शेयर बजारको पहिरोमा बग्यो संसारका अर्बपतिहरूको सम्पति, एलेन मस्कले गुमाए अर्बौ डलर – Janadesh Daily | ePaper

शेयर बजारको पहिरोमा बग्यो संसारका अर्बपतिहरूको सम्पति, एलेन मस्कले गुमाए अर्बौ डलर


जनादेश अन्तर्राष्ट्रिय वाच।

सेयरबजारमा आइरहेको लगातारको गिरावटले ठूलासाना लगानीकर्तालाई मात्रै होइन ठूला ठूला अर्बपतिलाई नै नोक्सानी पुर्‍याएको छ। सन् २०२२ मा संसारका धनकुबेरहरुको खर्बौं डलर डुबेको छ। संसारकै धनी इलोन मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ।

ब्लुम्बर्गको अर्बपति सूचकांक हेर्ने हो भने यो वर्षको सुरुवाती छ महिनामा मात्रै इलोन मस्कले करिब ६० अर्ब डलर घटेको छ। तर भारतका दुई अर्बपति अदानी–अम्बानीले भने यस्तो स्थिति देख्नुपरेको छैन।

ब्लुम्बर्ग सूचकांकअनुसार मस्कको कुल सम्पत्ति सुरुवाती छ महिनामा घटेर २ खर्ब १० अर्ब डलरमा झरेको छ। यो छ महिनामा उनले ५९ अर्ब ९० करोड डलर गुमाएका छन्। विश्वकै दोस्रा ठूला अर्बपति जेफ बेजोसको सम्पत्ति पनि अहिले घटेर १ खर्ब ३३ अर्ब डलर रहनपुगेको छ। उनको सम्पत्तिमा छ महिनामा ५९ अर्ब ३० करोड डलरको गिरावट आएको छ।

यो वर्षको सुरु छ महिनामा टप १० मा सामेलमध्ये केवल भारतीय अर्बपतिको सम्पत्ति मात्रै बढेको छ। गौतम अदानीको सम्पत्ति २२ अर्ब ३० करोड डलर बढेर ९८ अर्ब ८० करोड डलर पुगेको छ। उनी अहिले पनि विश्वका टप १० अर्बपति सूचीमा छैटौं स्थानमा छन्।

त्यस्तै अर्का भारतीय अर्बपति मुकेश अम्बानीको सम्पत्तिमा पनि तीन अर्ब डलर बढेको छ। उनको कुल सम्पत्ति ९३ अर्ब डलर नजिक छ। त्यस्तै अजीम प्रेमजीको सम्पत्ति यही बेला १५ अर्ब ५० करोड डलर घटेको छ भने शिव नाडरको सम्पत्ति ८ अर्ब ५१ करोड डलर घटेको छ। राधाकिसन दमानीको ७ अर्ब ४० करोड डलर घटेको छ भने लक्ष्मी मित्तलाई चार अर्ब ५९ करोड डलर नोक्सानी भएको छ।

यो वर्षको छ महिनाको कुरा गर्दा चर्चित सामाजिक सञ्जाल फेसबुकका मार्क जुकरबर्गको कुल सम्पत्ति ५९ अर्ब तीन करोड डलर रहनपुगेको छ। यो अवधिमा उनको ६५ अर्ब ९० करोड डलर गिरावट आएको छ। यो कुलमध्ये आधाभन्दा बढी गिरावट हो। अहिले त उनी विश्वका १० ठूला धनीको सूचीबाट बाहिरिइसकेका छन्। उनी १७औँ स्थानमा पुगेका छन्।

१० ठूलामध्ये फ्रान्सका बनार्ड आर्नोको सम्पत्ति २०२२ को सुरुवाती छ महिनामा ५० अर्ब ४० करोड डलर घटेपछि एक खर्ब २८ अर्ब डलरमा झरेको छ। त्यस्तै बिल गेट्सको सम्पत्ति २२ अर्ब ९० करोड डलर घटेर एक खर्ब १५ अर्ब डलरमा झरेको छ।

 

ल्यारी पेजको २९ अर्ब ३० करोड डलर र वारेन बफेटको १२ अर्ब ५० करोड डलरको भारी नोक्सान भएको छ। सर्जेई ब्रिनको पनि २८ अर्ब ३० करोड डलर घटेको छ भने स्टिभ बाल्मरको सम्पत्तिमा १३ अर्ब ७० करोड डलरको नोक्सानी भएको छ।

एजेन्सी।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्