युद्ध लम्ब्याउने चाहानाः पश्चिमा मुलुकले कस्ता हतियार पठाउँदैछन् युक्रेनमा, यी हुन् घातक हतियार – Janadesh Daily | ePaper

युद्ध लम्ब्याउने चाहानाः पश्चिमा मुलुकले कस्ता हतियार पठाउँदैछन् युक्रेनमा, यी हुन् घातक हतियार


जनादेश अन्तर्राष्ट्रिय वाच।
युक्रेनले रुसको आक्रमणको प्रतिकार गर्न आफूहरुलाई थप हतियार चाहिएको भन्दै पश्चिमा मुलुकहरुसँग सोको माग गरिरहेको छ। ‘तोपगोलामा रुसको हात माथिबाट छ, त्यसलाई हामीले तोड्नै पर्छ। हामीलाई धेरै नयाँ हतियार प्रणाली चाहिएको छ,’ यसैहप्ता नेटो बैठकमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भने। आफूहरुले रुसलाई हराउने हतियार नपाए भविष्यमा नेटो मुलुकले आफैँ रुससँग युद्ध लड्नुपर्ने दिन आउने चेतावनी पनि उनले थिए।

हालसम्म ३० भन्दा बढी मुलुकले युक्रेनलाई विशाल मात्रामा युद्धसामग्री दिइसकेका छन्। तर, भारी हतियार भने कमै दिएका छन्।

कसले दियो सबैभन्दा बढी?
सबैभन्दा बढी अमेरिकाले युक्रेनलाई हतियार दिने बाचा गरेको छ। दोस्रो र तेस्रोमा बेलायत र पोल्यान्ड छन्। हालसम्म अमेरिकाले ६.३ अर्ब डलरको हतियार दिइसकेको जनाइएको छ। बेलायतले १.६ अर्ब दिइसकेको छ भने १.२ अर्बको हतियार दिने क्रममा छ। त्यसपछि जर्मनी, क्यानडा, नर्वे, चेक रिपब्लिक, ग्रिस, एस्टोनिया, लाट्भिया, अस्ट्रेलिया, स्विडेन, फ्रान्स, डेनमार्क र इटली छन्। जेलेन्स्कीले युद्धका लागि मासिक ५ अर्ब डलर खर्च हुने बताएका छन्।

कस्ता हतियार दिइँदै छन्?
सैन्य विज्ञहरु युद्धमैदानमा सफलताका लागि कुनै एक मात्र हतियार नभई अनेकौँ किसिमका हतियार आवश्यक पर्ने बताउँछन्। तालिम, पार्टपुर्जा र अन्य सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन आउँछन्।

 ‘कुनै एक हतियारले जादु गर्न सक्दैन,’ अमेरिकी सेनाका ज्वइन्ट चिफ्स अफ स्टाफ मार्क मिलीले भनेका छन्।

तर, अहिलेसम्म युद्धमा महत्वपूर्ण भूमिका खेलेका हतियार यस्ता छन्ः

लङ रेन्ज रकेट
युक्रेनको पूर्वी हिस्सा रुसको सघन बमबारीमा रहँदै आएकाले उसलाई आफ्नो मोर्चा सम्हाल्नका लागि लामो दुरीमा प्रहार गर्न सक्ने हतियार आवश्यक रहेको बताइन्छ। हालसम्म अमेरिका, बेलायत र जर्मनीले करिब १० वटा लामो दुरीमा प्रहार गर्न सक्ने मल्टिपल रकेट लन्चर युक्रेनलाई दिइसकेका छन्। पछिल्लो समय अमेरिकाले युक्रेनलाई एम १४२ हाइ मोबिलिटी आर्टिलरी रकेट सिस्टम (हाइमार्स) दिएको छ। यसका ७० किलोमिटर टाढा प्रहार गर्न सक्ने गोला पनि युक्रेनलाई इिएको छ।


जुन रुसले प्रयोग गरिरहेको लामो दुरीको रकेटबराबरी हो। रुसको स्मर्च सिस्टमले पनि ७० किलोमिटर टाढा प्रहार गर्न सक्छ। तर, स्मर्चभन्दा हाइमार्सको निसाना अचुक हुन्छ।

तोप
अस्ट्रेलिया, क्यानडा र अमेरिकाले १ सय वटाभन्दा बढी एम७७७ तोप र त्यसका तीन लाखभन्दा बढी गोला युक्रेन पठाएका छन्। यो तोपले ४० किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ। ४.२ टनको यो तोप चलाउन ८ जना सैनिक आवश्यक पर्छ। रुसको जियाटसिन्ट–बीले पनि यति नै टाढा प्रहार गर्न सक्छ। युक्रेनले वार्सा सन्धिअनुसार निर्मित १५२ एमएमको गोला प्रयोग गर्दै आएको थियो। तर, युद्धमा अभाव हुन थालेपछि युक्रेनले अहिले नेटो निर्मित १५५ एमएमको गोला प्रयोग गर्न थालेको छ।

एन्टी–ट्यांक हतियार
काँधमा राखेर प्रहार गर्न मिल्ने कम्तीमा ५ हजार एन्टी ट्यांक हतियार एनएलएडब्ल्यू युक्रेनलाई दिइएको छ। यो हतियारले ८ सय मिटर टाढासम्मको ट्यांक ध्वस्त पार्न सक्छ। युद्धको सुरुवाती चरणमा राजधानी किभवरिपरिको रुसी आक्रमणलाई निस्तेज पार्न सो हतियार महत्वपूर्ण रहेको बताइन्छ।

ट्यांक
पोल्यान्ड र चेक रिपब्लिकबाट युक्रेनले २३० वटाभन्दा बढी ट्यांक प्राप्त गरिसकेको छ। युक्रेनको सेनाले टी–७२ ट्यांक दशकौँदेखि प्रयोग गर्दै आएको छ। ४६ टन तौल हुने यो ट्यांक अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गतिले दौडिन सक्छ भने ४ किलोमिटर टाढासम्म यसले गोला प्रहार गर्न सक्छ। जसलाई चलाउन तीन जना आवश्यक पर्छन्।

ड्रोन
युक्रेन युद्धमा ड्रोन निकै प्रयोग भएको छ। निगरानी, बम प्रहारका लागि यसको प्रयोग हुन्छ। टर्कीले बाइरख्तार ड्रोन युक्रेनलाई बेच्नुका साथै केही दानमा पनि दिएको छ। अधिकतम प्रतिघण्टा २२० किलोमिटरको गतिमा उड्न सक्ने यो ड्रोन ३ सय किलोमिटर सम्म जान सक्छ। २५ हजार फिटको उचाइमा उड्न सक्ने यो ड्रोन रुसविरुद्ध निकै प्रभावकारी भएको विश्लेषकहरुको भनाइ छ। जसले हेलिकोप्टर, डुंगा र क्षेप्यास्त्र प्रणाली पनि ध्वस्त पारेको बताइएको छ।

हवाई प्रतिरक्षा प्रणाली
आफ्नो हवाई क्षेत्रमा रुसलाई प्रभुत्व स्थापित गर्न नदिन युक्रेन सफल भएको छ। आउँदा दिनमा अमेरिकाले एएएसएएमएस नामक प्रणाली युक्रेन पठाउने अपेक्षा गरिएको छ। किभले स्लोभाकियाबाट एस–३०० प्रणाली प्राप्त गरेको छ। यो प्रणालीले ९० किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ भने आफ्नो निसानालाई २ सय किलोमिटर टाढै पहिचान गर्न सक्छ।
बीबीसी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्