बलिउड अभिनेत्री सुस्मिता सेन र व्यवसायी ललित मोदी प्रेममा – Janadesh Daily | ePaper

बलिउड अभिनेत्री सुस्मिता सेन र व्यवसायी ललित मोदी प्रेममा


जनादेश बलिउड वाच।

सन् १९९४ की मिस युनिभर्स विजेता तथा अभिनेत्री सुस्मिता सेन र आइपिएलका पूर्व अध्यक्ष ललित मोदी एकअर्कासँग प्रेम सम्बन्धमा छन्। व्यवसायी ललित मोदी आफैंले सुस्मितासँग डेट गरिरहेको जानकारी दिएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतीय टि-२० टुर्नामेन्टका पहिलो अध्यक्ष तथा कमिसनर रहेका ललितले बिहीबार आफ्नो ट्विटरमा सुस्मितासँग थुप्रै फोटाहरू राख्दै यसबारे जानकारी दिएका हुन्। उनले ती फोटाहरूमा सुस्मितालाई ‘बेटर-हाफ’ भन्दै ‘नयाँ सुरूआत’ लेखेका छन्।

धेरैले उनीहरूलाई बिहे पनि गरिसकेको हो कि भनेर सोधेका छन्। आइपिएलका संस्थापक रहेका ललितले आफूहरूले बिहे भने नगरिसकेको र अहिले ‘डेटिङ’ मात्र गरिरहेको बताएका छन्। तर बिहे गर्ने संकेत पनि उनले दिएका छन्।

‘बिहे गरिसकेको छैन, एकअर्कालाई डेटिङ मात्र गरिरहेका छौं, सायद कुनै दिन बिहे पनि हुनेछ,’ उनले लेखेका छन्।

ललित मोदीको यसअघि मिनल सगरानीसँग सन् १९९१ मा बिहे भएको थियो। उनीहरूका एक छोरा रूचिर र छोरी आलिया छन्। ललितसँग बिहे हुनुअगावै मिनलको पनि अर्कैसँग बिहे भएको थियो। मिनलका पहिलो श्रीमानबाट पनि एक छोरी करिमा छन्।

सन् २०१८ मा मिनलको क्यान्सरका कारण निधन भएको थियो। यता सुस्मिता सेनले केही समयअघि मात्र आफूले बिहेबारे नसोचेको बताएकी थिइन्। तीन पटक बिहेको नजिक पुग्दा पनि हुन नसकेको र यसमा आफूलाई भगवानले बचाएको प्रतिक्रिया उनको थियो।

उनले पोहोर मात्र आफ्नो तीन वर्षभन्दा पुरानो प्रेम सम्बन्धलाई ‘ब्रेकअप’ गरेकी थिइन्। उनले रोहमन सलसँगको आफ्नो प्रेम सम्बन्ध अन्त्य भएकोबारे इन्स्टाग्राममार्फत् सार्वजनिक जानकारी दिएकी थिइन्। सम्बन्ध टुटे पनि रोहमन सधैं आफ्नो साथी रहने सुस्मिताले लेखेकी थिइन्।

सुस्मिता र रोहमनको प्रेम सम्बन्ध सन् २०१८ देखि सुरू भएको थियो। इन्स्टाग्रामबाटमा सन्देश आदानप्रदान हुँदै सुरू भएको उनीहरूको सम्बन्ध बिस्तारै प्रेममा बदलियो। सुस्मिता र रोहमनको उमेरमा १५ वर्षको फरक थियो।

उनीहरूले आफ्नो प्रेम सम्बन्ध लुकाएनन्। बलिउडमा उनको जोडीलाई सबैले मन पराएका थिए। प्रशंसक तथा शुभचिन्तकहरू उनीहरूको बिहेको खबर सुन्ने प्रतीक्षामा थिए। तर उनीहरू छुटे।

सन् १९९४ मा मिस युनिभर्सको ताज पहिरिएलगत्तै बलिउड प्रवेश गरेकी सुस्मिताको फिल्मी करिअर कहिल्यै पनि खासै जमेन। उनका फिल्महरू हिट त हुन्थे तर उनले समकालीनहरूको दाँजोमा अलग्गै पहिचान बनाउन सकेकी थिइनन्।

आफ्नो लामो करिअरमा उनका यादगार सिनेमा खासै छैनन्। यसबीच पछिल्लो १० वर्ष उनी बलिउडबाट पूरै हराइन्। आफ्नो स्वास्थ्य उपचार र दुई जना छोरीको लालनपालनमै व्यस्त भएकाले करिअरबाट विश्राम लिएको उनले बताएकी छन्।

दस वर्षपछि उनले गत वर्ष डिज्ने स्टारको वेबसिरिज ‘आर्या’ मार्फत् कमब्याक गरेकी छन्। यो वेबसिरिजको दोस्रो संस्करण पनि रिलिज भइसकेको छ।

‘आर्या’ मा सुस्मिताको अभिनय यति दमदार छ, यसलाई उनको करिअरकै सबभन्दा उत्कृष्ट भनिँदै आएको छ। कति समीक्षकहरूले त यो वेबसिरिजलाई सुस्मिताको कमब्याक नभएर, बलिउडमा इन्ट्रीका रूपमा लिएका छन्।

विगतका फिल्महरूबाट खासै छाप छाड्न नसकेकी पूर्वमिस युनिभर्स सुस्मिताले २७ वर्षपछि वेबसिरिजबाट पहिलोपटक आफ्नो अभिनय क्षमता देखाएको समीक्षकहरूको भनाइ छ।

‘आर्या’ को पहिलो संस्करणबाट सुस्मिता सेनले थुप्रै अवार्डहरू पनि जितेकी छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्