पालिकाको प्रतिस्पर्धामा केही रोचक नतिजाः कतै भाग्य बलियो कतै जनमतले गर्‍यो कमाल – Janadesh Daily | ePaper

पालिकाको प्रतिस्पर्धामा केही रोचक नतिजाः कतै भाग्य बलियो कतै जनमतले गर्‍यो कमाल


जनादेश वाच।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। केही स्थानीय तहका नतिजा आइसकेका छन्। हिमाली क्षेत्रका कतिपय गाउँपालिकाहरूको मतगणना सम्पन्न भइसकेको छ। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको मतगणना जारी छ। मत परिणाम आउने क्रम जारी रहँदा केही रोचक परिणाम देखिएका छन्।

१) दुई मतले गाउँपालिका अध्यक्षमा हार-जित
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीका अनुसार लालचनले ७६० मत ल्याएका छन् भने एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्। उनीहरूबीच जित हारका लागि दुई मतको मात्र अन्तर भयो।

२) प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडा डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार पराजित भएका छन्। देउवाको वडामा नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन्। तर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ।

३) उपमेयरमा राप्रपा उम्मेदवारको १ मत मात्र
मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन्। उक्त गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार राप्रपाका ज्यामयाङ टासी गुरूङले जम्मा एक मत पाएका छन्।

४) १ मतको जित हार
काभ्रेको खानीखोला गाउँपालिकामा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सन्तमान थिङ विजयी भएका छन्। थिङले एमालेका आशाराम गोलेलाई १ भोटले हराएका हुन्। माओवादीका थिङले ५४८ मत ल्याउँदा एमालेका गोलेले ५४७ मत ल्याएका छन्। त्यस्तै गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले पनि आफ्ना प्रतिद्वन्द्वीलाई एक मतले हराउँदै वडाध्यक्ष विजयी भएका छन्। रेशमराजले माओवादी-एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई जम्मा एक मतले पछाडि पारेर विजयी भएका हुन्। रेशमराजले ७५६ मत प्राप्त गरेका छन् भने पराजित शोभाखरले ७५५ मत प्राप्त गरेका छन्।

५) भाइलाई हराउँदै दाजु वडाध्यक्षमा निर्वाचित
इलामको रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका मनोहरी खड्काले आफ्नै भाइलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार बनेका भाइ मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरी निर्वाचित भएका हुन्। मनोहरीले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन्। उनीहरू सहोदर दाजुभाइ हुन्।

६) गोला थुतेर वडाध्यक्षमा विजयी
रोल्पा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका देउचन घर्ती मगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच बराबर मत आएपछि गोलाप्रथा गरिएको छ। दुवै उम्मेदवारले ५४३/५४३ मत प्राप्त गरेका थिए। त्यसपछि गोलाप्रथा गर्दा प्रकाश डाँगी विजयी भएका छन्।

७) वडामा सबै स्वतन्त्र विजयी
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। स्वतन्त्र रूपमा उम्मेदवार बनेका सुन्दर ओलीले ५७७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष उम्मेदवार लक्ष्मण ओलीले ४१७ मत ल्याएका छन्। अरू चार जना सदस्यमा पनि स्वतन्त्र नै निर्वाचित भएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्