भएको सम्झौता निर्धारित समयभन्दा १५ दिनअगावै सम्पन्न भएको छ । कम्पनीले समयमै काम सम्पन्न गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत तीन चरण गरी २४सै घण्टा काम थालेको थियो ।
गोरखापत्र दैनिकबाट साभार।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्