सी चिन फिङको तेस्रो कार्यकालको पूर्वसन्ध्याः चीनमा मालामाल बन्दै मार्क्सवादको डिग्रीधारी – Janadesh Daily | ePaper

सी चिन फिङको तेस्रो कार्यकालको पूर्वसन्ध्याः चीनमा मालामाल बन्दै मार्क्सवादको डिग्रीधारी


जनादेश अन्तर्राष्ट्रिय वाच।
सुन यी

चीनमा विश्वविद्यालयबाट स्नातक भएकाहरु काम फेला पार्न संघर्षरत छन्। किनभने श्रम बजार दशकौँयताको सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ। तर, मार्क्सवाद विषयमा डिग्री लिएकाहरुलाई भने यस्तो समस्या छैन।

मार्क्सवाद चीनको शासकीय विचारधारा हो। तैपनि यो मेजर विषय राख्नु विद्यार्थीहरुका लागि अनिश्चिततालाई निम्ता दिनुसरह थियो। तर, राष्ट्रपति सी चिनफिङको शासनकालमा यो विषय बौरिन थालेको छ। अभूतपूर्व तेस्रो कार्यकाल सुरु गर्न लागेका सीले कम्युनिस्ट पार्टीका कार्यकर्तालाई ‘वास्तविक अभियान सम्झिन’ आह्वान गरेका छन्।

स्नातकहरुका लागि रोजगार खोज्ने प्रमुख वेबसाइट यिङचिसेङका अनुसार गत वर्षको तुलनामा यो आर्थिक वर्षको दोस्रो त्रैमासमा मार्क्सवाद विषयमा डिग्री आवश्यक पर्ने विज्ञापनमा २० प्रतिशतले वृद्धि भएको छ। सरकारी विभागहरुदेखि निजी कम्पनीहरुसम्मका रोजगारदाताले मार्कसवादका विज्ञहरुको खोजी गरिरहेका छन्।

अमेरिकासँग चीनको प्रतिद्वन्द्विता सघन बन्दै जाँदा सीले वैचारिक शिक्षालाई सुदृढ गर्ने प्रयास गरेका छन्। जसका कारण चीनमा मार्क्सवादको लोकप्रियता बढेको विश्लेषकहरुको भनाइ छ।

‘यसको उदेश्य हो, समग्र जनसंख्याको ‘ब्रेनवास’ गर्न वैचारिक निगरानीकर्ताहरुलाई प्रशिक्षित तुल्याउने,’ सिटी युनिभर्सिटी, न्युयोर्कका राजनीतिशास्त्रका प्राध्यापक मिङ स्या भन्छन्।

मार्क्सवाद पढाउने चिनियाँ विश्वविद्यालयहरुले कार्ल मार्क्सले विकसित गरेको दर्शनलाई सी र क्रान्तिकारी नेता मा चेतुङले गरेको व्याख्याअनुसार पढाउँछन्।

चीनको मध्यभागमा अवस्थित हेनानस्थित एक विश्वविद्यालयले मार्क्सवाद विषयमा तीन वर्षे मास्टर्सका लागि बनाएको पाठ्यक्रममा ‘वैचारिक शिक्षाको सिद्धान्त र विधि’ पनि समावेश छ। जसमा शिक्षामाथि सीले दिएका भाषणहरुको १८ घण्टा अध्ययन हुन्छ।

२०१२ को अन्त्यमा सी सत्तामा आउनुअघि मार्क्सवादसम्बन्धी पाठ्यक्रमले विद्यार्थीहरुलाई आकर्षित गर्न सकिरहेको थिएन। किनभने १९७८ मा तेङ स्याओपिङले सुधार सुरु गरेपछि तीन दशकसम्म चीनमा वैचारिक शुद्धताभन्दा आर्थिक समृद्धिलाई ज्यादा जोड दिइएको थियो।

तेङको शासनमा ‘धनी हुनु गौरवको कुरा हो’ जस्ता नारालाई पार्टीले लोकप्रिय बनाएको थियो। त्यस्तै, ‘पहिले केही मानिस धनी हुनु स्वीकार्य छ’ भनेर उद्यमीहरुलाई आश्वस्त पारिएको थियो। तेङका उत्तराधिकार च्याङ जेमिनले औपचारिक रुपमै निजी क्षेत्रका व्यवसायीलाई पार्टीमा सहभागी हुन निम्त्याए।

तर, सीले भने ‘साझा समृद्धि’लाई प्राथमिकता दिने वैचारिक रुपले कठोर ‘नयाँ युग’ सुरु गर्ने आफ्नो उदेश्य रहेको स्पष्ट पारेका छन्। त्यस्तै निजी क्षेत्रका कम्पनीहरुमाथि कडा नियमन गर्ने र विश्वकै सबैभन्दा असमान समाजमध्ये एक चीनमा धनी र गरिबबीचको खाडल कम गर्ने उनको उदेश्य छ।

सीको सरकारले श्रमिकमाथिको शोषणलाई अनुमति दिएकोमा चीनको राज्य पुँजीवादको कठोर आलोचना गर्न मार्कसवादी विश्लेषणको सहारा लिनेहरुलाई दमन गरेको छ। तर, यसले मार्क्सवाद पढाउने शिक्षकहरुको माग भने बढाएको छ। पश्चिमभन्दा चिनियाँ कम्युनिस्ट शासन किन श्रेष्ठ छ भनेर जनतालाई सिकाउन ती शिक्षकहरुले अहिले महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

राष्ट्रपतिका लागि दुई कार्यकालको मात्र व्यवस्था हटाइएकै वर्ष २०१८ मा शिक्षा मन्त्रालयले विश्वविद्यालयहरुलाई प्रति ३५० विद्यार्थी कम्तीमा एक मार्क्सवाद प्रशिक्षक नियुक्त गर्न सर्कुलर जारी गरेको थियो।

त्यसयताका चार वर्षमा विश्वविद्यालयहरुमा ‘विचारधारा र राजनीति’ विषयका शिक्षकको संख्या दुई तिहाइले बढेको छ।

मार्क्सवादको डिग्रीलाई आर्थिक मन्दीले पनि छोएको देखिँदैन। युवाहरुमा अहिले बेरोजगारीको समस्या इतिहासकै उच्च विन्दु अर्थात १८.४ प्रतिशतमा छ। जसले अन्य विषय मेजर राखेर डिग्री लिएकाहरुका लागि अवसर खुम्चिएको देखाउँछ। तर, यिङचिसेङको तथ्यांकअनुसार मार्क्सवाद पढाउने शिक्षकको तलब र सुविधा वृद्धि भएर पहिले लोकप्रिय रहेका बिजनेस एड्मिनिस्ट्रेसनजस्ता विषयका शिक्षकहरुको सेवासुविधालाई भेट्टाउँदैछ।

उत्तरी सान्सी प्रान्तमा सहरी कामदारहरुले वार्षिक औसत ५२ हजार युआन कमाउँछन्। त्यहीँको सियान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले मार्क्सवादमा पीएचडी गरेकाहरुलाई आधारभूत तलबस्वरुप २ लाख युआन, बोनस २० हजार युआन र निशुल्क आवास दिने गरेको छ।

‘मार्क्सवाद मेजर लिएकाहरुका लागि यो सुनौलो समय हो,’ विश्वविद्यालयका एक अधिकारीले भने।

किन्डरगार्टेनदेखि हाइस्कुलसम्मका अन्य शैक्षिक संस्थाहरुले मार्क्सवाद स्नातकहरुलाई जागिर दिइरहेका छन्। किनभने १० वर्षकै उमेरदेखि बालबालिकालाई सी चिनफिङ विचारधारा पढाउन निर्देशन छ।

दक्षिणी हाइनान टापुको एक सम्भ्रान्त स्कुलले मार्क्सवादका शिक्षकहरुलाई वार्षिक डेढ लाख युआन दिने गरेको छ जुन स्थानीय तुलनामा निकै उच्च हो।

‘मार्क्सवाद र सी चिनफिङ विचारधाराको अध्ययन सानै उमेरदेखि सुरु हुन आवश्यक छ,’ पेकिङ युनिभर्सिटीबाट सम्बन्धनप्राप्त पीकेयू हाइकाउ हाइस्कुल बेइजिङका एक अधिकारी भन्छन्, ‘त्यसले शिक्षकहरुका लागि पर्याप्त माग सिर्जना गर्छ।’

अलिबाबाका संस्थापक ज्याक मा, चाइना एभरग्रान्डका प्रमुख हुइ का यानजस्ता प्रविधि र रियल स्टेट उद्यमीहरुमाथि गरिएको छानबिनपछि पार्टीप्रति बफादार रहेको देखाउने प्रयासस्वरुप निजी क्षेत्रका कम्पनीहरुले पनि मार्क्सवाद मेजर राखेर डिग्री लिएकाहरुलाई नियुक्त गरिरहेका छन्।

‘पार्टीको भाषा बोल्ने मान्छे हाम्रो लागि काम गर्दा त्यसले सहयोग पुग्छ,’ सांघाइनजिकैको पूर्वी सहर निङ्पो सहरमा औजार कारखानाका सञ्चालक डेविड तोङ भन्छन्, ‘सरकारले हामीलाई ज्यादा विश्वास गर्छ।’

तोङले हालै एक मार्क्सवाद विज्ञलाई स्थानीय अधिकारीहरुसँगको सञ्चार सुधार्न नियुक्त गरेका छन्। त्यसको असर तुरुन्तै देखियो।

काम सुरु गर्नेबित्तिकै ती मार्क्सवाद विज्ञले तोङको कम्पनीको आन्तरिक म्यागेजिनमा एउटा ‘अनुपयुक्त’ लेख औँल्याए, जसमा चीनको फिल्म सेन्सरसिपको आलोचना गरिएको थियो।

तोङले ती विज्ञबाट प्राप्त सन्देश देखाए, ‘सरकारले सञ्चारमाध्यमलाई नियन्त्रण गरेको विषयमा कसैले आफ्नो विचार राख्नु ठिकै हो। तर, त्यस्तो दृष्टिकोण हाम्रो कम्पनीको म्यागेजिनमा प्रकाशित हुँदा हामी आधिकारिक लाइनविपरीतका विचारलाई समर्थन गर्छौँ भन्ने असमझदारी पैदा हुन्छ।’

तोङले त्यो सुझाव मानेर तत्काल सो लेख हटाए।

फाइनान्सियल टाइम्सबाट साभार।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्