यस्तो छ ललितपुरको गाउँदेखि सहरसम्मको चुनावी परिदृश्य – Janadesh Daily | ePaper

यस्तो छ ललितपुरको गाउँदेखि सहरसम्मको चुनावी परिदृश्य


सूर्य सुवेदी ।

ललितपुर । बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामध्ये एक जिल्ला हो ललितपुर । यो जिल्लाको केही क्षेत्रफलबाहेक अन्य भूभाग भौगोलिक हिसाबले विकट मानिन्छ । त्यही विकटताका कारण ललितपुरको दक्षिणी भेगलाई उपत्यकाको कर्णाली भन्ने गरिन्छ । यो जिल्ला राजनीतिक हिसाबले संघमा तीन क्षेत्र र प्रदेशमा ६ क्षेत्रहरु भएको जिल्ला हो । ललितपुरका ६ वटा स्थानीय तहहरुमध्ये एक महानगरपालिका, दुई वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेका छन् । तीन पालिका निकै सुगम र तीन पालिकाका दुर्गम भएकोले पनि ललितपुरको चुनावी परिदृश्यलाई निकै रोचक ढंगले हेरिन्छ ।

२०७४ को स्थानीय तहको नतिजा
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले एउटा महानगर, एउटा नगर र एउटा गाउँपालिका जितेको थियो । कांग्रेसले ललितपुर महानगर, गोदावारी नगरपालिका र बागमती गाउँपालिका जितेर पहिलो भएको हो ।

यस्तै नेकपा एमालेले एउटा नगरपालिका र एउटा गाउँपालिका जितेर दोस्रो भएको थियो । एमालेले महालक्ष्मी नगरपालिका र महाङ्काल गाउँपालिका जितेको थियो । यस्तै माओवादी केन्द्रले एउटा गाउँपालिका कोन्ज्योसोम मात्रै हात पारेको थियो ।

उपत्यकामा माओवादीले यहीँ एउटा पालिका मात्रै जित्न सकेको थियो र माओवादीको नाक जोगाउने पालिका भनेर पनि यसलाई चिनिन्छ । सरकारले २०७९ बैशाख ३० गते देशभरिका सम्पूर्ण स्थानीय तहको निर्वाचन तोकेको र बैशाख ११ र १२ गते मनोनयन दर्ता भएको कारण हरेक स्थानीय तहमा उमेदवार छान्ने र मनोनयन दर्ता गर्ने कार्य वैशाख १२ गते बेलुकी ५ बजेसम्म जारी रहनेछ । तर यो पटक २०७४ सालको जस्तो निर्वाचन हुने छैन र २०७४ को जस्तो मत परिणाम पनि आउने छैन । किनभने २०७४ सालमा केही स्थानीय तहमा पार्टीहरुले मोर्चाबन्दी गरेर निर्वाचन लडेका भए पनि अरु ठाउँमा एक्ला एक्लै प्रतिस्पर्धामा गएका थिए । तर यसपटक नेपाली कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धनले एमाले र उसँग चुनावी मोर्चामा रहेका गठबन्धनको विरुद्ध निर्वाचन लड्ने छ ।

ललितपुर जिल्लामा दुई ठुला दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा कुन पार्टी कुन स्थानीय तहमा निर्वाचन लड्ने भनेर स्थानीय तह बाँडफाड गरिसकेका छन । ६ स्थानीय तहमध्ये एक महानगरपालिका, एक नगरपालिका र दुई गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनले निर्वाचन लड्ने तय गरेको छ भने एक नगरपालिका र एक गाउँपालिकामा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन निर्वाचनमा जानेछ ।

गठबन्धनको भागबन्डा
ललितपुर जिल्लामा रहेका ६ वटा स्थानीय तह भागबन्डा गर्दा नेपाली कांग्रेसले ललितपुर महानगरपालिका, गोदावारी नगरपालिका, वागमती गाउँपालिका र महाङ्काल गाउँपालिका हात पारेको छ भने नेकपा (माओवादी केन्द्र) ले महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाको नेतृत्व पाएको छ ।

गठबन्धनको मतको अवस्था
स्थानीय निर्वाचन २०७४ को मत परिणामलाई केन्द्रमा राखेर ललितपुर जिल्लाका ६ स्थानीय तहको विश्लेषण गर्दा नेकपा एमालेले यो जिल्लाका कुनै पनि स्थानीय तह जित्ने आधार देखिदैन । २०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले पाएको मतलाई मात्रै जोड्दा पनि गठबन्धन एमालेभन्दा निक्कै धेरै मतान्तरले जित्ने देखिन्छ ।

गठबन्धन र एमालेको मतान्तर
ललितपुर महानगरपालिकामा गठबन्धनको मत ३५ हजार ३ सय तीन छ भने यो महानगरपालिकामा एमाले गठबन्धनभन्दा १० हजार ९ सय सतासी मतले पछि छ । उपमेयरमा गठबन्धन ३२ हजार ७ सय ९८, एमाले २२ हजार २ सय ५८ मतले पछि । २०७४ सालको निर्वाचनमा एमालेले राप्रपासँग मिलेर चुनाव लड्दा जम्मा २४ हजार ३ सय १६ मत प्राप्त गरेको थियो । उपमेयर पनि राप्रपासँग तालमेल गरेको थियो । कांग्रेसका उपमेयर पनि धेरै ठुलो मतान्तरले निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचन मत परिणामअनुसार गोदावारीको गठबन्धनको मत १९ हजार ४ सय ९०, एमाले ८ हजार ४ सय ३ मतले पछि, उपमेयरतर्फ गठबन्धनको मत १९ हजार १ सय ९२, एमाले ७ हजार ७ सय ९६ मतले पछि रहेको छ ।

बागमती गाउँपालिकामा गठबन्धन ५ हजार ३०, एमाले २ हजार ७ सय ७८ मतले पछि छ भने उपाध्यक्षमा गठबन्धन ४ हजार ८ सय ८१ र एमाले २ हजा ५ सय ४१ मतले पछि छ । त्यसैगरी कोन्ज्योसोम गाउँपालिकामा गठबन्धनको ३ हजार ५ सय ३० रहेको छ भने एमाले २ हजार ५२ मतले पछि रहेको छ । कोन्ज्योसोम उपाध्यक्षमा गठबन्धन ३ हजार ३ सय ७७, एमाले १ हजार ९ सय २० मतले पछि छ ।
महांकालमा गठबन्धन २ हजार ६ सय ५६ मत रहेको छ भने एमाले ५ सय ७६ मतले पछि छ । महांकालमै उपाध्यक्षको गठबन्धनतर्फ २ हजार ६७,

एमाले २ सय २६ मतले अघि रहेको छ।
महालक्ष्मीमा गठबन्धनको ११ हजार २ सय ५ मत रहेको छ भने एमाले ३ हजार ३ सय ४१ मतले पछि रहेको छ। महालक्ष्मीमा उपमेयरतर्फ गठबन्धन १० हजार ४ सय ९०, एमाले १ हजार ८ सय ५४ मतले पछि छ। २०७४ सालको निर्वाचन परिणामले देखाउँछ।

गठबन्धनले निर्वाचन जित्ने आधारहरु
गठबन्धनमा पाँच दलहरु भए पनि माथि उल्लेखित भएका तथ्यांकहरु नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले २०७४ को स्थानीय निर्वाचनमा पाएको मतको कुल संख्या र सग्लो एमाले हुँदा एमालेले पाएको मत संख्याको हिसाब मात्रै गरिएकोले गठबन्धनको मतान्तर एमालेसँग अरु धेरै बढ्ने छ । माथि उल्लेखित तथ्यांक निकाल्न हामीले २०७४ सालको निर्वाचनमा दुई दल माओवादी र कांग्रेसले पाएको मतलाई जोडी उक्त निर्वाचनमा एमालेले पाएको मत घटाउँदा आउने संख्यालाई मतान्तरको हिसाबले लिएका हौं ।

ललितपुर जिल्लामा गठबन्धनका अरु दलहरु जसपा, नेकपा (एकीकृत समाजवादी) को मत पनि गठबन्धनमा थपिदा ललितपुर जिल्लामा एमालेलाई आफ्नो बिरासत जोगाउन निक्कै हम्मे पर्ने देखिन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्