निर्वाचन आयोगद्वारा तीन राजनीतिक दल र नेतालाई सचेत – Janadesh Daily | ePaper

निर्वाचन आयोगद्वारा तीन राजनीतिक दल र नेतालाई सचेत


जनादेश, काठमाण्डौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनको विषयमा तीन राजनीतिक दललाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उजुरी परेको तीन सातापछि आयोगले सचेत गराउने निर्णय गरेको हो ।

आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनका घटनामा शुक्रबार बसेको आयोगको बैठकले सचेत गराउने निर्णय गरेको बताउनुभयो । आयोगले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब आइन्दा आचारसंहिता प्रतिकूल हुने कार्य नगर्न नगराउन निर्देशन दिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा सभा गरेको थियो । उक्त सभामा आचारसंहिताविपरीत झन्डा र बालबालिका प्रयोग गरेको आयोगको ठहर छ । नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसमेतको फोटो राखिएको चुनावी पोस्टर तयार गरी प्रचार प्रसार गरेको उजुरी परेको थियो । आयोगले उक्त कार्य निर्वाचन आयोग ऐन तथा निर्वाचन (कसुर तथा सजाय) ऐनविपरीत भएको ठहर गर्दै आचारसंहिताविपरीतका कार्य नगर्न नगराउन उक्त दललाई निर्देशन दिएको हो ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गते मकवानपुरको हेटौँडामा आयोजना गरेको कार्यक्रममा आचारसंहिता उल्लङ्घन गरेको उजुरी परेको थियो । उक्त उजुरीमाथि आयोगले छानबिन गर्दा कसुर ठहर गर्दै सचेत गराउने निर्णय गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य डा. शशाङ्क कोइरालाले निर्वाचन खर्चबारे दिनुभएको अभिव्यक्ति सार्वजनिक पदमा बसेको पदाधिकारीका लागि सुहाउने विषय नरहेको जनाएको छ । प्रतिनिधि सभा सदस्य डा. कोइरालाले निर्वाचनमा आफूले छ करोड रुपियाँ खर्च गरेको दिनुभएको अभिव्यक्तिबारे आयोगले छानबिन गरेको थियो ।

सांसद डा. कोइरालाले निर्वाचन आयोगमा बुझाउनुभएका विवरणमा २१ लाख ७५ हजार रुपियाँ खर्च भएको उल्लेख गर्नुभएको थियो । उहाँ नवलपरासी सुस्ता पूर्वबाट प्रतिनिधि सभा सदस्य चिर्वाचित हुनुहुन्छ । आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ । आयोगमा आचारसंहिता उल्लङ्घनसम्बन्धमा दसवटा उजुरी परेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्