वेइजिङ-वासिङ्टन आमने-सामनेः सीले कसरी देलान् पेलोसीको ताइवान भ्रमणको जवाफ ! – Janadesh Daily | ePaper

वेइजिङ-वासिङ्टन आमने-सामनेः सीले कसरी देलान् पेलोसीको ताइवान भ्रमणको जवाफ !


जनादेश अन्तर्राष्ट्रिय वाच।
क्रिस बकली

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको सम्भावित भ्रमणका कारण ताइवानमा संकट चुलिएको छ। यसअघि ताइवानको विषयलाई लिएर १९९५–९६ मा यस्तै संकट आइपरेको थियो। तत्कालीन बिल क्लिन्टन प्रशासनले ताइवानी राष्ट्रपति ली तेङ हुइलाई अमेरिका भ्रमणको अनुमति दिएपछि चीन क्रुद्ध बनेको थियो। त्यसैले चीनले ताइवाननजिकै सैन्य अभ्यास गरेको थियो र चीनलाई रोक्न अमेरिकाले त्यहाँ नौसैनिक जहाज पठाएको थियो। चीनले ताइवाननजिक क्षेप्यास्त्र समेत प्रहार गरेको थियो।

त्यो संकटका बेला वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङ ताइवान टापुको सबैभन्दा नजिकको चिनियाँ प्रान्त फुजियानमा एक सरकारी अधिकारी थिए। लगत्तै १९९६ मा उनी जनमुक्ति सेनाको जगेडा एन्टी–एअरक्राफ्ट डिभिजनको प्रमुख राजनीतिक अधिकृत बने। त्यसपछि उनी सो प्रान्तको पार्टी उपसचिव बनेका थिए।

त्यसैले कम्युनिस्ट पार्टीलाई जीवित राख्न ताइवानविरुद्ध कडा रुपमा प्रस्तुत हुनैपर्छ भन्ने कुरा सीले चीनको सर्वशक्तिमान नेता बन्नुभन्दा निकै अगाडि जानिसकेका थिए। पेलोसीले ताइवान भ्रमण गरे त्यसको प्रतिक्रिया कसरी जनाउने भन्ने विमर्श गरिरहेका सीको सामुन्ने सोही पाठ खडा छ। पेलोसी ताइवान गए त्यो १९९७ मा सभामुख न्युज गिनग्रिचको भ्रमणयताको सबैभन्दा उच्चस्तरीय भ्रमण हुनेछ।

सीले आफूलाई चीनसँग ताइवानको एकीकरण गर्ने पवित्र कार्यको अगुवाका रुपमा प्रस्तुत गरेका छन्। र, कुनै अमेरिकी अधिकारीले ताइवान भ्रमण गर्दा त्यसले आफ्नो दाबीको अपमान गरेको बेइजिङ ठान्छ। तर, यतिबेला सी नाजुक आर्थिक र राजनीतिक अवस्थाको सामना गरिरहेका छन्। भलै ताइवानको हकमा उनलाई राष्ट्रवादी समर्थन प्राप्त छ।

सीको ध्यान यही वर्ष हुने पार्टी महाधिवेशनमा केन्द्रित छ। जहाँबाट उनले पार्टी महासचिवमा अभूतपूर्व तेस्रो कार्यकाल सुनिश्चित गर्नेछन्। पार्टीका अधिकारीहरुको व्यापक समर्थन प्राप्त गर्न र निर्णयमा हावी हुन उनी चाहन्छन्। तर, उनको प्रदर्शनलाई लिएर केही शंका उब्जिएका छन्। किनभने कोभिड महामारी र लकडाउनका कारण चीनको आर्थिक वृद्धि रोकिएको छ। रुसको युक्रेन आक्रमणका कारण पुटिनसँग सीको निकटतालाई लिएर पनि प्रश्न उठेका छन्। पेलोसीले ताइवानी नेताहरुलाई भेट्दा सीका लागि थप चुनौती बढ्नेछ।

पेलोसीले भ्रमण कार्यक्रम अगाडि बढाए सीले बेइजिङको आक्रोश व्यक्त गर्न सैन्य शक्ति प्रदर्शनको सहारा लिनसक्छन्। यद्यपि, बजारलाई कमजोर बनाएर चीनको अर्थतन्त्र थप बिग्रिनेगरी अस्थिर गतिरोध निम्त्याउनबाट भने उनी बच्ने विज्ञहरुको भनाइ छ।

‘निश्चय नै यसको निकै कडा प्रतिक्रिया आउनेछ। तर, त्यो अनियन्त्रित हुने छैन,’ दक्षिण चीनको चिनान युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक चेन दिङदिङ भन्छन्।

सीले गतहप्ता राष्ट्रपति बाइडेनसँगको फोन वार्तामा ‘आगोसँग खेलेर’ आत्मदाहको जोखिम नलिन चेतावनी दिएका थिए। उनको भाषा अशुभ सुनिन्छ। तर, सीले गत नोभेम्बरमा पनि बाइडेनसँगको वार्तामा ठिक यही शब्द प्रयोग गरेका थिए। सी र बाइडेन दुवैले सार्वजनिक वक्तव्यमा पेलोसीको नाम उल्लेख गरेनन्।

‘वास्तवमा यो मध्यम तहको चेतावनीको भाषा हो। युद्ध लड्ने खालको जोखिम लिने उच्च तहको चेतावनीको भाषा होइन,’ सेन्टर फर एड्भान्स्ड चाइना रिसर्चका अध्यक्ष डेविड गिटर भन्छन्।

सोमबार राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन एफ कर्बीले भने, ‘अमेरिकी नीतिअनुरुपकै सम्भावित भ्रमणलाई चीनले संकटमा परिवर्तन गर्न वा त्यसलाई ताइवान जलसन्धिवरिपरि आक्रामक सैन्य गतिविधि गर्ने आधार बनाउन आवश्यक छैन।’ राष्ट्रसंघका लागि चिनियाँ राजदूत चाङ जुनले सम्भावित भ्रमणको भर्त्सना गरे।

‘हामी देख्न सक्छौँ, यस्ता भ्रमण अत्यन्त खतरनाक र उत्तेजनाकारी हुन्छन्। यदि अमेरिका भ्रमण गराएरै छाड्छु भन्छ भने चीनले पनि हाम्रो राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न कडा र बलियो तरिका अपनाउँछ।’

चिनियाँ सेनाले ताइवानको किनाराबाट ८० माइल टाढा समुद्रमा सैन्य अभ्यास घोषणा गरेको छ। सोमबार जनमुक्ति सेना स्थापनाको ९५ औँ वर्षगाँठका अवसरमा चिनियाँ सेनाको सञ्चारमाध्यमले सार्वभौमसत्ता रक्षा गर्ने बाचाका साथ तोङफेङ–१७ ब्यालिस्टिक क्षेप्यास्त्रको भिडिओ सार्वजनिक गरेको छ।

‘हामी एक पटक फेरि अमेरिकी पक्षलाई कडा शब्दमा चेतावनी दिन चाहन्छौँ, चीन तयार छ र जनमुक्ति सेना चुपचाप बस्ने छैन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियनले सोमबारको पत्रकार सम्मेलनमा भने।

तर, अहिलेसम्म कम्युनिस्ट पार्टीका मुख्य समाचार पत्रहरुले पेलोसीको सम्भावित भ्रमणबारे सम्पादकीय छापेका छैनन्। तिनले सम्पादकीय छापे त्यो संकट चुलिएको संकेत हुनेछ। न त १९९५ मा जस्तो चिनियाँ विदेश मन्त्रालयले वक्तव्य जारी नै गरेको छ।

‘सीले संकट बढाउन नचाहे पनि जनमुक्ति सेनाको विमान पहिलेभन्दा फरक तरिकाले ताइवाननजिक पुग्यो भने वा त्यो ताइवानको हवाई क्षेत्रमा घुस्यो भने कुनै घटना हुनसक्छ। सीले चाहे पनि, नचाहे पनि,’ अमेरिकाको जर्मन मार्सल फन्डस्थिति एसिया प्रोग्रामका निर्देशक बोनी एस ग्लेजर भन्छन्।

सन् २००१ मा सीले डिभिजनका अधिकृतहरुसँग भनेका थिए, ‘हामीले ताइवान जलसन्धिको संघर्ष कुन गम्भीर दिशातिर गइरहेको छ भन्ने कुरा स्पष्ट बुझ्नै पर्छ। साँच्चै लड्ने तयारी गरेर मात्रै शान्ति सम्भव छ।’

पेलोसीले यो भ्रमण रद्ध गरे वा कुनै संकटबिनै यो पार भए पनि ताइवानको भविष्यसम्बन्धी बढ्दो तनावले आउँदा वर्षहरुमा द्वन्द्वको सम्भावना बढ्दै जाने थुप्रै विज्ञहरुको विश्वास छ।

चीनलाई आधुनिक, एकीकृत महाशक्तिका रुपमा उभ्याउने आफ्नो राष्ट्रिय कायाकल्पको कार्यक्रममा पनि सीले ताइवानसँगको एकीकरणलाई प्रमुख लक्ष्य मानेका छन्। कुनै समयसीमा नतोकी ताइवानलाई शान्तिपूर्वक चीनमा मिसाउने इच्छा रहेको उनले बताएका छन्। तर, उनले बलप्रयोगको सम्भावनालाई नकारेका छैनन्। चीनको सेनाको आधुनिकीकरण त्यो विन्दुमा पुग्दैछ, जुन विन्दुमा ताइवानमाथिको आक्रमण उचित ठहरिन सक्छ। यद्यपि, अझै त्यो कठिन र जोखिमपूर्ण भने छ।

‘चिनियाँ राष्ट्रको महान कायाकल्प ढोल बजाएर प्राप्त हुने सजिलो काम होइन,’ गत साता सीले बेइजिङमा भने।

अमेरिकी सेनाले पेलोसीको ताइवान भ्रमण हालका लागि उचित नभएको जनाएको बाइडेनले गत महिना पत्रकारहरुलाई बताएका थिए। उनको प्रशासनका अधिकारीहरुले पनि पेलोसीलाई ताइवान भ्रमण नगर्न सुझाएको बताइएको छ। गत साताको बाइडेन र सीबीचको फोन वार्तासम्बन्धी विज्ञप्ति हेर्दा ‘ताइवानलाई लिएर चीनसँग लड्न बाइडेन अनिच्छुक देखिएको’ ब्रुकिङ्स इन्स्टिच्युसनका अध्येत रायन हास बताउँछन्। हासले आफ्नो नयाँ अध्ययनमा बेइजिङ र वासिङ्टनले ताइवानप्रति एकअर्काको उदेश्यलाई लिएर एकअर्कामाथि अविश्वास गरेको र तनाव व्यवस्थापन गर्न बनाइएका सञ्चारका च्यानलहरु बेकार बनेको बताएका छन्।

अमेरिकी र ताइवानी अधिकारीहरु तइवानलाई अन्तर्राष्ट्रिय मञ्चबाट बाहिर राख्ने चिनियाँ प्रयासले ताइवानीहरुको निरासा बढाएको बताउँछन्। टापुवरिपरि चीनको बढ्दो सैन्य गतिविधिले सीप्रति आफूहरुको सन्देह बढेको उनीहरुको भनाइ छ।

बेइजिङका नीति निर्माता भने अमेरिकालाई दोषी ठहर्याउँछन्। वासिङ्टनले मुखले मात्रै एक चीन नीति भनेको र व्यवहारमा बेइजिङ र वासिङ्टनबीच १९७९ मा कूटनीतिक सम्बन्ध स्थापनाका बेला भएको सहमतिको सीमा नाघेर अमेरिकाले ताइपेइसँग सैन्य र राजनीतिक सम्बन्ध विस्तार गरेको उनीहरु बताउँछन्।

‘चीनलाई नियन्त्रण गर्न ताइवानलाई प्रयोग गर्ने ट्रम्प प्रशासनको रणनीतिलाई नै बाइडेन प्रशासनले निरन्तरता दिएको छ,’ चीनको सरकारी चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका अध्येता काओ चुनले एक रिपोर्टमा लेखेका छन्, ‘चीन र अमेरिकाबीच ताइवान जलसन्धिमा भीडन्तको सम्भावना बढ्दै छ।’

सीका सामु बदलाका लागि ताइवाननजिक आकास र समुद्रमा सैन्य अभ्यास गर्ने एउटा विकल्प छ। त्यस्तै, उनले जहाज र विमान जलसन्धिको मध्यविन्दु पार गराएर ताइवाननजिक पठाउन सक्छन्।

अरु अमेरिकी अधिकारीले ताइवान भ्रमण गरेपछि चीनले ताइवानको हवाई प्रतिरक्षा पहिचान क्षेत्रमा विमान पठाउने गरेको वासिङ्टनस्थित सैन्य विश्लेषक जेराल्ड ब्राउन बताउँछन्। अमेरिकी सांसदहरुले ताइवान भ्रमण गरेपछि नोभेम्बरमा चिनियाँ सेनाले २७ वटा विमान सो क्षेत्रमा पठाएको थियो।

चरम अवस्थामा, चीनले ताइवाननजिक क्षेप्यास्त्र प्रहार पनि गर्न सक्छ, १९९६ मा जस्तै। तर, त्यतिबेला चिनियाँ सेना निकै कमजोर थियो र सो क्षेत्रमा उसले अमेरिकी सेनामाथि गम्भीर खतरा पैदा गर्न सक्दैनथ्यो। तर, अहिले सीले सोही कदम चाल्ने हो भने त्यसले विश्वमा पैदा गर्ने तरंग निकै ठूलो हुनेछ।

‘अहिलेसम्मको स्थिति हेर्दा चीनले कुनै ठूलो सैन्य कारबाही गर्छजस्तो मलाई लाग्दैन,’ ताइवानस्थित नेसनल सन यातसेन युनिभर्सिटीका प्राध्यापक कुओ युनजेन भन्छन्, ‘चीनले ज्यादा ठूलो प्रतिक्रिया दिए अमेरिका वा जापानले चाल्ने कदमले सी चिनफिङलाई फाइदाभन्दा बढी नोक्सान हुन्छ।’

न्युयोर्क टाइम्सबाट साभार।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्