जनयुद्धका आइकन बाबुरामको व्यथाः चहार्दा चाहार्दै सकिँदै राजनीति, प्रचण्ड फेरि झेल्न तयार हो! – Janadesh Daily | ePaper

जनयुद्धका आइकन बाबुरामको व्यथाः चहार्दा चाहार्दै सकिँदै राजनीति, प्रचण्ड फेरि झेल्न तयार हो!


जनादेश वाच।
बाबुराम भट्टराई कुनै बेला माओवादी जनयुद्धका आइकन थिए। उनलाई देखेर माओवादीलाई समर्थन गर्ने युवाहरूको लहर नै थियो।

नयाँ संविधान बनेसँगै वैकल्पिक राजनीतिक पार्टी बनाउने भन्दै माओवादी परित्याग गरेर नयाँ शक्ति पार्टी खोलेका डा. भट्टराई यसबीचमा अपेक्षाकृत रुपमा सफल हुन सकेनन् । नयाँ शक्ति भन्दाभन्दै बीचैमा एमाले र माओवादीको गठबन्धनमा केही दिनका लागि मात्रै मिसिएका बाबुरामले फेरि जनता समाजवादी पार्टीमा गएर आफ्नो स्थान सुरक्षित गर्न खोजे।

२०७२ असोज ९ गते तत्कालीन एकीकृत नेकपा माओवादी छोडेका बाबुरामले २०७३ जेठ ३० गते नयाँ शक्ति घोषणा गरेका थिए। वैकल्पिक राजनीतिको नारा दिएर माओवादी परित्याग गरेर नयाँ शक्ति बनाएका बाबुराम नयाँ शक्तिलाई वैकल्पिक राजनीतिक दलको मियो भने बनाउने सकेनन्। नयाँ शक्तिबाट पार नलाग्ने देखिएपछि भट्टराईले २०७६ वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरोमसँग एकता गरेका थिए। भट्टराई-यादवको एकतापछि पार्टीको नाम समाजवादी नेपाल रहन गयो।

पूर्व प्रधानन्त्री केपी शर्मा ओलीले २०७७ वैशाखमा समाजवादीमा विभाजन ल्याउन खोजेपछि रातारात २०७७ वैशाख १० गते राति राष्ट्रिय जनता पार्टी (राजपा)सँग समाजवादी एकता भयो र जनता समाजवादी पार्टी घोषणा भएको थियो। तर,जसपा प्रतिनिधि सभा विघटनका बेलामा ओलीको पक्ष/विपक्षमा उभिएपछि विभाजनको डिलमा पुग्यो।

भट्टराई यादव-पक्ष ओलीको विरोध गरेर सडक आन्दोलनमा उत्रिँदा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने सरकारमै सहभागी भएर ओलीलाई सघाएका थिए। पछि ठाकुर-महतोले पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी बनाएका थिए। त्यतिबेला एउटै खेमामा रहेका भट्टराई-यादव पक्ष अहिले भने छुट्टिने अवस्थामा पुगेका हुन्।

अहिले आएर जसपाको विवाद उत्कर्षमा छ। अध्यक्षहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराई बिचको किचलो क्लाइमेक्समा पुगेको छ। नेतृत्वलाई लिएर जसपामा विवाद रहँदै आए पनि यतिखेर भने विभाजनको आडैतिर पुगेको दुबै पक्षका नेताहरुले बताएका छन्। यादव स्वेच्छाचारी ढंगले चल्न खोजेको भन्दै भट्टराई पक्ष रुष्ट छ। अर्कोतिर पार्टीका हरेक विषयमा किचलो गर्न खोजेको र अस्थिर प्रवृत्ति नछाडेको भट्टराईमाथि यादव पक्षले आरोप लगाएको छ।

माओवादी, नयाँ शक्ति, समाजवादी नेपाल हुँदै जसपा आइपुगेका बाबुरामलाई फेरि पनि पार्टीबाट अलग हुन खोजेको आरोप लागेको छ। यसै पनि भट्टराई अस्थीर नेताका रुपमा आलोचित छन् । उनको यही अस्थिरताका कारण अब डा. भट्टराईले कस्तो भूमिका खेल्लान् भनेर अनुमान गर्न विश्लेषकहरुलाई गाह्रो पर्न थालेको छ ।

अहिले उनी समाजवादी केन्द्र बनाउन गृहकार्यमा जुटेको उनी निकट नेताहरुले बताएका छन्। त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न चरणमा छलफल समेत भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अरु पूर्व माओवादी नेताहरुसँग समेत बाबुरामले समाजवादी केन्द्र बनाउनका लागि छलफल अघि बढाएका छन्। जसलाई पनि उपेन्द्र पक्षीय नेताहरुले पार्टी विभाजनको शंकाका दृष्टिले हेर्ने गरेका छन्। सरकारमा सहभागिताका विषयमा समेत जसपामा विवाद रहँदै आएको छ।

‘जे कुरामा पनि निँहु खोज्छन् बाबुराम’
बाबुराम पक्षले उपेन्द्रलाई स्वेच्छाचारी भएको आरोप लगाउँदा यादव पक्षले भने बाबुराममा अस्थिर प्रवृति देखिएको आरोप लगाएको छ। यादव निकट एक नेताले बाबुरामले पार्टीका हरेक निर्णयमा अप्ठेरो पारेको आरोप लगाए।

‘पार्टीका हरेक निर्णयमा निहुँ खोज्ने खालको प्रवृत्ति छ बाबुराममा। त्यसरी पार्टी चल्दैन,’ उनले भने। अर्का केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले पार्टीको विवाद पुरानै भएको बताए। उनले पार्टीमा सहमतिमा अलग हुने कि नहुने भन्नेबारेमा छलफल भइरहेको बताए।

अहिलेको विवादमा यादव एक कदमपछि हटेर सहमति गर्न तयार नभए अलग हुने चेतावनी भट्टराई पक्षको छ भने यादव पक्ष भने बाबुरामको बार्गेनिङ भन्दै उक्त मागबाट पन्छिरहेको छ। त्यसैले भट्टराई पक्षले असाढ २७ र २८ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको पनि औचित्य नभएको र आफूहरुसँगको छलफल बिनै बैठक बोलाएको आरोप लगाइरहेको छ।

फेरि बाबुराम झेल्न तयार होलान् प्रचण्ड
बाबुराम भट्टराई २०७२ सालमा माओवादीबाट अलग भएपछि सबैभन्दा बढी हाइसन्चो हुनेमा थिए पुष्पकमल दाहाल ‘प्रचण्ड।’ त्यति बेला प्रचण्डले भनेका थिए, ‘बाबुरामलाई मैले जति नजिकबाट कसले झेलेको होला र?’ ४० को दशकदेखि कम्युनिस्ट पार्टीको एउटै गुटमा रहेका दाहालको अभिव्यक्तिको आशय थियो, बाबुराम अस्थिर छन्, विवाद झिकिरिन्छन्, संगठनमा बलिया छैनन्। बाबुरामको विगत सात वर्षको गतिविधिले प्रचण्डको त्यस्तो अभिव्यक्तिलाई पुष्टि गर्न सघाउ पुर्‍याएको छ।

घुमिफिरी रुम्जाटार भनेजस्तै सात वर्षपछि उनै प्रचण्ड बाबुरामसँग एकताको हात फैलाउन सक्रिय छन् यति बेला। जनता समाजवादीबाट अलग हुने तयारीमा रहेका बाबुरामलाई पनि आफ्नो अस्तित्व बचाउनु छ। त्यसैले उनी नयाँ संगठन निर्माण भन्दा कुनै पार्टीमा आबद्ध भएर ‘सेफ ल्यान्डिङ’ का पक्षमा रहेको आंकलन गरिएको छ। यद्यपि जसपाबाट बाबुरामको बहिर्गमन भइसकेको छैन। पार्टीका नेताहरूका अनुसार उनी अल्पमतमा परेका छन्। त्यसैले उनले पनि प्रचण्डसँगको भेटलाई जारी राखेका छन्।

‘बाबुरामले कम्युनिस्ट पार्टी त्यागिसकेकाले फेरि कम्युनिस्ट पार्टीमा नजोडिएलान्। त्यसैले पार्टीको नाम संशोधनसम्मका कुराकानी भइरहेको छ’, प्रचण्ड निकट स्रोतले भन्यो। बाबुराम आएमा दाहालले पार्टीको नाम समाजवादी वा त्यस्तै राख्ने प्रस्ताव अघि सारेको बताइएको छ। बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा दुई नेताबीच भेट भएको थियो। यसअघि पनि उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा उनीहरूबीच भेट हुँदै आएको छ।

तत्कालीन एकीकृत नेकपा माओवादीमा भट्टराई प्रचण्डपछिका दोस्रो वरीयताका नेता थिए। यी नेताबीच अन्तरविरोध भने लामो समयदेखिको हो। जनयुद्धका बेला पनि विवाद उत्कर्षमा पुगेको थियो। गणतन्त्रपछि पनि उनीहरूबीच विवाद कायमै रह्यो। डा. भट्टराई यति बेला अस्तित्वको संकटमा छन्। विगत सात वर्षको गतिविधि सरसर्ती नियाल्ने हो भने बाबुरामको राजनीतिक गतिविधि स्थिर छैन।

बाबुराम पक्षधर नेताहरूको भनाइमा फेरि नयाँ पार्टी गठन गरेर अगाडि जानेतिर उनले सोच्नुपर्ने हुन्छ। त्यसैले उनले प्रचण्डसँको भेटघाट बढाएका हुन्। अहिले यो दलबाट पूर्व राजपा छुट्टिएर लोकतान्त्रिक समाजवादी फोरम बनाइसकेको छ। जसपामा बाबुराम संघीय परिषद् अध्यक्षकै हैसियतमा छन्।

आफू राजनीतिक रूपमा संकटमा पर्न सक्ने आंकलन गरेर नै डा. भट्टराईले प्रचण्डसँग भेटेको उनी निकट नेता बताउँछन्। प्रचण्डबाट पार नलाग्ने भनी पार्टी छोडेर हिँडेपछि उनले प्रचण्डसँग पार्टी एकताकै विषयमा केन्द्रित रहेर छलफल गरेका थिएनन्। तर बिहीबारको भेटमा डा.भट्टराईले कम्युनिस्टसमेत मिलेर समाजवादी पार्टी बनाउन सकिने प्रस्ताव राखेको नेताहरू बताउँछन्।

राजनीतिमा असम्भव भन्ने कुरा प्रायः हुँदैन भन्ने गरिन्छ। यदि बाबुराम फेरि प्रचण्डसँग मिले भने बाबुरामलाई प्रचण्डले कसरी झेल्लान्? त्योचाहिँ चासोको विषय बनिरहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्