प्रचण्ड उद्घोषको दश दिनमै विप्लव समूहका प्रभावशालीहरू माओवादीमा, अझै बढ्ने निश्चित – Janadesh Daily | ePaper

प्रचण्ड उद्घोषको दश दिनमै विप्लव समूहका प्रभावशालीहरू माओवादीमा, अझै बढ्ने निश्चित


जनादेश वाच।
असार ५ गते आइतबार आयोजित माओवादी केन्द्रसम्वद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिको बैठकमा पनि माओवादी केन्द्रका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीबीच एकता जरुरी रहेको र पूर्वमाओवादीहरुबीच ‘एकताको वातावरण निर्माण भइसकेको’ दाबी गरेका थिए। उनले भनेका, ‘एकता र विभाजनको श्रृङ्खला पार गरेर हामी यहाँसम्म आइपुगेका छौँ, सबै पूर्वमाओवादीहरु एकठाउँमा आउने वातावरण बनेको छ। विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ, छिट्टै कुरा टुङ्गोमा पुग्दैछ।’

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेका ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता प्रचण्डले उक्त उद्घोष गरेको १० दिन नवित्दै नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।

प्रचण्ड उद्घोषको १० औं दिन पछि अर्थात् आज बुधवार नेता पुनसँगै विप्लवको पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियार माओवादीमा प्रवेशको औपचारिक घोषणा गरिँदै छ। गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए । त्यसवीचमा उनीहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग वार्ता गरेका थिए । पुनसहितका नेताहरू पार्टी कार्यालय पेरिसडाडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर माओवादी केन्द्र प्रवेश गर्न लागेका हुन् ।

‘पूर्वमाओवादीहरुबीच छिट्टै एकता हुने’ संकेत गरेका प्रचण्डले पूर्वसहकर्मी बाबुराम भट्टराईसँग पनि बैठक र छलफल गरेका थिए। आगामी कार्तिक–मंसिरमा हुने आम निर्वाचनलाई मध्यनजर गर्दै ‘समाजवादी केन्द्र’ निर्माणको प्रयास पनि चलिरहेको छ।

विप्लवको अररो शर्त
विप्लवले संसदीय व्यवस्था र अलिहेको संविधानको विकल्प खोजे मात्रै पूर्व माओवादीहरुबीच एकता हुने बताएका छन्। गत साता अछाममा आयोजित कार्यक्रममा विप्लवले आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि त्यही भनेको जानकारी दिए। प्रचण्ड कमरेडलाई मैले के भनेको छु भने तपाईं पुरानो ठाउँबाट फर्किनुपर्छ,’उनको भनाइ थियो, ‘अथवा संसदीय व्यवस्था नै ठिक हो, यही संविधान ठिक हो भन्ने कुरामा हाम्रो सहमति छैन । यो भन्दा राम्रो विकल्प खोज्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने हो भने एकता हुन सक्छ ।’

यसअघि नेपाल कम्युनिष्ट पार्टी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव विप्लवले पश्चगामी नभई क्रान्तिकारी सोचको आधारमा कम्युनिष्ट पार्टीबीच एकता र सहकार्य हुन सक्ने बताएका थिए । विप्लवले भनेका थिए, ‘एकदिन कम्युनिष्ट एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने हुनसक्छ ।’ विप्लवले विश्वमा पनि कम्युनिष्ट कम नभएको तर आपसमा नमिलेर कम देखिएको बताएका थिए।

तर आगामी निर्वाचनसम्म विप्लव समूहका धेरै नेताहरू प्रचण्डसँग फर्किने सम्भावना बढिरहेको छ। विप्लव पार्टीमा कमजोर हुँदै गएका छन् भने उनीसँगबाट एउटा समूह छुट्टिइसकेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्