चुनावको मिति घोषणाको सुरसार, कस्तो हुँदै छ सत्ता गठबन्धनको चुनावी तालमेलको तयारी – Janadesh Daily | ePaper

चुनावको मिति घोषणाको सुरसार, कस्तो हुँदै छ सत्ता गठबन्धनको चुनावी तालमेलको तयारी


जनादेश वाच।
सत्ता गठबन्धनका दलहरूको बैठक आज बस्ने भएको छ । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बसेको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका छन् । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका छन् । त्यसैले, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आजका लागि बैठक डाकेका हुन् ।

यसअघि निर्वाचन आयोगले मङ्सिर ४ मा एकै चरणमा संघ र प्रदेशको चुनाव गराउन सिफारिस गरेको थियो। तर, सरकारले चुनावको मिति घोषणा गर्न भने ढिलाइ गर्दै आएको छ। “मंसिर ४ कै लागि भनेर निर्वाचन मिति प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ,” गठबन्धनका एक नेताले भने, “अन्य दलका नेताहरूले आआफ्ना दलमा छलफल गरेर आउनुहुनेछ ।” ती नेताका अनुसार प्रधानमन्त्री निर्वाचन मिति तोक्ने विषयमा तयार भएर बसे पनि एकपटक गठबन्धन दलको अनुमति लिएरै अघि बढ्ने प्रयासमा रहेको बताए ।


चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुने निश्चित छ। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरेका थिए । त्यसयता गठबन्धनभित्र आगामी निर्वाचन र सिट बाँडफाँटको ‘मोडालिटी’’छलफल नै भएको छैन ।

अहिले कसको कति दाबी ?
कांग्रेस– ८० देखि ९० सिट
माओवादी केन्द्र– ५० बढी
जनता समाजवादी–३०
नेकपा एकीकृत समाजवादी–३०
राष्ट्रिय जनमोर्चा–५

कांग्रेस नेता रामचन्द्र पौडेलले ‘कांग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेकाले केही दिनमै सिट बाँडफाँट’छलफल सुरु गर्ने’ जानकारी दिए । ‘कांग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ,’ उनले थप प्रस्ट पार्दै भने, ‘सबै दल त्यसमा सहमत छन्, केही दिनमै गठबन्धन बैठक बस्छ र सिट बाँडफाँट’ छलफल सुरु गर्छौं ।’

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटको संवैधानिक व्यवस्था छ । ‘चुनाव विषयमा गठबन्धन स्पष्ट छ, प्रतिनिधि सभासम्म नै गठबन्धनसँगै जान्छ,’ सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्रका नेता वर्षमान पुन भन्छन्, ‘आन्तरिक रूपमा के कसरी सिट बाँडफाँट गर्ने ? भन्ने विषयमा अब छलफल सुरु हुन्छ ।’

गठबन्धनमा रहेका दलका शीर्षनेताबीच भएको यसअघिको सहमतिअनुसार गत स्थानीय तह निर्वाचनमा गठबन्धनमा आबद्ध दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँटमा अघि बढ्ने सहमति छ । स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले ८५ देखि ९० सिटमा दाबी गरेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले ५० भन्दा बढी सिटमा अपेक्षा राख्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले आन्तरिक रूपमा ३०÷३० सिटभन्दा बढीमा दाबी राख्ने योजना बनाएका छन् । तर, दाबी गरेअनुसार सिट पाउने अवस्था नभएकाले माओवादी केन्द्रले ४०, जसपाले २३, नेकपा एसले २० सिट पाउने अवस्था रहेको बताइन्छ । त्यस्तै, सत्ता गठबन्धनमा रहेको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले पाँच सिट माग गर्न थालेको छ । तर, उसले बढीमा प्रत्यक्षतर्फ दुई सिट पाउन सक्ने सम्भावना छ । गठबन्धनभित्र एकीकृत समाजवादी र जसपाको सिट बाँडफाँटमा भने समस्या हुने देखिएको छ । सिट बाँडफाँडमा विगतमा भएको कमजोरी नदो¥याउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत रहँदै आएका छन् ।

प्रधानमन्त्रीमा प्रचण्डको दाबी
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि सरकारको नेतृत्व विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच होडबाजी सुरु भएको छ । कांग्रेसले आगामी निर्वाचनबाट एक्लै बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दाबी गरिसकेको छ भने माओवादी केन्द्रको नेतृत्वले पनि निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने विषयमा इच्छा देखाउन थालिसकेको छ ।


गत १० असारमा नेपाल पर्वतारोहण संघले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘तेस्रोपटक प्रधानमन्त्री हुने’ इच्छा व्यक्त गरेका थिए । गत शनिबारसमेत पार्टीको एक कार्यक्रममा उनले ‘आगामी निर्वाचनमा तालमेलबाटै अघि बढ्ने र माओवादी केन्द्र दोस्रो भएमा एकपटक फेरि सरकारको नेतृत्व हातमा आउने तथा आफू तेस्रोपटक प्रधानमन्त्री बन्ने’ बताए । ‘आउने चुनावमा तालमेल हुन्छ, हामी दोस्रो हुनेगरी तालमेल भएमा सत्ता हाम्रै हातमा आउँछ, यो नै मेरो लास्ट इनिङ्स हुनेछ,’ प्रचण्डले भनेका छन्, ‘यसपटक मैले पछिसम्मको सन्ततिले सम्झिनेगरी देशलाई केही चिज दिने सपना लिएको छु ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्