संघीयता जोगाउन माओवादीको जित आवश्यक : उपाध्यक्ष कृष्णबहादुर महरा – Janadesh Daily | ePaper

संघीयता जोगाउन माओवादीको जित आवश्यक : उपाध्यक्ष कृष्णबहादुर महरा


रोल्पा  ।  माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संघीयता जोगाउन आफ्नो पार्टीको जित आवश्यक भएको बताएका छन् । रोल्पामा सोमबार आयोजित कार्यकर्ता भेलामा महराले आफ्ना एजेन्डा र मुलुकको राजनीतिक नेतृत्व संरक्षणका लागि आउँदो निर्वाचनमा माओवादीको जित आवश्यक भएको बताएका हुन् ।

तस्बिर सौजन्य : मानसिंह विक

‘संघीयताको रक्षा गर्नु पहिलो काम हो । अहिले संघीयताको विपक्षमा केही दलहरु लागिपरेका छन् । हामीले संघीयता जोगाउन जित हासिल गर्नु खाँचो छ,’ पूर्वी रोल्पाको सुलिचौरमा आयोजित निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा महराले भने ।

पार्टीका प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले मंसिर ४ मा हुने संघीय र प्रदेश तहको निर्वाचन मिति तय भएपछि पहिलोपटक गृह जिल्लाको भ्रमण गरेका हुन् । सत्ता गठबन्धन दलहरुसँग निर्वाचन साझेदारी गर्ने ठोस निर्णय हुनु अघि महरा रोल्पाको निर्वाचन तयारीबारे जानकारी लिन एवं कार्यकर्ता प्रशिक्षणका क्रममा यहाँ आएका हुन् ।

उनले शान्ति प्रक्रियापछि माओवादीलाई फुटाउन र सत्तामा पुगेपछि घेराबन्दी पार्न देशी–विदेशी शक्ति केन्द्र लागिपरेको आरोप समेत लगाए । ती शक्ति केन्द्रलाई परास्त गर्दै अघि बढ्न एकीकृत भएर लाग्नुपर्ने अवस्था आएको उनले बताए । सुलिचौरमा सोमबार प्रदेश ‘क’ अन्तर्गत निर्वाचन क्षेत्र आबद्ध कार्यकर्ताको भेला आयोजना गरिएको थियो । महराले कार्यकर्तासँग विचार मिल्ने र माओवाद मान्ने शक्ति एकजुट हुन समेत आह्वान गरे । माओवादी केन्द्रले भदौ २४ गतेभित्रमा उम्मेदवार छनौट गर्ने जिल्ला अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए ।

महराले सत्तामा पुगेपछि माओवादीविरुद्ध प्रतिक्रान्ति शक्ति मौलाएको आरोप लगाए । माओवादीको एजेन्डा र प्रतिष्ठा धुमिल भएको स्वीकार गर्दै उनले त्यसबाट पछि हटेमा कम्युनिस्टकै अवस्थामाथि खतरा आउने संकेतसमेत गरे । ‘हाम्रा एजेन्डालाई जोगाउन र कार्यान्वयन गर्न प्रतिक्रान्तिका विरुद्ध लड्नुपर्ने अवस्था आउन सक्छ । तयार रहनु होला,’ कार्यकर्तालाई उनको निर्देशन थियो । महराको नेतृत्वमा निर्वाचनका उम्मेदवार चयन गर्ने गरी माओवादी केन्द्रका अन्य नेतासमेत रोल्पा आएका हुन् ।

आउँदो मंसिर ४ मा तय गरिएको दुवै तहको निर्वाचनमा रोल्पाका सबै पदमा उम्मेदवारी दिने र विजयसमेत गराउन महराले कार्यकर्तासँग आह्वान गरे । उनले गठबन्धनको निर्णय मान्न पनि कार्यकर्तालाई निर्देशन दिए । महराले टुटफुटका अतिरिक्त अघिल्लो महाधिवेशनले पारित गरेको समाजवादी क्रान्तिलाई व्यवहारमा लागू गराउन सबै कार्यकर्ता लाग्न र नेतृत्वले त्यसबारे नयाँ योजना ल्याउने आश्वासन दिए ।

उक्त क्षेत्रका सांसद एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पाको विकासका लागि पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे । पार्टीको स्थायी समितिका सदस्य समेत रहेका केसीले क्रान्तिबाट सत्तामा पुगेपछि कार्यकर्ता र जनताको सवालबारे माओवादीले चाहेजति समस्याको सम्बोधन गर्न नसकेको स्वीकार गरे । उनले नेतृत्वलाई पुन: उक्त क्षेत्रबाट आफूलाई उम्मेदवार बनाउन र मुख्यमन्त्री बन्नका लागि सघाउन घुमाउरो तरिकाले आग्रहसमेत गरे ।

कार्यकर्ता प्रशिक्षणमा महराका साथ मुख्यमन्त्री केसी, स्थायी समिति सदस्य एवं सांसद जयपुरी घर्तीमगर, स्थायी समिति सदस्य जोखबहादुर महरा, पोलिटव्युरो सदस्य दीपेन्द्रकुमार पुन, केन्द्रीय सदस्यहरु सीता आचार्य, वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र घर्तीमगर, लुम्बिनी प्रदेश कमिटी सदस्य वीरबहादुर खत्री र जिल्ला अध्यक्ष गुणेन्द्र घर्तीमगरलगायतका नेता सहभागी थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्