कसरी रोकियो एसपीपीः प्रचण्डले गरे यस्तो खुलासा – Janadesh Daily | ePaper

कसरी रोकियो एसपीपीः प्रचण्डले गरे यस्तो खुलासा


जनादेश, काठमाण्डौं। सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै जोडबलमा अमेरिकी सैन्य सम्झौता एसपीपीलाई गठबन्धन सरकारले अस्वीकार गरेको बताएका छन्। बिहीबार ललितपुरका जनप्रतिनिधिलाई दिइएको प्रशिक्षणलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

दाहालले एसपीपी सम्झौता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सन् २०१५ मा अघि बढाएको पनि दाबी गरे। ‘एसपीपी सम्झौता २०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेला, उनै रक्षामन्त्री पनि भएको बेलामा एउटा सहमति गरेर अघि बढेको थियो’, उनले भने, ‘एसपीपी नेपालमा त्यतिबेलै प्रवेश गरेको रहेछ भन्ने कुरा प्रष्ट भएको छ।’

उनले यसअघि रितबहादुर खड्काको स्मृति सभामा पनि आफूले यो कुरा बोलेको बताए। ‘सन् २०१९ मा केपी ओली नै प्रधानमन्त्री हुँदा आईपीएसबारे राष्ट्रघात गरेका थिए। त्यो कुरालाई सम्झिँदै त्यतिबेलै एसपीपी स्वीकृत भएको कुरा सम्झियौँ। केपी ओली ले नै राष्ट्रघात गरेको हो’, उनले भने, ‘उसैले राष्ट्रघात गरेको हो। तर उनले गठबन्धनले गरेका हुन् भनेका छन्।’

‘केपी ओली गुटका एकजनाले खण्डन गर्दै संसदमा प्रमाणित गर्न चुनौती दिएका थिए। तर दुई घण्टापछि पत्र नै फेला पर्यो’, उनले भने, ‘राष्ट्रघाती क्रियाकलाप सबै केपी ‌ओलीले नै गरेका हुन्। नेपाल सरकारको अनुमतिले नै यो चिठी लेखेको सेनाले भनेको छ। बोधार्थ रक्षा मन्त्रालय र गृहमन्त्रालयलाई दिएको छ। त्यो काम नेपाली जनतालाई सिल्ली ठान्ने बेइमानी हो।’

‘एमसीसी भन्दा एसपीपी अगाडि बढेर आएको छ। नेपाल कुनै पनि खालको सैन्य सम्झौतामा सहभागी हुँदैन। यदि यो सम्झौता गर्नु भयो भने देउवालाई गठबन्धन तोडिन्छ भनेको थिएँ’, उनले भने, ‘तर प्रधानमन्त्रीले बरु मर्न तयार छु तर यो सम्झौता गर्दिन भनेका हुन्।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्