अबको २४ घण्टा खतरापूर्णः भारी वर्षा, बाढी र डुबानको डर, भारतले धौलीगंगाको बाँध खोल्दै – Janadesh Daily | ePaper

अबको २४ घण्टा खतरापूर्णः भारी वर्षा, बाढी र डुबानको डर, भारतले धौलीगंगाको बाँध खोल्दै


जनादेश वेदर।

आगामी चौबीस घण्टा देशका धेरै स्थानमा पानी पर्ने भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहँदा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ । जसका कारण मनसुन थप सक्रिय भएको छ । विभागका अनुसार आज बिहान देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको छ । आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

महाकाली तटीय क्षेत्रमा सतर्कता
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ । आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको कार्य हुने बताइएको छ ।

उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको छ । जसलेगर्दा महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले वर्षाका कारण र भारतीय पक्षबाट बाँधको ढोका खोलिँदा एक्कासी पानीको बहाव बढ्न सक्ने जनाएको छ । महाशाखाले पनि तटीय क्षेत्रमा बिहान ५ बजेदेखि सतर्कता अपनाउन आग्रह गरेको छ ।

सडक अवरुद्ध
अविरल बर्षाका कारण बुधवार ४८ ठाउँमा विपद्का घटना भएका छन् । सबैभन्दा धेरै सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बर्षापछि गएको पहिरोका कारण धनकुटाको धनकुटा नगरपालिका–९ सिम्सुवास्थित मुलघाटबाट त्रिवेणी जाने भित्री कच्ची सडक अवरुद्ध छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोडा र वडा नम्बर–९ मा ज्यामिरे खोलाको बाढीका कारण मदन भण्डारी लोकमार्ग अवरुद्ध भएको छ । त्यस्तै कटारी नगरपालिका–१४ वन डाँडास्थित सिद्धिचरण राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । उता, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ मा बुङबाट सोताङ जाने सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

यसैगरी दार्चुलाको महाकाली नगरपालिका–७ धाप असिगडास्थित गोकुलेश्वर हाइवे पनि बर्षाका कारण माथिबाट बगेर आएको माटो जम्मा भएर अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ ग्वानीमा खोलाले बगाएर ल्याएको ढुंगा र माटो सडकमा थुप्रिएर बाटो अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ ब्रम्हानन्द खोलास्थित चतरा–बराहक्षेत्रको भित्री सडक पनि बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको छ । त्यसैगरी सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ स्थित बिपी राजमार्ग पनि पहिरो खसेर अवरुद्ध भएको छ । कमलामाई नगरपालिका–९ सुके खोला र चोर खोलाको बहाव बढेर बिपी राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै सुनकोशी गाउँपालिका–१ स्थित घ्याम्पे खोलामा बहाव बढेर विपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

यता, पाल्पाको रिब्दीकोट गाउँपालिका–२ स्थित तानसेन–रिडी पक्की सडक माथिबाट ढुंगा झरेर अवरुद्ध भएको छ । तानसेन नगरपािलका–१४ रिडीस्थित तानसेन रिडी पक्की सडक पहिरोका कारण अवरुद्ध भएको हो । त्यस्तै बगनासकाली गाउँपालिका–५ सेरा र रम्भा गाउँपालिका–३ जामुनेमा पर्ने सिद्धार्थ राजमार्ग ढुंगा सहितको लेदो खसेर अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ कालीमाटीस्थित सिद्धार्थ राजमार्ग पनि ढुंगा सहितको लेदो खसेर अवरुद्ध भएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–११ धरादी खोला स्थित सिद्धार्थ राजमार्ग पहिरोका कारण पुर्ण रुपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ जंगारेस्थित नौबिसे बलेफी भित्री सडक खण्ड पहिरोका कारण अवरुद्ध भयो ।

त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भन्ज्याङस्थित भीमफेदी कुलेखानी सिस्नेरी–काठमाडौं सडकमा पहिरो खसेको छ भने मनाङको नासो गाउँपालिका–१ ता म्यादिभिरस्थित चामे बेशीसहर सडकखण्डमा माथिबाट ढुंगा खसेको छ । त्यस्तै रामेछापको मन्थली नगरपालिका–२ स्थित बान्द्रे मन्थली चरिकोट सडक खण्ड पहिरोका कारण अवरुद्ध भयो ।

मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ र नवलपरासी (पूर्व)मा पनि राजमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नवलपरासी(पूर्व)को बिनयत्रिवेणी गाउँपालिका–१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठुलो खहरे र सानो खहरे खोलामा ३ वटा डाइभर्सन बगाएको छ । तीनवटा डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुधवार बिहानदेखि अवरुद्ध सडक (केही बाहेक) अधिकांश सुचारु भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताए । ‘बर्षाका कारण धेरै सडकमा क्षति पुगेको छ’ उनले भने–‘तर, अहिले अधिकांश सडक खुलेका छन् ।’

प्युठानको सरुमारानी गाउँपालिका–४ अँधेरी खोला र पाँकुरी खोलामा आएको लेदो सहितको पहिरोका कारण प्यूठान भालुवाङ सडकखण्ड अवरुद्ध भएको थियो । धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्ग अवरुद्ध भयो । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरास्थित पृथ्वी राजमार्ग पनि अवरुद्ध भयो ।

गृह मन्त्रालयमा प्रतिकार्य बैठक
अविरल वर्षासँगै प्राकृतिक विपद् शुरु भएपछि गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयमा बैठक डाकेका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा गृहमन्त्री खाणले एकीकृत प्रयासबाट मात्र विपद्को सामना गर्न सकिने बताए । मन्त्रीले जीउधनको रक्षा सरकारको मुख्य रहेको भन्दै चुनौती सामना गरेर मनसुनको प्रतिकार्य योजना अघि बढाउन निर्देशन दिएका छन् । बैठकमा सड्क, खानेपानी, सञ्चार, स्वास्थ्य र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी सहभागी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्