चीनले हान्यो ११ क्षेप्यास्त्र, ५ आफ्नो क्षेत्रमा खसेको जापानको दाबी, अमेरिकाले गर्‍यो परीक्षण स्थगन – Janadesh Daily | ePaper

चीनले हान्यो ११ क्षेप्यास्त्र, ५ आफ्नो क्षेत्रमा खसेको जापानको दाबी, अमेरिकाले गर्‍यो परीक्षण स्थगन


जनादेश अन्तर्राष्ट्रिय वाच।

चीनले बिहीबार ताइवान टापुवरपर झण्डै एक दर्जन क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले सो टापुलाई घेरेर बिहीबारदेखि चार दिने सैन्य अभ्यास सुरु गरेको छ। ताइवानको पूर्वी भागमा पर्ने समुद्रबाट अनेकौँ क्षेप्यास्त्र प्रक्षेपण गरिएको चिनियाँ सेनाको इस्टर्न थिएटर कमान्डले जनाएको छ। सबै क्षेप्यास्त्रले निसानामा प्रहार गरेको सो कमान्डको भनाइ छ। ताइवानले भने जम्मा ११ वटा तोङफेङ ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो वरपर प्रहार गरिएको बताएको छ।

टापुको उत्तर, दक्षिण र पूर्वमा १:५६ देखि ४ बजेसम्ममा ती क्षेप्यास्त्र प्रहार गरिएको ताइवानले जनाएको छ। बिहीबार नै मुख्यभूमि चीनसँग ताइवानको सबैभन्दा नजिक पर्ने पिङतान टापुमा सैन्य हेलिकोप्टर उडिरहेको दृश्य सरकारी टेलिभिजनले प्रशारण गरेका छन्। यसअघि बुधबार चीनले २० वटा लडाकु विमान ताइवान जलसन्धिको मध्यविन्दु पार गरेर आफ्नो क्षेत्रमा पठाएको ताइवानले बताएको थियो। उता चीनले प्रहार गरेको क्षेप्यास्त्र जापानको ‘एक्स्क्लुसिभ इकोनोमिक जोन’ मा खसेको भन्दै जापानी रक्षा मन्त्रालयले चीनको भर्त्सना गरेको छ। चीनले प्रहार गरेको पाँच वटा क्षेप्यास्त्र आफ्नो क्षेत्रमा खसेको जापानको भनाइ छ।

पेलोसीको ताइवान भ्रमण र त्यसको जवाफमा चीनले आयोजना गरेको सैन्य अभ्यासका विषयमा जापानले दिएको वक्तव्यबाट असन्तुष्ट भएपछि कम्बोडियामा चिनियाँ र जापानी विदेशमन्त्रीबीच तय भएको भेट पनि चीनले रद्ध गरिदिएको छ।

अमेरिकाले गर्‍यो परीक्षण स्थगित
मेरिकाले नियमित अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण स्थगित गरेको छ । ताइवान नजिकै चीनले शक्ति प्रदर्शन गरिरहेका बेला बेइजिङसँग थप तनाव बढ्न नदिन बाइडेन प्रशासनले एयर फोर्स मिनेटम्यान आईआईआई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको नियमित परीक्षण स्थगित गरको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले यो परीक्षण कति समयसम्म स्थगन हुन्छ भन्ने बारेमा बताएका छैनन्, तर एक अधिकारीका अनुसार यो अवधि १० दिनसम्म रहन सक्ने रिपोर्टमा जनाइएको छ । वायुसेनाले क्यालिफोर्नियाको भान्डेनबर्ग बेसबाट परीक्षण प्रक्षेपण गर्ने योजना बनाएको थियो । अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम)को विश्वसनीयता परीक्षण गर्न सामान्यतया वर्षमा केही पटक परीक्षण गरिन्छ । “यो एक लामो योजनाबद्ध परीक्षण हो तर ताइवान वरिपरि पीआरसी (जनगणतन्त्र चीन)को कार्यहरूलाई लिएर कुनै पनि गलतफहमी हटाउन यो स्थगित गरिएको छ,” एक रक्षा अधिकारीले वाल स्ट्रिट जर्नललाई भने । मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुससँगको बढ्दो तनावबाट बच्न मार्चमा पेन्टागनले मिनेटम्यान आईआईआई मिसाइलको उडान परीक्षण रद्द गरको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्