राजनीतिक कोर्स बदल्न सक्ने एक तस्विरः नेकपा सचिवालय बहुमत सदस्यमार्फत प्रचण्डको प्रक्षेपण – Janadesh Daily | ePaper

राजनीतिक कोर्स बदल्न सक्ने एक तस्विरः नेकपा सचिवालय बहुमत सदस्यमार्फत प्रचण्डको प्रक्षेपण


जनादेश वाच।
तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ ललितपुर हात्तीवनस्थित एक निजी निवासमा भेट वार्ता भएको छ। भेटमा माओवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासहित वामदेव गौतमसमेत सहभागी भएका थिए। भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधव नेपाल र झलनाथ खनाल सहभागी भएका हुन्।

त्योबेला नेकपाका सचिवालयमा रहेका केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादु थापा ‘बादल’ अहिले एमालेमा नै छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको थियो ।

नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको छ । केन्द्रीय कमिटी बैठक बस्नुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, एकता अभियानका संयोजक वामदेव गौतमबीच कम्युनिस्ट एकताको अपिल गर्नेबारे अनौपचारिक संवाद भएको थियो । ती नेताहरूबीच भएको टेलिफोन संवादको संकेत प्रचण्डले दिउँसो केन्द्रीय कमिटी बैठकमा गरेका थिए ।

नेताहरूबीच भएको कुराकानीलाई संकेत गर्दै बैठकमा प्रचण्डले केन्द्रीय सदस्यहरूलाई भनेका पनि थिए– नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरू एकजुट भएर कम्युनिस्टहरूको एकताका लागि अपिल गर्ने तयारी भइरहेको छ ।

प्रचण्डले गरिसकेका थिए प्रक्षेपण
प्रचण्डको सचिवालयबाट ५ नेताबीच भेटघाटको तस्वीर सार्वजनिक हुनुभन्दा केही घण्टाअघि सार्वजनिक भएको प्रचण्डको राजनीतिक दस्तावेजले धेरै संकेत गरिसकेको थियो । केन्द्रीय सदस्यलाई वितरीत दस्तावेजमा वर्तमान सत्ता गठबन्धनको निरन्तरताको पक्षमा जोड दिएर लेखिएको छैन ।

गठबन्धनसम्बन्धी खण्डमा प्रचण्डले भनेका छन, ‘कार्यदिशा अबलम्बन गर्ने पार्टी शक्ति र व्यक्तित्वको तत्कालका र्मोचा निर्माण आजको आवश्यकता हो । समाजवादी मोर्चामार्फत नेपाली विशेषताको समाजवाद त्यसको कार्यनीति श्रृंखला क्रान्तिकारी शक्ति एवं जनतालाई गोलबन्द गर्ने र दीर्घकालिक रूपमा समाजवादी वैकल्पिक क्रान्तिकारी धाराको निमार्ण हुनेछ ।’

यो कुराले पनि संकेत गरेको छ प्रचण्ड अहिलेको गठबन्धनलाई निर्विकल्प ठानिरहेका छैनन् । र, कांग्रेसबाहेकको गठबन्धनको विकल्पमा पनि छलफल भइरहेको छ । प्रचण्डले दस्तावेजमा समाजवादी वैकल्पिक क्रान्तिकारी धारा निर्माण गर्ने सन्दर्भ उल्लेख गर्नुले पनि चुनावलक्षित राजनीतिमा खिचडी पाक्दैछ भन्ने संकेत गर्दछ ।

प्रचण्डको लिखित दस्तावेज आउनुअघि बाबुराम भट्टराईको जसपाबाट हुन लागेको बर्हिगमनको निर्णय पनि जोड्नुपर्ने हुन्छ । बुधबार जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच झन्डै ३ घण्टा लामो छलफलमा सहमतिमै छुट्टिने समझदारी बन्यो ।

दुई नेताबीच समझदारी बनेको भोलिपल्ट बिहीबार प्रचण्ड र बाबुरामले उपराष्ट्रपति कार्यालयमा साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा उपराष्ट्रपति नन्दकिशोर पुनलाई साक्षी राखेर संवाद गरे । संवादको विस्तृत विवरण खुलेको छैन तर उनीहरूबीच १५ दिनमा तीनपटक संवाद भने भइसकेको छ ।

यसअघिको भेटमा दुई नेताबीच उपराष्ट्रपति कार्यालयमै ‘समाजवादी केन्द्र’ बनाउनेबारे छलफल भएको सूचना चुहिएको थियो । प्रचण्डले दस्तावेजमा समाजवादी धाराको कुरा जोड्नुले उक्त भेटमा समाजवादी केन्द्र बनाउनेबारेमा छलफल भएको आधार दिन्छ । अनि शनिबार मात्रै बाबुरामले उपेन्द्र यादवबाट छुट्टिएपछि पहिलो विकल्प समाजवादी पक्षधरहरू केन्द्रीकृत हुने बताएका थिए ।

बिहीबार बिहान प्रचण्डलाई भेटेका बाबुराम भट्टराई साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । कोटेश्वर स्रोतका अनुसार प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराईलगायतका नेताहरू चुनावी गठबन्धनमात्र होइन, कार्यगत एकता गर्ने पक्षमा अनौपचारिक रूपमा सहमत भइसकेका छन् ।

स्रोतको दाबी छ, ‘पार्टी एकता गर्दा चुनावी परिणाम फरक पर्छ कि पर्दैन ? भनेर विश्लेषण भइरहेको छ । त्यसपछि मात्रै एकताको कुरा हुनेछ । पार्टी एकता नहुने अवस्थामा चुनाव चिह्न एउटै प्रयोग गर्ने कि भन्ने विषयमा पनि छलफल भएको छ ।’ हुन पनि, १४ असारमा सकिएको एकीकृत समाजवादीको केन्द्रीय परिषद्को भेलाको १५ बुँदे निर्णयमा पनि कम्युनिस्ट एकता र सहकार्यको सन्दर्भ छुटेको छैन । एकीकृत समाजवादीको केन्द्रीय परिषद् र माओवादी केन्द्रको केन्द्रीय कमिटीका निर्णयले उनीहरूबीचको सहकार्यका लागि आधार तयार गर्ने संकेत पनि देखिन्छ ।

पछिल्ला दिनमा थपिएका वामदेव गौतमसहित बाबुराम भट्टराईसमेत जोडिने भएपछि चुनावको सम्मुखमा समाजवादी केन्द्र बनाएर जान उनीहरू सहमत हुन पनि सक्छन् । त्यसलाई नेकपाकालीन ५ नेताहरूको संयुक्त भेटले आधार बनाउने संकेत दिएको छ । बाबुराम र वामदेवसमेत मिसिएर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरूको प्रयासले एमाले र कांग्रेस दुवैमा दबाब भने बढाउनेछ । एमालेभित्र वाम एकता वा सहकार्यको पक्षमा उभिएका नेताहरूलाई हौसला दिनेछ । ती नेताहरूमा भरिने ऊर्जाले अध्यक्ष केपी ओलीमाथि दबाब बढाउनेछ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्