कांग्रेसमा फेरि किचलोः देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला समूहको बैठक आह्वान – Janadesh Daily | ePaper

कांग्रेसमा फेरि किचलोः देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला समूहको बैठक आह्वान


जनादेश वाच।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा महत्वपूर्ण निर्णयमा एकलौटी रुपमा अगाडि बढेको देखेपछि देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । डा. कोइरालाको सचिवालयबाट नेताहरूलाई बिहीबारको बैठकका लागि फोनमार्फत् बोलाइएको छ ।

बिहीबार दिउँसो आफ्नो सम्पर्क कार्यालयमा कोइरालाले बैठक राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार सभापति देउवाले एक उपसभापतिलाई कुनै भूमिका नदिने र अर्को उपसभापतिलाई महत्वपूर्ण जिम्मेवारी दिने तथा भ्रातृ संगठनमा एकलौटी निर्णय गरेपछि डा. कोइरालाले काउन्टर रणनीति बनाउन आफू निकट पदाधिकारी, केन्द्रीय सदस्य तथा केन्द्रीय सदस्यको उम्मेदवार रहेका प्रभावशाली नेताहरूको बैठक बोलाएका हुन् ।

सभापति देउवाले आफू निकट उपभापति पूर्णबहादुर खड्कालाई पार्टीको सबैभन्दा महत्वपूर्ण मानिएको नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका छन् । अर्का उपसभापति धनराज गुरुङलाई भने कुनै भूमिका दिएका छैनन् । यस्तै हालै पार्टीको किसान संघ र आदिवासी जनजाती संघमा पनि आफू निकटलाई मनोनयन गरेका छन् । यी महत्वपूर्ण निर्णय गर्दा देउवाले अर्को समूहसँग कुनै परामर्श नगरेपछि कोइराला समूह काउन्टर रणनीति बनाउन लागेको हो ।

एक केन्द्रीय सदस्यले भने, ‘चुनावी गठबन्धनको विषयमा पनि छलफल हुन्छ । सभापति एकलौटी रुपमा अगाडि बढेकाले हामी कसरी अगाडि जाने भन्ने रणनीति बनाउन बैठक बोलाइएको हो ।’ बैठकमा स्थानीय तह चुनावको समीक्षा पनि हुने उनले जानकारी दिए ।

गठबन्धन विरोधी भनेर चिनिएको यो समूह आगामी निर्वाचनमा पनि गठबन्धन गर्न नहुने पक्षमा छ । एक केन्द्रीय सदस्यले भने, ‘हामी गठबन्धन विरोधी भनेर चिनिएका छौँ । आगामी चुनावमा पनि गठबन्धन गर्न नहुने पक्षमा हाम्रो मत छ । यो विषयमा पनि छलफल हुन्छ ।’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्