निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्ने आन्दोलन ढिलोचाँडो सुरु हुन्छ : दाहाल – Janadesh Daily | ePaper

निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्ने आन्दोलन ढिलोचाँडो सुरु हुन्छ : दाहाल


पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्ने आन्दोलन ढिलोचाँडो सुरु हुने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

May be an image of 11 people and indoor

पोखरामा शनिबार गण्डकी प्रदेशका स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताको अभिमूखीकरण कार्यक्रममा उनले निर्वाचन प्रणाली र शासकीय स्वरुप देश र जनताको हितमा नरहेको बताए ।

अहिले माओवादी केन्द्रबाहेक कांग्रेस, एमालेभित्रका नेताले पनि निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भएको, भ्रष्टाचार नै त्यहींबाट सुरु हुन्छ भन्ने बहस थालेको उनले बताए । ‘यो विषयमा संविधान बनाउने बेलामा नै रिजर्भेसन राखेर निर्वाचन प्रणाली, शासकीय स्वरुप र पहिचानको मुद्दा ठीक ढंगले सम्बोधन भएको छैन, आउने दिनमा यसको निम्ति फेरि हामीले संविधान संशोधन, परिमार्जन गर्न जरुरी छ भनेर संविधानसभामा लिखित नोट अफ डिसेन्ट लेख्ने पार्टी हामी नै हो,’ उनले कार्यकर्तालाई भने, ‘हामीलाई नैतिक, राजनीतिक अधिकार छ लडाइँ लड्ने । विकृत पुँजीवादी निर्वाचन प्रणाली बदल्ने र जनताको पक्षमा निर्वाचन प्रणाली बनाउने र शासकीय स्वरुप पनि जनताले फैसला गर्ने बनाउने लडाइँ हामीले ढिलोचाँडो लड्नु छ । दिमागमा राखिराख्नुहोला ।’

माओवादी केन्द्रको नेतृत्वमा यही टिम रहे लडाइँ छिट्टै सुरु हुने र त्यो लडाइँ आफ्नो पार्टीले जित्ने उनको दाबी थियो । ‘हामी माओवादी सिधासिधा कुरा गर्न र आन्दोलन गर्न सिपालु छौं । आन्दोलन, क्रान्ति गर्ने भनेपछि तपाईं/हामी सबैका आङ जिरिंग हुन्छ, जोश आउँछ । हिँडिहालौं, मरिहालौं जस्तो गर्नेका सन्तान पर्‍यौं हामी,’ उनले भने, ‘हामी जित्छौं । जित्ने मैले पक्का देखेको छु । जितियो भने हामी अर्को हाइटमा पुग्छौं ।’

May be an image of one or more people, people standing and indoor

उनले आगामी संसदीय निर्वाचनमा माओवादी केन्द्रलाई दोस्रो पार्टी बनाउने गरी तयारी थालेको बताए । प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अहंकार बढ्न नदिने गरी ठिक्क ठाउँमा राख्न गठबन्धनका दलबीच छलफल भइरहेको बताउँदै उनले त्यसो गर्दा माओवादी केन्द्र दोस्रो पार्टी हुने सम्भावना रहेको उल्लेख गरे । ‘माओवादी केन्द्र दोस्रो हुने भनेको कम्युनिस्ट आन्दोलनको पहिलो हुने हो । माओवादी केन्द्र पहिलो हुनेवित्तिकै हाम्रो नेतृत्वमा कम्युनिस्ट आन्दोलन पुनर्गठन हुन्छ,’ उनले भने, ‘एमालेका सबै यहीं हुन्छन् । त्यसपछि खुरुखुरु समाजवादको यात्रामा लिएर जान सकिन्छ ।’ स्थानीय तहको निर्वाचन परिणाम सोचेजस्तो नभए पनि माओवादी आन्दोलनको मुख्य शक्ति माओवादी केन्द्र नै भएको तथ्य स्थापित गरेको उनको भनाइ थियो ।

उनले माओवादी केन्द्रले जितेका १ सय २२ पालिकामा फागनु १ मा बिदा दिएर विशेष पर्वका रुपमा मनाउन सके जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रुपमा स्थापित गरेर देशैभरि बिदा दिन सरकारलाई दबाब दिन सकिने बताए । यो समाचार कान्तिपुरमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्