बामदेवको रहरदेखि प्रचण्डको दृढतासम्मः फेरि बाम एकता वा चुनावी तालमेलको सम्भावना कति ! – Janadesh Daily | ePaper

बामदेवको रहरदेखि प्रचण्डको दृढतासम्मः फेरि बाम एकता वा चुनावी तालमेलको सम्भावना कति !


जनादेश वाच।

एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएपछिबनेको नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतको फैसलासँगै एकताअघिको अवस्थामा फर्किइपछि मूल घर नर्फिएर तटस्थ बस्दै आएका वामदेव गौतमले अन्ततः आफ्नै नेतृत्वमा ‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ नामक पार्टीलाई जन्म दिएका छन्।

नेकपा विभाजनपछि छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधर भेला गर्दै आएका थिए। नेकपालाई सिंगो बनाउने अविराम प्रयत्न गरे पनि एकीकरण हुने अवस्था नबनेपछि वामदेवले नयाँ दल खोलेका हुन्।

गौतमले घोषणा गरेको दलको मुख्य उद्देश्यचाहिँ चोइटिएर झिनामसिना भएका कम्युनिस्टहरूलाई एक ठाम ल्याउनु रहेको छ। गौतम आफैंले एमाले र माओवादी केन्द्रका नेताहरूलाई पार्टीमा भंगालो नपार्न बारम्बार आग्रह गरेका पनि थिए। तर उनको प्रयासले सफलता पाउन सकेन। तर अब फेरि बामदेवले आफ्नो बाम रहर पुनः व्यूँताएका छन्।

सबैतिरबाट पहल
नेकपा एकीकृत समाजवादीको मंगलबार सम्पन्न पहिलो केन्द्रीय परिषद् बैठकले वामपन्थी शक्तिहरुलाई एक हुन आह्वान गरेको छ। समाजवादीले कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वानसहितको १७ बुँदे प्रस्ताव पारित गरेको छ।

एकीकृत समाजवादीको प्रस्तावमा भनिएको छ– ‘समाजवादी कार्यदिशा अंगालेका सम्पूर्ण वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, संघीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाको लागि एकतावद्ध हुन यो बैठक आग्रह गर्दछ।’

नेकपा एमालेसँग संवाद र एकताका लागि समाजवादीको दुई शर्त छन्। शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले हालको पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकतामा राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेसँगै एमालेसँगको सहकार्य वा गठबन्धनका लागि यी उसले दुई शर्त अघि सारेको हो। केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले संवाद सुरु गर्नका लागि राजनीतिक र कानुनी रुपमा एमालेले आफ्नो पार्टीको अस्तित्व स्वीकार गर्नुपर्ने र संसद् विघटनको बारेमा मन्थन गर्न तयार हुनुपर्ने बताएका थिए।

समाजवादीले यस्तो संकेत गरेपछि एमालेले पनि ‘ग्रिन सिग्नल’ दिएको छ। एमाले महासचिव शंकर पोखरेलले एमालेसँग वार्ता गर्नको लागि ढोका खुला रहेको बताएका छन्। चुनावबाट म्यान्डेट पाएपछि समाजवादीसँगको पानी बाराबारको स्थिति अन्त्य भएको टिप्पणी उनले गरेका छन्।

कम्युनिस्ट घटकहरु एक भएर चुनावमा जानुपर्ने भन्दै भित्रभित्रै छलफल गरिरहेका छन्। आन्तरिक रुपमा गरिएका यस्ता छलफलले कतै ०७४ सालकै ‘सरप्राइज’ यसपटक दोहोरिने हो कि भन्ने आशंका भइरहेको छ।

यता नेकपा माओवादी केन्द्रभित्र पनि वाम एकताको लागि लबिङ सुरु भएको देखिन्छ। गएको जेठ ३० गते माओवादीका नेता नारायणकाजी श्रेष्ठले एकैदिन बिहान माधव नेपालसँग र बेलुकी केपी शर्मा ओलीसँग छलफल गरेका थिए। वर्तमान राजनीतिक नेतृत्वमध्येमा एकअर्काप्रति अलि गरम देखिएका यी दुई नेतालाई माओवादीको तर्फबाट श्रेष्ठले भेट गरेका थिए। यसबाट उनले ओली र नेपालबीच सम्बन्ध सेतुको काम गरिरहेको देखिन्छ।

त्यस्तै, गएको जेठ २८ गते माओवादी केन्द्रका नेता वर्षमान पुन र एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि भेटघाट गरेका थिए। खुमलटारमा भएको उक्त भेटको मुख्य एजेण्डा नै वाम गठबन्धन रहेको पुन निकट नेताहरु बताउँछन्। जेठ ५ गते पनि माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच भेटवार्ता भएको थियो। सिंहदरबारस्थित मन्त्री भुसालको कार्यकक्षमा भएको भेटमा पनि ‘वाम गठबन्धनको अपरिहार्यता’बारे छलफल भएको बताइएको छ।

स्थानीय तह निर्वाचनमा केही तहमा भएको जस्तो धोकाधडी अबको संसदीय नदोहोरिओस् भन्नेमा समाजवादी र माओवादी दुवै सचेत देखिन्छन्। चुनाव लगत्तै कांग्रेसले धोका दिएको दाबी गरेका यी पार्टीले संघ र प्रदेशमा पनि चुनावी परिणाम फरक पर्ने देखेको छ। त्यसैले यस्ता विषयमा सचेतता अपनाउन प्रचण्डलाई पार्टी भित्रैबाट दबाबसमेत दिइरहेको माओवादीका एक नेताले बताए।

एमालेमा प्रचण्डले रोपेको विऊ
प्रचण्डले तत्कालीन नेकपाको तीन वर्षमा एमालेभित्र आफूले बीउ रोपेको भन्दै चाँडै नै त्यहाँभित्र पनि माओवादी विचार फल्ने दाबी गरेका छन् । बुधबार पेरिसडाँडामा विप्लव नेतृत्वको नेकपाका नेताहरूलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वका कारणमात्र अहिले एमालेमा आफूले रोपेको बीउ फक्रिन नपाएको बताए ।

प्रचण्डले भने, ‘तीन वर्षको मेरो अनुभवले भन्छ, हामीले हाम्रो बीउ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि फुल्छ फल्छ । एमालेभित्र पनि हजारौं क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारणमात्र हो । त्यहाँ पनि नसकिएको होइन । त्यसैले माओवादीहरूमात्र मिलेर हुन्न, अन्य वामपन्थीहरू पनि मिलाउनुपर्छ ।’ प्रचण्डले आफू भावुक र उदार स्वभावको रहेको भन्दै माओवादीमा बसेकाहरूलाई भन्दा बाहिर गएर आएकालाई बढी अवसर र जिम्मेवारी दिएको बताए । छाडेर फर्केकालाई महासचिव र गृहमन्त्री बनाउँदा अहिले कहाँ-कहाँ पुगेको भन्दै उनले बादलको आलोचना समेत गरे ।

यसरी कम्युनिस्ट घटकहरु एक भएर चुनावमा जानुपर्ने भन्दै भित्रभित्रै छलफल गरिरहेका छन्। आन्तरिक रुपमा गरिएका यस्ता छलफलले कतै ०७४ सालकै ‘सरप्राइज’ यसपटक पनि ‘वाम गठबन्धन’ले दोहोर्याउने त हैन भन्ने अनुमान बढिरहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्