कोरोना संक्रमणको डरलाग्दो डर, चौथो लहरको संकेत ! – Janadesh Daily | ePaper

कोरोना संक्रमणको डरलाग्दो डर, चौथो लहरको संकेत !


जनादेश वाच।
नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ ।

नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ ।

यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी सङ्क्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ । दैनिक सङ्क्रमण बढिरहेकाले नेपालमा कतै सङ्क्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको सङ्क्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताए ।

सरकारले आधिकारिकरूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र सङ्क्रमणको ग्राफले नै लहर बताउने गरेको उनको भनाइ रहेको छ । “हामीले पहिले पनि ग्राफ बढे पनि सङ्क्रमणको लहर भनेको थिएनौं । अहिले पनि हामी भन्दैनौँ”, उनले भने, “तर अहिले सङ्क्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।” स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताउछन् ।

“सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको सङ्ख्याले सङ्क्रमणको चौथो लहरको सङ्केत गरेको छ”, उनले भने, “यदि यसैगरी सङ्क्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।” उनले सङ्क्रमण साउन र भदौमा धेरै माथि (पिक)मा पुग्ने र त्यसपछि घट्ने बताए। खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ । ती मानिसहरूले नै सङ्क्रमण सारिरहेका छन् ।

जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस सङ्क्रमणको चौथो लहर सुरु भएको बताउछन् । “सङ्क्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ”, उनले भने, “नेपालमा अहिले बढेको सङ्क्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।”

उनले अहिलेको सङ्क्रमणको तह माथिल्लो तह (पिक लेभल)मा पुगेपछि पुनः घट्ने बताबताउछन् । उनले भारतको खुला सिमाना र विदेशबाट आएका सङ्क्रमितले सङ्क्रमण सार्ने गरेको बताए । उनका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि सङ्क्रमितलाई भने गम्भीर बनाउँदैन । उनले सङ्क्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गरे ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो ।

नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ ।

यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्