शितल निवासको सन्देश अस्वीकृतः नागरिकता विधेयक जस्ताको तस्तै पारित गरिँदै, सत्तारुढ परामर्शमा – Janadesh Daily | ePaper

शितल निवासको सन्देश अस्वीकृतः नागरिकता विधेयक जस्ताको तस्तै पारित गरिँदै, सत्तारुढ परामर्शमा


जनादेश वाच।
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज (बिहीवार) नै पारित गर्ने तयारी भएको छ । बिहीवार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संसदमा पेश गर्नेबारे प्रतिनिधिसभा नियमावलीको नियम १३६ मा व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभालाई विधेयक फिर्ता भएको जानकारी गराएपछि सदनमै पुनर्विचार गर्ने कि संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने भन्ने २ वटा विकल्प प्रतिनिधि सभासँग छ । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक र सन्देशका बारेमा संसद बैठकमै पुनर्विचार गर्ने कि समितिमा पठाउने भन्नेबारे सम्बन्धित मन्त्रालयले संसदमा प्रस्ताव गर्नुपर्छ । नागरिकता विधेयक गृह मन्त्रालयसँग सम्बन्धित भएकाले गृहमन्त्री बालकृष्ण खाँणले यस्तो प्रस्ताव गर्नेछन् ।

सरकारले संसदीय समितिमा नपठाई संसद बैठकबाटै विधेयक पारित गर्ने तयारी गरेको छ । गृहमन्त्री खाँणले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्ने तयारी सरकारले गरेको छ । गृहमन्त्रीले प्रस्ताव गरेपछि सांसदहरूले आफ्नो धारणा व्यक्त गर्नेछन् । सांसदहरूले उठाएको प्रश्नमा गृहमन्त्रीले जवाफ दिने र सभामुखले विधेयक निर्णयार्थ प्रस्तुत गर्ने विधि संसदको छ । सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयकमाथि बहुमत र अल्पमतका आधारमा निर्णय हुन्छ । प्रतिनिधि सभाले पास गरेपछि विधेयक राष्ट्रिय सभामा पेश हुन्छ ।

सत्तारुढ दल परामर्शमा
नेपाली कांग्रेससहितका सत्तारुढ दलले आज नागरिकता विधेयकका विषयमा छलफल गर्ने भएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा कानुनका विज्ञहरूलाई डाकेर नागरिकता विधेयकमा राष्ट्रपतिले राखेको धारणा तथा एमालेले उठाएका सवालका विषयमा छलफल गर्न लागिको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि राष्ट्रियतासँग जोडेर कांग्रेसिमाथि टिकाटिप्पणी भए पनि कांग्रेस मौन थियो ।

अब भने कांग्रेसले अन्य राजनीतिक दल तथा विज्ञहरुसँग छलफल गरी आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । विज्ञहरुसँगको छलफलपछि कांग्रेसले चार महले बनाएर नागरिकता ऐनमा अहिलेको व्यवस्थासँगै विगतका अभ्यास र कानुनी व्यवस्था सार्वजनिक गर्ने तयारी गरेको कांग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले अहिले एमालेले गैरजिम्मेवार राजनीति गर्दै राष्ट्रियताका नारा चर्काएको र चुनावमा जनता ढाँट्न सकिन्छ भनेर लागेको निष्कर्ष निकालेको छ । यस्तै राष्ट्रपतिले पनि वर्तमान संविधानको संक्षकको भूमिका भूलेर पञ्चायतकालीन संविधानका पक्षमा ओकालत गरेको भन्दै विभिन्न दल र कानुनविदहरुसँग छलफल थालेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्