आर्थिक मन्दी कस्तो अवस्थालाई भनिन्छ? मंहगी अनियन्त्रित हुँदा नेपाली अर्थतन्त्र मन्दितिर हो ! – Janadesh Daily | ePaper

आर्थिक मन्दी कस्तो अवस्थालाई भनिन्छ? मंहगी अनियन्त्रित हुँदा नेपाली अर्थतन्त्र मन्दितिर हो !


जनादेश वाच।

दक्षिण एसियाका विभिन्न देशमा आर्थिक संकट आइलागेको छ। श्रीलंकापछि बंगलादेशमा पनि आर्थिक संकटका संकेत देखिएका छन्। खासमा आर्थिक मन्दी के हो? यस्तो अवस्थामा के संकेत देखिन्छन् ?

मन्दी
मन्दी भन्नाले कुनै पनि चिज लामो समयसम्म सुस्त हुनु हाे । देशको अर्थव्यवस्था धेरै समयसम्म सुस्त भयाे भने यसैलाई आर्थिक मन्दी भनिन्छ । देशकाे अर्थव्यवस्थामा लगातार दुईतिहाइले जीडीपी ग्रोथ घटिरहेकाे अवस्थालाई प्राविधिक रूपमा मन्दीको नाम दिइन्छ । अझै सजिलो शब्दमा भन्दा अर्थव्यवस्था बढ्नुको साटो घट्छ र याे घटेकाे घट्यै जान्छ भने देश आर्थिक मन्दीमा पुग्याे भनेर बुझ्दा हुन्छ ।

अझै सजिलाे शब्दमा बुझ्ने काेसिस गराैँ है त ! नागरिकसँग सामान किन्ने पैसा हुँदैन । व्यवसायीसँग ग्राहकलाई बेच्ने सामान हुँदैन । बैंकसँग सेवाग्राहीलाई दिन सक्ने ऋणक्षमता घट्छ, कर्जा दिन सक्दैन । अब तपाईंलाई व्यवसाय गर्न ऋण चाहियो । ऋण लिन बैंक तथा वित्तीय संस्थामा जानुभयाे । तर, बैंकले कर्जा दिन सक्दैन । कथंकदाचित् तपाईंले ऋण पाइहाल्नुभयाे भने त्यसकाे ब्याजदर चर्काे हुन्छ । अनि तपाईंले व्यवसाय सहजरूपमा सञ्चालन गर्न सक्नुहुन्न । व्यवसाय संचालनमा कमी आउँदा सर्वसाधरणले वस्तु तथा सेवा सहजै पाउन सक्दैनन् । यस्ताे बेला महँगी र बेरोजगारी तीव्र बढ्छ । मानिसहरूको आम्दानी कम हुन्छ । शेयरबजारमा लगातार गिरावट आउँछ । उत्पादनकर्ता निरुत्साहित हुन्छन् । समग्रमा पैसाको चक्रीय प्रणाली घट्छ । पैसाको कारोबार घट्नु आर्थिक मन्दीको चरण हो । देश यस्ताे अवस्थामा पुग्नु नै आर्थिक मन्दी हाे ।

सन् २००८ मा संसारभर आर्थिक मन्दी भयाे । त्यो वर्ष आर्थिक संकटले अमेरिका, युरोपजस्ता ठूला अर्थतन्त्र भएका देशहरूसमेत गाँजिए । अमेरिकामा मात्रै ४ सयभन्दा बढी बैंक बन्द हुन पुगेका थिए । अमेरिकी जनताले महँगीको मार खेप्नुपरेको थियो ।

नेपाल आर्थिक मन्दीमा फस्न लागेको हो ?
आर्थिक मन्दीका सबै कारकलाई नियाल्दा नेपाल आर्थिक मन्दीमै पुगिसकेको भन्न त मिल्दैन तर मन्दीका कारकहरू हुँदै नभएकाेचाहिँ हाेइन । अर्थात् मन्दीका कारकहरू अहिलेजस्तै बलियाे हुँदै गएमा नेपाल छिट्टै आर्थिक मन्दीको चपेटामा पर्ने त्रिभुुवन विश्वविद्यालका प्राध्यापक डा. रमेश चन्द्र पौडेल बताउँछन् ।

बैकिङ प्रणालीमा दुुई वर्षयता तरलताको चरम समस्या देखिँदै आएको छ । उत्पादनकर्तादेखि उपभोक्ताले समेत सहज रूपमा ऋण लिन पाइरहेका छैनन् । उता दुई ठूला निर्यातकर्ता रुस र युक्रेन युद्धमा होमिँदा खाद्यान्न, तेल र पेट्रोलको संकट विश्वव्यापी बनिरहेकाे छ । यसले नेपालको विदेशी मुद्रा सञ्चिति दिनहुँ घटाइरहको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दा वस्तु तथा सेवा आयात गर्न सकिँदैन । आयातमै भर पर्ने हाम्रोजस्तो देशमा आपूर्ति घट्छ । कोभिडका कारण नेपाल मात्रै नभएर संसारभर आर्थिक मन्दीको अवस्था देखिएको छ । रुस-युक्रेन युद्धले आर्थिक मन्दीलाई थप टेवा दिँदा नेपालजस्ता आयातमुखी अर्थतन्त्र भएका देशमा आर्थिक मन्दी चरमरूपमा देखिन सक्ने पाैडेलकाे भनाइ छ ।

उनी तीनवटा कुराले आर्थिक मन्दीको चित्रण गर्ने बताउँछन् । पहिलो वस्तुुको मूल्य सोचेभन्दा बढी हुनु, दोस्रो उत्पादनकर्ता निरुत्साहित हुनु र तेस्रो सरकारले सहजरूपमा आर्थिक गतिविधि गर्न नसक्नु । यी तीन समस्या नै आर्थिक मन्दीका कारक हुन् ।

आर्थिक मन्दी र महँगीबीचकाे साइनो
संसारभरका देश यतिबेला महँगीसँग जुधिरहेका छन् । यसमा विश्वकै ठूलो अर्थव्यवस्था भएका देश पनि छन् । पहिले कोरोना महामारी, रुस-युक्रेन युद्ध र अहिले पनि लकडाउनको छायामा जिउन बाध्य चीनका केही ठूला शहरका कारण सामानहरूको सप्लाई चेनमा रोकावट आएको छ । यसबाट वैश्विकस्तरमा मन्दीको चीत्कार सुनिन थालेको छ । आर्थिक मन्दी र महँगी एकअर्काका परिपूरक हुन् । जब उपभोक्ता वा सकारले आर्थिक गतिविधि सहजसँग गर्न सक्दैनन्, त्यो मन्दीको अवस्था हो । अनि उपभोक्तामा वस्तु तथा सेवाको पहुँच सहज नहुनु महँगी हाे । महँगीको भविष्य नै आर्थिक मन्दीलाई मान्दा अत्युक्ति हुँदैन । देशमा आर्थिक संकट निम्तिएपछि बजारमा पैसाको कारोबार कम हुन्छ । यस्ताेमा वस्तु तथा सेवाको उपलब्धता कम गराउने काम आर्थिक मन्दीले गर्छ भने अपर्याप्त वस्तु तथा सेवाले मूल्य आकाशिने अवस्था निम्त्याउँछ । यसले महँगी बढाउँछ ।

आर्थिक मन्दी र महँगी कहिलेकाहीँ देशको आन्तरिक कारण वा अन्तर्राष्ट्रिय कारण दुवैले सिर्जना गर्न सक्छन् । जस्तो अहिले देखिँदै गरेको आर्थिक मन्दीको अवस्था विश्वव्यापी हो । रुस र युुक्रेन युद्धमा होमिएपछि पेट्रोल, गहुुँ र खाने तेल विश्वबजारमा नै अभाव भयो । दुई देशले सबैभन्दा बढी निर्यात गर्दा नेपालमा पनि त्यसको अभाव देखियो । अभाव जहाँ हुन्छ, त्यहाँ मूल्यवृद्धि हुने अर्थशास्त्रको नियम नै छ । यसर्थ पेट्रोल खाने तेलको मूल्य अत्यधिक बढ्यो ।

नेपालले आयात गर्नकै लागि महँगो मूल्यमा यी सामान किन्दा डलर सञ्चिति घट्न पुग्यो । डलर सञ्चितिले समग्र अर्थव्यवस्थालाई नै प्रत्यक्ष असर पार्ने हुँदा आर्थिक गतिविधि सुस्त हुन पुग्छन् । डलर सञ्चिति घटे पनि आर्थिक गतिविधि नै सुस्त हुने अवस्थामा भने अहिले नेपाल पुगेको छैन ।

यसको समाधान के ?
सन २००८ को आर्थिक मन्दीलाई न्यूनीकरण गर्न संयुक्त राज्य अमेरिकाले विभिन्न औजारहरू चलायो । ब्याजदर वृद्धिदेखि अनुत्पादक क्षेत्रमा लगानीलाई कडा गर्नेसम्मका कामहरू गर्‍यो । जसअन्तर्गत घरजग्गा कारोबारलाई थप कडाइ गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई उत्पादनमूलक क्षेत्रमा मात्रै कर्जा प्रवाह गर्नुुपर्ने व्यवस्था गर्‍यो भने केही समयका लागि आयातलाई पनि कडा गर्‍यो । यसले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या केही मत्थर भयो भने अरु विभिन्न सामाधानात्मक औजारहरू चलायो, जसले आर्थिक मन्दी लामो समयसम्म टिकिरहन सकेन । आज पनि विश्वको पहिलो बलियो अर्थतन्त्रको रूपमा अमेरिका चिनिँदै आएको छ ।

बैकिङ अध्येता तथा अर्थविद् बीएन घर्तीमगर भन्छन्, ‘अमेरिकाको संकटपूर्ण अवस्था नेपालमा नआऊला भन्न सकिन्न । किनकि अमेरिकामा देखिएको चरम वित्तीय संकटमा पहिलो कारण तरलता अभाव नै थियो ।’

बैंक तथा वित्तीय परिसंघको प्रतिवेदनले नेपाल असन्तुलित अर्थतन्त्रका कारण पर्ने तरलता चाप, कर्जा बढेका कारण पर्ने तरलता चाप, निक्षेप मिश्रण र कर्जा मिश्रणले ल्याएको तरलता असन्तुलन, रेमिट्यान्समा आएको कमी, नगन्य अवस्थामा पुगेको पुँजीगत खर्च र आयातमा बढ्दो परनिर्भरताले भोलिको दिनमा आर्थिक मन्दी निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्