समाजवाद र बामपन्थको वहसः शंकर पोखरेललाई जवाफ दिँदै प्रचण्डले दिएका केही सन्देश – Janadesh Daily | ePaper

समाजवाद र बामपन्थको वहसः शंकर पोखरेललाई जवाफ दिँदै प्रचण्डले दिएका केही सन्देश


जनादेश वाच।
ससोमबार ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वृहस्पति हलमा आयोजना गरिएको कार्यक्रमको शीर्षक थियो- नेपालमा समाजवाद चुनौती र सम्भावना। कम्युनिष्ट पार्टीका संस्थापक मध्येका नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित उक्त कार्यक्रमका वक्तामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कार्यक्रमको अध्यक्षता गरेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले।


दर्शकदीर्घामा सयजति सुन्ने स्रोता र दर्शक र नेता तथा कार्यकर्ता। दुईतिर फर्किएका एमाले, समाजवादी अनि माओवादीका नेताहरु मञ्चको एकै लहरमा थिए। रोचक त, झलनाथ खनालसँगै थिए शंकर पोखरेल। उनीहरुबीच छेडछाड, दोहोरी र प्रश्नको वर्षा हुने अनुमान थियो नै, त्यसमाथि समाजवादको विषयमा चासो राख्ने एमाले महासचिव पोखरेल आफैँ निम्त्याइएका थिए। नेताहरुले ठ्याक्कै नभने पनि भित्र भित्र नेकपा व्यूँताउने वा कम्युनिष्टबीच मोर्चा बनाउन माहोल बनाउनेगरी कार्यक्रमको डिजाइन गरिएको प्रष्ट देखिन्थ्यो।

पालो प्रचण्डको सन्देशको
प्रचण्ड बोल्ने समयसम्म आइपुग्दा केही नेता उठिसकेको देखेपछि प्रचण्डले आफू बोलेपछि हिँड्ने बानी हटाउनुपर्ने बताए। प्रचण्डले सुरुमै एमाले महासचिव शंकर पोखरेलको भनाई खण्डनबाट धारणा राख्न थाले। नेकपामा ओलीविरुद्ध १९ पृष्ठको दस्तावेज ल्याएको कुरालाई लिएर प्रचण्डले प्रश्न गरे, ‘आजभोलि केपी ओलीले जसलाई पनि त्यो १९ पृष्ठको दस्तावेजले खतम बनायो भन्नुहुन्छ। त्यो १९ पृष्ठको दस्तावेज कसले जन्मायो?’ तत्कालीन अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका रूपमा ओलीले गरेको व्यवहारका उक्त दस्तावेज ल्याउनुपरेको र त्यो सबैको भएको प्रचण्डले खुलासा गरे।

‘त्यो दस्तावेज झलनाथ, माधव, वामदेव गौतमको पनि हो। वामदेवजीले आजभोलि छ्यास्स केही भन्नुहुन्छ। अझ त्योभित्र लेखेको कुराको बढी सुझाव वामदेवजीको थियो। इतिहास र सच्चाइलाई आत्मसाथ गर्नुपर्छ,’ उनले भने,‘कम्युनिस्ट पार्टीभित्र यस्तै प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, संविधान विरोधी, संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीको कारणले हामीले बाध्य भएर सच्चाइ जनताको अगाडि ल्याउन परेको होइन?’

‘एसपीपीलाई खारेज गराउनेमा नेतृत्वदायी भूमिका पनि हामीले नै खेलेको हो। कसैले इन्कार गर्न सक्दैन, इन्कार गर्न हुँदैन। यो एसपीपी कहाँबाट आएको हो? केपी ओली नेतृत्वको सरकारले एसपीपी गरेर सैन्य गठबन्धनतिर लैजाने कामको सुरुवात गरेको हो। यसको जिम्मा उनले नै लिनपर्छ, हामी चाहिँ मान्दैनौं,’ उनले भने, ’एसपीपी खारेज गराइछाडिन्छ भन्ने मैले नै बोलेपछि चुनौती भएको थियो संसदमा। एमालेको एकजना नेताले चुनौती दिन्छु भनेको ४ घण्टापछि त प्रमाण आयो। त्यसपछि त्यो चुनौती पनि खत्तम भयो।’ स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै सरकारले अमेरिकालाई पत्र लेख्ने निर्णय शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हालै गरेको थियो। उक्त कार्यक्रमले नेपालमा विवाद ल्याएको छ।

शोधनान्तरका प्रणेता ओली-खतिवडा

प्रचण्डले केपी शर्मा ओलीको सरकारका कारण अहिले शोधनान्तर घाटाको स्थिति आएको बताएका छन् । प्रचण्डले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थमन्त्री युवराज खतिवडा भएको बताएका हुन् ।

देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेले परिवर्तन अनुरुपको ऐन, कानून निर्माण गर्न नचाहेको पनि बताए । ‘हाम्रो अगाडि उहाँले जो शोधनान्तर घाटाको कुरा गर्नुभयो, त्यो शोधनान्तर घाटाको आज जो स्थिति छ, त्यसको प्रणेता, त्यसको जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो, समाजवादको कुरा गर्ने, समाजवादतिर जाने कुरा गर्ने हामीले गरेको होइन ? वामपन्थीहरुको एकता, कम्युनिष्टहरुको एकताबाट स्थायित्व र समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला,’ प्रचण्डले भने, ‘जनतालाई प्रत्यक्ष राहत हामीले घोषणा पत्रमा जे भनेका थियौँ, त्यतैतिर जाला भनेर त्यो पहल गर्ने हाम्रो अगाडि, अझ मेरो अगाडि भन्छु म चाहिँ, त्यो पहलकर्ताको अगाडि बसेर उहाँले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ ? भन्न मिल्छ ?’

यस्तै, प्रचण्डले नेकपा एमालेका महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आफू वामपन्थी तथा कम्युनिष्ट एकताको पहलकर्ता रहेको बताउँदै बुर्जुवासँग मिलेर समाजवादको कुरा गरेको भन्न नमिल्ने टिप्पणी गरेका थिए । उनले विगतमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा एमसीसीको बारेमा अध्ययन गर्न आयोग बनाउने प्रस्ताव आफूले राखेको कुरा हेक्का राख्न आग्रह गरे । उनले एमसीसीलाई व्याव्यात्मक घोषणामार्फत पारित गरेको उल्लेख गर्दै एसपीपीलाई खारेज गराउन आफूहरुले नेतृत्वदायी भुमिका खेलेको दाबी गरे ।

उनले भने, ‘झलनाथ जीलाई म के सम्झाउन चाहान्छु भने एमसीसीबारे दस्तावेजीकरण गर्ने, पहिलो दस्तावेज लेख्ने मैले लेखेको हो, एमसीसीबारे अध्ययन गर्नुस् भनेर झलनाथ जीको नेतृत्वमा आयोग बनाउने प्रस्ताव मैले नै राखेको हो, झलनाथ जीलाई यो हेक्का होला, यो हेक्का रहोस्, यो हेक्का रहनु जरुरी छ, एसपीपीलाई खारेज गराउनेमा नेतृत्वको भुमिका हामीले नै खेलेको हो ।’ उनले कम्युनिष्ट हरेक विषयको वैज्ञानिक ढंगले विश्लेषण, संश्लेषण गर्न सक्षम हुने बताउँदै कम्युनिष्टहरु बिग्रिए कुहिएको अण्डाजस्तै हुने टिप्पणी गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्