राजनीतिक विरक्तिको चरणमा पुगेका बाबुरामः अबको एक मात्र विकल्प प्रचण्डसँग पुनर्मिलन – Janadesh Daily | ePaper

राजनीतिक विरक्तिको चरणमा पुगेका बाबुरामः अबको एक मात्र विकल्प प्रचण्डसँग पुनर्मिलन


जनादेश वाच।

जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद नयाँ होइन। पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो। अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद अझै चुलिएको छ। यही विवादले दुई अध्यक्षलाई अलगअलग बाटोमा हिँड्ने अवस्थासम्म पुर्‍याएको छ।

संघीय परिषद् अध्यक्ष डा भट्टराईले आ–आफ्नो बाटो लाग्नेगरी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् । दुई नेताबीच पछिल्लो समय अविश्वास बढ्दै गएको छ भने यही बीचमा भट्टराई र यादव आ–आफ्नो बाटो लाग्न लागेका हुन् । स्रोतका अनुसार भट्टराईले उपेन्द्रको पार्टीबाट आफ्ना निकटहरुलाई लिएर अर्कै बाटो लाग्ने तयारीमा पुगेका हुन् । तर, उनी अब कसरी अघि बढ्छन् भन्नेबारे चाहिँ खुलिसकेको छैन ।

बाबुरामले माओवादी छोडेपछि नयाँ शक्ति नेपाल पार्टीबाट समाजवादी पार्टी नेपाल हुँदै जसपासम्म पुग्दा राजनीतिक रूपमा विरक्ति पैदा हुने चरणहरू पूरा गरिसकेका छन् । स्थानीय तह चुनावअघि एमालेसँग एकताका विषयमा छलफल समेत चलाएका बाबुरामले गृह पालिका पालुङ्टारमा काँग्रेस र माओवादी केन्द्रले साथ नदिएपछि एमालेसँग सहकार्य गर्न पुगेका थिए । अन्त्यमा माओवादीले जितेपछि बाबुराम एमालेसँग दीर्घकालिन रूपमा सहकार्य गर्न चाहेको पनि एमालेभित्र आफ्नो अवस्था अनिश्चित बन्दा उनी रोकिएका थिए।

यहीबीचमा भट्टराईले बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । करिब एक घण्टा दुई नेताबीच वार्ता भएको प्रचण्डको सचिवालय स्रोतले पुष्टि गरेको छ। उपराष्ट्रपति निवासमा प्रचण्डले यसअघि पनि बाबुरामसँग छलफल गरेका थिए । प्रचण्डले भट्टराईलाई माओवादीमै भित्र्याउन खोजिरहेका भए पनि भट्टराईको इगोले त्यसो गर्न दिएको छैन।

जसपाबाट बाबुराम निस्कने निश्चित भएपछि प्रचण्ड समाजवादी केन्द्र बनाउने गरी भए पनि बाबुरामलाई समेट्ने योजनामा छन् । बाबुराम अहिलेकै माओवादी केन्द्रमा नफर्किने देखेपछि प्रचण्ड समाजवादी केन्द्रबाट उनलाई जोड्ने प्रयासमा लागेका हुन् । यही विषयमा प्रचण्डले बाबुरामसँग उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा निरन्तर भेट्दै आएका हुन् । विहीबारको भेटमा बाबुराम माओवादीको नाम परिवर्तन वा नयाँ पार्टीका नाममा सहकार्यका लागि तयार रहेको घुमाउरो संकेत दिएको स्रोतले बताएको छ। तर प्रचण्ड र बाबुरामले एकले अर्कालाई राम्रोसँग बुझेकाले समाजवादी केन्द्र अहिले नै बन्न सक्ने अवस्था नरहेको र दुई नेताबीचको ‘इगो’ ले उनीहरुलाई एक ठाउँमा ल्याउने अवस्था नभएको माओवादी केन्द्रका नेताहरूको भनाई छ। भट्टराईनिकट स्रोतले पनि उनी माओवादीमा नफर्किने दाबी गरेको छ।

प्रचण्डसँग पुनर्मिलन एक मात्र विकल्प
तत्कालीन एकीकृत माओवादीलाई भत्किएको ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाबुराम अलग्गिएका थिए । त्यसको ८ महिनापछि ३० जेठ २०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे । ‘घर’ मात्रै भत्किएको थिएन उनको बहिर्गमनसँगै प्रचण्ड र बाबुरामको मन पनि कुँडिएको थियो ।

गत वर्ष बाबुरामको पुस्तक पुस्तक ‘गुमनाम आमाहरूका कथा’ विमोचन कार्यक्रमबाट प्रचण्डले बाबुराम-प्रचण्ड चाहेर पनि अलग हुन नसक्ने धारणा राखेका थिए । अहिलेको परिस्थितिले एकै ठाउँमा आउन प्रेरित गरेको प्रचण्डको बुझाइ र आग्रह थियो । ‘हामीलाई सहिद परिवारले अलग हुन्न दिन्नन्, बेपत्ता योद्धाहरूले अलग हुन दिन्नन् । हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हुन्छ, हामी एकैठाउँमा हुनुपर्छ, सबै दृष्टिकोणले हामीलाई त्यसका लागि प्रेरित गरेको छ,’ प्रचण्डले भनेका थिए।


बाबुरामले त्यस आग्रहलाई सकारात्मक त भनेका थिए त र सम्भावनको गतिलो संकेत भने देखाएका थिएनन् । प्रचण्डलाई जवाफ दिँदै भट्टराईले भनेका थिए, ‘मैले माओवादी परित्याग गर्नुको अर्थ माओवादी आन्दोलन परित्याग गरेको भन्ने होइन।’

नेता भट्टराईले जनयुद्धको कार्यभार पूरा भएपछि आन्दोलनलाई परिमार्जन गरौँ भन्ने आफ्नो प्रस्तावमा प्रचण्ड सहमत हुन नसक्दा बाहिरिनुपर्ने परिस्थित आएको दावी पनि गरेका थिए। ‘जनयुद्धको कार्यभार पूरा भएपछि आन्दोलनाई परिमार्जन गरौँ । बाटो र विचारको विकास गरौँ भन्ने मेरो अवधारणा थियो । यसमा सहमति जुट्न नसकेपछि मलगायत केही साथीहरू अलग्गिएका हौँ,’ भट्टराईले भने । एकैठाउँमा आउन प्रचण्डले गरेको आग्रहलाई उनले सकारात्मक भनेका थिए। ‘माओवादी आन्दोलनमा लागेकाहरू एकैठाउँमा हुनुपर्छ भन्ने धारणालाई म सम्मान गर्न चाहान्छु।’

विश्लेषकहरूले अब राजनीतिक विरक्तिको चरणमा पुगेका बाबुरामको एक मात्र विकल्प प्रचण्डसँग पुनर्मिलन भएको बताएका छन्। तर यसले वास्तविक स्वरूप पाउँछ कि पाउँदैन त्यो भने हेर्न बाँकी छ।

 

 

 

 

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्